नेपाली सेयर बजारलाई प्रविधिमैत्री बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ‘आफ्टर मार्केट अर्डर’ प्रणालीका लागि कानुनी बाटो प्रशस्त गरेको छ। सेबोनको पछिल्लो बैठकले नेप्सेले पठाएको ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली’ संशोधनको प्रस्तावलाई स्वीकृत गरेसँगै अब लगानीकर्ताहरूले २४ सै घण्टा सेयर खरिद-बिक्रीको अर्डर राख्न पाउने भएका छन्।
यो निर्णयले सेयर बजारमा नयाँ उत्साह सञ्चार गरेको छ। बोर्डले कानुनी गाँठो फुकाइसकेकाले अबका केही दिनमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले यसलाई औपचारिक रूपमा कार्यान्वयनमा ल्याउने तयारी गरिरहेको छ।
नेप्सेको पर्खाइ र कानुनी प्रक्रिया
बोर्डले विनियमावली स्वीकृत गरे पनि यो पूर्ण रूपमा कार्यान्वयनमा आउन अन्तिम प्रक्रिया बाँकी नै छ । बोर्डबाट स्वीकृत भई आएको उक्त विनियमावलीलाई अब नेप्से सञ्चालक समितिले औपचारिक रूपमा पास (पारित) गर्नुपर्ने हुन्छ । नेप्सेका प्रवत्ता मुराहरी पराजुलीले बोर्डले निर्णय गरेको खबर बाहिरिए पनि आधिकारिक पत्र कार्यालयमा प्राप्त नभएको बताएका छन् । पत्र प्राप्त भएपछी आफ्टर मार्केट अर्डर प्रणाली कार्यान्वयन गर्ने उनले बताए ।
यसरी नियामक निकाय र कार्यान्वयन गर्ने निकायबीचको सञ्चारमा देखिएको यो ग्याप ले गर्दा भने लगानीकर्ताले यो सुविधा प्रयोग गर्न अझै केही दिन कुर्नुपर्ने देखिएको छ । नेप्सेले पत्र प्राप्त गरी त्यसलाई पारित गरे लगत्तै मात्र लगानीकर्ताले आफ्नो टिएमएस मार्फत ‘आफ्टर मार्केट अर्डर’ को सुविधा प्रयोग गर्न पाउनेछन्।
के हो ‘आफ्टर मार्केट अर्डर’?
साधारणतया सेयर बजार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म मात्र खुल्ने भए तापनि ‘आफ्टर मार्केट अर्डर’यस्तो सुविधा हो जसले लगानीकर्तालाई २४ सै घण्टा अर्डर राख्ने स्वतन्त्रता दिन्छ । यस व्यवस्था अन्तर्गत लगानीकर्ताले रातको समयमा होस वा बिहानै, आफ्नो फुर्सदको समयमा सेयर खरिद वा बिक्रीको आदेश प्रणालीमा प्रविष्ट गर्न सक्नेछन्। यसरी राखिएका अर्डरहरू भोलिपल्ट बजार खुल्ने बित्तिकै प्रणालीमा प्राथमिकताका आधारमा सूचीकृत हुनेछन् विशेष गरी विदेशमा रहेका नेपालीहरूलाई समयको भिन्नताका कारण नेपालको समयमा कारोबार गर्न कठिन भइरहेको अवस्थामा यो प्रणालीले उनीहरूलाई सिधै बजारसँग जोड्नेछ ।
यो प्रणाली लागू भएपछि दिउँसोको कार्यालय समयमा व्यस्त रहने कर्मचारी, चिकित्सक, इन्जिनियर र अन्य पेसाकर्र्मीहरूले ठूलो राहत पाउनेछन् अब उनीहरूले कार्यालयको काममा बाधा नपुर्याई बिहान वा बेलुकाको फुर्सदमा आफ्नो व्यापारिक योजना अनुसार अर्डर सेट गर्न सक्नेछन्। यसले बजारमा लगानीकर्ताको सहभागिता बढाउने मात्र नभई सेयरको माग र आपूर्तिमा सन्तुलन कायम गर्न र समग्र कारोबार रकममा वृद्धि ल्याउन समेत मद्दत पुर्याउनेछ । अबको केही दिनमा नेप्सेले बोर्डको पत्र प्राप्त गरी आफ्नो सञ्चालक समितिबाट पारित गरेपछि यो सेवा औपचारिक रूपमा सबैका लागि खुला हुनेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस