नेता रवीन्द्र मिश्रले दलीय राजनीतिबाट तत्कालका लागि विदा लिने निर्णय गरेका छन्। लगातार तेस्रो पटक निर्वाचनमा पराजय भोगेपछि उनले सामाजिक सञ्जालमार्फत एक स्पष्टीकरण सार्वजनिक गर्दै आफ्नो निर्णयबारे धारणा व्यक्त गरेका हुन्।
मिश्रले आफ्नो निर्णयका कारण केही साथी, शुभेच्छुक तथा सहकर्मीहरू दुःखी भएको जानकारी पाएको उल्लेख गर्दै त्यसबारे स्पष्ट पार्न स्पष्टीकरण दिएको बताएका छन्।
उनका अनुसार अहिलेको भूराजनीतिक तथा आन्तरिक परिस्थिति झन् जटिल बन्दै गएकाले सुशासनको मुद्दा मात्रले देशका दीर्घकालीन चुनौतीहरू सम्बोधन गर्न पर्याप्त नहुने उनको बुझाइ रहेको छ। उनले लोकतान्त्रिक संरचनाभित्र राजसंस्थालाई स्थान दिनुपर्ने विचार आफूले राख्दै आएको पनि उल्लेख गरेका छन्।
मिश्रले राजसंस्था पुनर्स्थापनाको मुद्दा बलियो बनाउन सके मात्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि सुदृढ बन्ने धारणा व्यक्त गरेका छन्। उक्त मुद्दा नै राप्रपाको विशिष्ट राजनीतिक एजेण्डा रहेको उल्लेख गर्दै त्यसलाई बलियो बनाउन पार्टी नेतृत्व मात्र पर्याप्त नभएको अनुभव बारम्बार भएको उनले बताएका छन्।
उनले यसपटकको निर्वाचनमा आफू विजयी भएको भए संसदभित्रबाट राजसंस्था पुनर्स्थापनाको पक्षमा आवाज उठाउने योजना रहेको बताएका छन्। तर निर्वाचन परिणाम आफू अनुकूल नआएपछि अहिलेको परिस्थितिमा दलीय अनुशासनको सीमाभन्दा बाहिर बसेर उक्त मुद्दामा काम गर्न सक्ने सम्भावना बढी देखेको उनको भनाइ छ।
लगातार तीनपटक चुनाव हारिसकेपछि आफूले आत्ममूल्याङ्कनका लागि समय लिन आवश्यक ठानेको पनि उनले बताएका छन्।
मिश्रले आफू एजेण्डाको हिसाबले भने टाढा नभएको स्पष्ट पार्दै राजसंस्था सम्बन्धी मुद्दा बलियो भएमा पार्टीका धेरै नेताको राजनीतिक भविष्य सुरक्षित हुने धारणा व्यक्त गरेका छन्। एजेण्डा कमजोर हुँदा भने केही सीमित नेताबाहेक अरूको भविष्य अनिश्चित हुने उनको भनाइ छ।
आफ्नो सम्पूर्ण प्रयास अब उक्त एजेण्डालाई सुदृढ बनाउने दिशामा केन्द्रित हुने उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई पार्टीभित्रबाट प्रयास जारी राख्न आग्रह गरेका छन्। साथै आफू भने बाहिरबाट उक्त मुद्दालाई अघि बढाउने बताएका छन्।
मिश्रले सबैले इमानदारिता र दृढताका साथ साझा लक्ष्यतर्फ अघि बढेमा आफूहरूले देखेको राजनीतिक सपना पूरा हुने विश्वास समेत व्यक्त गरेका छन्
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस