चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो तीन महिनामा नेपालले ५ खर्बभन्दा बढीको वैदेशिक व्यापार गरेको छ।
भन्सार विभागका अनुसार साउनदेखि असोजसम्म देशको कुल वैदेशिक व्यापार ५ खर्ब ४० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ। जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिभन्दा २६.०४ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिमा कुल व्यापार ४ खर्ब २९ अर्ब १३ करोड १० लाख रुपैयाँ थियो।
यस अवधिमा नेपालले ४ खर्ब ६८ अर्ब ८ करोड ३३ लाख रुपैयाँ बराबरका वस्तु आयात गरेको छ। यो अघिल्लो वर्षको सोही अवधिभन्दा १९.७९ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यस अवधिमा ३ खर्ब ९० अर्ब ७५ करोड २३ लाख रुपैयाँ बराबरको वस्तु आयात भएको थियो।
त्यस्तै, निर्यातमा उल्लेखनीय वृद्धि भएको छ। चालु आवको पहिलो तीन महिनामा नेपालले ७२ अर्ब ७८ करोड २८ लाख रुपैयाँ बराबरका वस्तु तथा सेवा निर्यात गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिभन्दा ८९.६४ प्रतिशतले बढी हो। गत वर्ष यस अवधिमा निर्यात ३८ अर्ब ३७ करोड ८७ लाख रुपैयाँमा सीमित थियो।
समग्रमा, चालु आवको तीन महिनामा नेपालले ३ खर्ब ९५ अर्ब ३० करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ। यो अघिल्लो आवको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष सो अवधिमा व्यापार घाटा ३ खर्ब ५२ अर्ब रुपैयाँ रहेको भन्सार विभागको तथ्यांकले देखाउँछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस