चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिना (साउन–जेठ) मा मुलुकको कुल व्यापार घाटा सवा १६ खर्ब रुपैयाँ नाघेको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार समीक्षा अवधिमा देशको व्यापार घाटा १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको हो ।
जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.६७ प्रतिशतले बढी हो । गत आवको जेठ मसान्तसम्ममा यस्तो व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ करोड रुपैयाँ रहेको थियो । समग्र व्यापार घाटा बढे पनि समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि भएको भन्सार विभागको रेकर्डले देखाउँछ ।तथ्याङ्कअनुसार चालू आवको ११ महिनामा १८ खर्ब ९४ अर्ब ९ करोड रुपैयाँ बराबरको विदेशी वस्तु आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १५.१६ प्रतिशतले बढी हो । जतिबेला १६ खर्ब ४४ अर्ब ७९ करोड रुपैयाँको आयात भएको थियो ।
अर्कातर्फ, यस अवधिमा नेपालको निर्यात पनि १२.२८ प्रतिशतको सुधार आउँदै २ खर्ब ७७ अर्ब ९६ करोड रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा भने नेपालले २ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गर्न सकेको थियो। आयात र निर्यात दुवैतर्फ वृद्धि भए तापनि आयातको अङ्क निकै ठूलो भएकाले देशको आयात–निर्यात अनुपात थप असन्तुलित बनेको छ । अघिल्लो वर्ष ६.६४ रहेको आयात–निर्यात अनुपात चालू वर्षमा बढेर ६.८१ पुगेको छ । यसैगरी, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशतबाट घटेर १२.०२ प्रतिशतमा खुम्चिएको छ भने आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस