सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाहले संसदमा व्यक्त गरेको भनाइको बचाउ गरेका छन्। प्रधानमन्त्रीको अभिव्यक्तिलाई तोडमोड गरी फरक अर्थ लगाइएको उनको दाबी छ। मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा यस विषयमा उठाइएको प्रश्नको जवाफ दिँदै सञ्चारमन्त्री पोखरेलले परराष्ट्र मन्त्रालयले यसबारे आवश्यक स्पष्टिकरण दिइसकेको बताए। उनले नेपाल र सम्बन्धित देशबीच सीमा तथा भूमिसम्बन्धी विषय समाधान गर्न विभिन्न द्विपक्षीय संयन्त्रहरू क्रियाशील रहेको स्मरण गराउँदै यस्ता विवाद समाधानका लागि स्थापित प्रक्रियामार्फत नै अघि बढ्ने बताए।
पोखरेलले भने, ‘त्यो संयन्त्र पहिलेदेखि नै बनेको हो, अहिलेको सरकारले बनाएको होइन । सीमा विवाद कसरी सल्टाउने भन्ने कुरा प्रधानमन्त्री ज्यूले पनि अस्ति भनिसक्नुभएको छ । नेपालले पनि कतिपय ठाउँमा नेपालको डिप्लोम्याटिक नोट इन्डियालाई पठाएको छ, इन्डियाले पनि पठाएको छ । दुई देशहरू बसेर टेबुल टक गरेर जति पनि सीमा विवादहरू छन्, मिलाउने भन्ने कुरा प्रधानमन्त्रीज्यूले नै भनिसक्नुभएको छ ।’
पत्रकारले नेपालले भारतको सीमा मिचेको भन्ने दाबीको आधार र प्रमाणबारे प्रश्न उठाएपछि प्रवक्ता पोखरेलले प्रधानमन्त्रीको अभिव्यक्तिलाई फरक ढंगले व्याख्या गर्ने प्रयास गरे।
उनले भने, ‘हामीले सीमा विवादसम्बन्धी काम अगाडि बढाउने क्रममा अर्को पक्षबाट नेपालले पनि सीमा मिचेको छ भन्ने कुरा आउँदाखेरि प्रधानमन्त्रीले आफू अचम्मित परेको भनेर भन्नुभएको हो । यसमा मैले भने जस्तै परराष्ट्र मन्त्रालयले पनि स्पष्टीकरण दिइसकेको छ । कति ठाउँमा भारतले उपभोग गरिरहेको सीमा नेपालमा पर्न सक्ने र नेपालले उपभोग गरेको पनि भारतमा पर्न सक्ने भन्ने कुरा त्यो संयन्त्रहरूबाट आएको हुँदा दुई देश बसेर त्यसको विवाद चाहिँ मिलाउनुपर्छ भन्ने कुरा प्रधानमन्त्री ज्यूको हो । प्रधानमन्त्रीज्यूले त्यस्तो भन्नुभएको छैन । यस्तो कुरा आयो, म अचम्ममा परेँ भन्नुभएकोमा यसलाई विवाद… एकचोटि फेरि सुन्नुहोला ।’
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस