Like us!
Follow us!
Connect us!
Watch us!

सस्तोमा सेयर बेचेर महंगोमा किन्ने कि होल्ड गर्ने?

लीलानाथ घिमिरे

शुक्रबार, १८ असार २०७८, ०० : ०० मा प्रकाशित

सस्तोमा सेयर बेचेर महंगोमा किन्ने कि होल्ड गर्ने?

सेयर बजारमा पछिल्लो समय केही नकारात्मक समाचारहरु आए । जसले गर्दा निरंतर बढिरहेको बजारमा नयाँ लगानीकर्तालाई त्रसित बनाइ दियो । धितोपत्र बोर्डले ५१ कम्पनीलाई लगानी गर्न ‘जोखिमपूर्ण’ भन्दै एउटा सूची प्रकाशन गर्यो । बोर्डले प्रकाशन गरेको सूचिमा परेका कम्पनीहरुको प्रतिसेयर आम्दानी, पिइ रेसियो, पिवि रेसियोलगायतका तथ्यांकहरु समावेश थियो ।

एउटा लगानीकर्ताले  सेयर किन्दा गणना गर्नु पर्ने आधारभूत कुराहरु तिनै हुन् । ती कुराहरु गोप्य हुँदैनन् । त्यसैले  हरेक कम्पनीको आधारभूत अबस्था सबैले थाहा पाएकै थिए । लगानीकर्ताहरुले थाहा नपाई ती कम्पनीमा लगानी गरेका थिएनन् । तर, एउटा लयमा माग र आपूर्तीको अबस्था हेरेर मूल्य निर्धारण हुँदै आएको सेयर बजारमा लगानी गर्दै आएका लगानीकर्ताहरुलाई झस्काइ दियो । त्यही झस्काइको परिणाम बजारले अधो गति लियो । 

बजारमा सेलिंग प्रेसर बढाउने लगानीकर्ताले बोर्डले प्रकाशन गरेको सूचीमात्रै हेरे । उनीहरुले ती कम्पनीको अबस्था कस्तो छ भनेर अध्ययनै गरेनन् । फलस्वरुप उनीहरु जति मूल्यमा भए पनि सेयर बेचेर निस्कन थाले । अरु त अरु सेयर बजारमा निरंतर लगानी गरिरहेका एक गिनेचुनेका लगानीकर्ताले यस पंक्तिकारसँग भने, ‘सेयर  बजारको नियामक निकायले नै जोखिमपूर्ण भनेपछि नजर अन्दाज गरेर सेयर होल्ड गर्न सकिएन । जतिमा बिक्छ, त्यतिमा बेचेर निस्किएँ ।’

बजारमा खेलाडीहरु यस्तै यस्तै सूचना प्रवाह गरिरहन्छन् । कतिपय अबस्थामा आफैं, सूचना क्रिएट गर्छन् । आफैंले क्रिएट गर्न नसके बजारलाई प्रभावित गर्न सक्ने निकायहरुलाई प्रयोग गर्छन् । धितोपत्र बोर्डलाई पनि यस्तै सूचना क्रिएटरको फन्दामा परेर सूची प्रकाशन गरेको आरोप लाग्यो । कुरा के हो भगवान् जानुन् । तर ‘बाख्रा हराउनु र छिमेकमै स्याल कराउनु’  एकै पटक भयो । यसले गर्दा बजारमा आएका हल्लाहरुमा दम छ भन्ने सबैले अनुमान गरे ।

पछिल्लो समय बजारमा चलखेल गर्नेहरुले खेलिरहेको स्पष्ट देखिन्छ । केही समय अघिसम्म फाइनान्स कम्पनी र विकास बैंकहरुमा उनीहरुले खेलेका थिए । ती दुई समुहमा उछाल आउनु पर्ने केही ‘गुड न्युज’ थिएन । चलखेल गर्नेहरुले यही बर्ष १०५ रुपैयाँ प्रतिकित्ताको गोर्खा फाइनान्सलाई १३०० प्लससम्म पुर्याए । गोर्खासँगै अंकित मूल्यभन्दा सस्तोमा पाइएका फाइनान्स कम्पनीको मूल्यसमेत ४०० रुपैयाँभन्दा माथि पुग्यो । विकास बैकको अबस्थासमेत त्यही रह्यो । 

केही दिनदेखि निरंतर घटेको बजारमा बुधबारसमेत त्यही अबस्था देखियो । उच्च मूल्यमा पुगेका फाइनान्स र विकास बैंकहरुलाई घटाएर फेरि थोकमा उठाउनेहरु सक्रिय भए । फलस्वरुप बुधबार अधिकांश फाइनान्स कम्पनी र बिकास  बैंकको सेयर मूल्य बढेको छ । 

बजारमा अहिलेको निरंतरको घटाइलाई विश्लेषकहरु अस्वाभाविक मान्छन् । बजारमा नकारात्मक कुराहरु ल्याएर बजारलाई १०-१२ प्रतिशतसम्म घटाएर किन्ने खेल केही खेलाडीले गरिरहेको ठान्छन् सेयर बिश्लेषक विमल तिवारी । ‘बजारमा उच्च मूल्यमा सेयर खरिद गरेकाहरु घाटा खाएर बेचेर भाग्न तयार नभएकाले बजार धेरै घट्नबाट जोगिएको  हो,’ उनी भन्छन्, ‘नत्र बजार अझै घटाउँथे ।’ बैंकहरुले होल्ड गरेको सेयर आर्थिक बर्षको अन्यमा नाफा देखाउन प्रतिकित्ता २०, ३० रुपैयाँ आउनासाथ फ्याँकेर नाफा बुक गरिरहेकाले पनि सेलिंग प्रेसर आएर यस्तो भएको तिवारीको दावी छ । बजारलाई घटाउन ठूला खेलाडीहरु लागेको प्रस्टै देखिने उनको भनाइ छ । 

बैंकमा केही दिन अघि उछाल आएको थियो । लामोसमय स्थिर रहेको बैंकको सेयर मूल्यमा भएको बृद्धिले नाफा जोगाउन पनि मानिसहरु विक्रीमा लागेका छन् । बजार १५-२० दिन साइड बेजमा जाने प्राविधिक विश्लेषकहरुको विश्लेषण आइरहेको थियो  । लगानीकर्ताहरु पनि के होला, कसो होला भन्ने अन्यौलमा रहे । केही बजार झर्न सक्छ, प्रोफिट बुक गर् भनेर हल्ला चलाए । त्यसले गर्दा लगानीकर्ताहरु आत्तिए ।  

उसै पनि असार बैंकहरुले गरेको लगानी उठाउने बेला हो । यस्तो बेला बैंकहरुले लगानी गर्दैनन् । भएको लगानीको साँवाको किस्ता र ब्याज उठाउँछन् । ऋणिहरुलाई ब्याज र किस्ता तिर्ने चटारो छ । ठूला ब्यापारीलाई पनि ऋण तिर्न पैसा चाहिन्छ । अब सेयर बेचेर रकम जम्मा गर्ने धेरै दिन बाँकी छैन । त्यतिन्जेल केही सेलिंग प्रेसर रहन सक्छ । अहिले बजार स्थिर हुने बेला हो । यही स्थिर बजारमा ब्रोकरहरुले केही चलखेल गर्दै आएका छन् । उनीहरुले कुनै बेला ह्वात्त बजार बढाउँछन् । बजारले धान्दैन । त्यसपछि रात्तै भएर बन्द हुन्छ । 

नेपालको सेयर बजारलाई अर्थतन्त्रले हिँडाउँदैन । मानिसले चलाईरहेको अबस्था छ । पूरै चलखेल हुन्छ । अहिलेको अबस्था लागि परेर बजार झार्नै खोजिएको हो । उनीहरु बजारलाई तल झारेर सेयर उठाउन खोजिरहेका छन् । यही बजारलाई १०-१५ प्रतिशत घटाउन सके उनीहरुका दिन फिर्छन् । सामान्य लगानीकर्ता किन्न भनेर पर्खिरहन्छन् । खेलाडीहरु आफूले किनेपछि बजार उचालिहाल्छन् । उचालेर बेच्यो, अनि बजारलाई खसाल्यो । अनि बल्कमा सेयर उठायो । उनीहरुको चाल बुझ्न नसक्ने लगानीकर्ता बजारमा फस्छन् । 

लगानीकर्ताहरु आत्तिनु हुँदैन । बजारमा करेक्सन हुन्छ । ठूला लगानीकर्ताको पैसा अझै बजारमा छ । मानिसहरु प्रोफिट बुक गरेर सेयर सस्तिने दिन कुरेर बसेका छन् । अहिले बजार निकै घटेको अबस्था छ । त्यसैले उनीहरु अब बजारमा प्रवेश गर्ने तरखरमा छन् । 

अब सेयर बजारमा नकारात्मक समाचार आउने सिजन सकिन लागेको छ । साउन लाग्नासाथ बैंकहरुले लगानी बढाउँछन् । बढेको लगानी अधिकांश सेयर बजारमै फर्किने हो । 
 
 धितोपत्र बोर्डले नकारात्क सूची प्रकाशन गरेपछि चारैतिरबाट प्रहार सहनुपर्यो । यसले गर्दा बोर्ड रक्षात्मक अबस्थामा पुग्यो । बोर्डलाई यसबाट आफ्नो शाखमा पुगेको क्षतिको क्षतिपूर्ती गर्नु पर्ने छ । त्यसैले उसले सकारात्क सूची प्रकाशन गर्दै जाने बताइसकेको छ  । अब बोर्डले बजारलाई टेवा पूग्ने कुनै कदम चाल्ने छ । त्यसो नगरे पनि बजारलाई नकारात्मक प्रभाव पार्ने सूचना प्रवाह गर्नुअघि उसले १० पटक सोच्ने छ । 
 
नेपाल राष्ट्र बैंक मौद्रिक नीति तयार गरिरहेको छ । उसले माइक्रो फाइनान्स कम्पनीको पूँजी बृ्द्धि गर्ने तयारी गरिरहेको सूचना संचार माध्यममा चुहिएका छन् । त्यसले बजार बढाउन सघाउने छ । राष्ट्र बैंकले बजारलाई सकारात्मक प्रभाव पार्ने मौदृक नीति ल्याउने सबैको आँकलन छ । 

बीमा समितिले पनि नीति तथा कार्यक्रमको तयारी गरिरहेकोे छ । उसले पनि जीवन र निर्जीवन बीमा कम्पनीहरुको पुँजी वृद्धिको नीति ल्याउँने सबैको अपेक्षा छ । बीमा कम्पनीले बोनस वा हकप्रद जारी गरेर पूँजी बढाउने हो । यसले बजारलाई अझैमाथि उचाल्ने छ । 

पूँजी बजारबाट सरकारले ठूलो परिमाणमा राजस्व  संकलन गरिरहेको छ । अर्थतन्त्रका सबै क्षेत्र ठप्प हुँदा यही बजारले सरकारको साधारण खर्च धानिरहेको छ । यस्तो अबस्थामा सरकारले राजस्व गुम्ने गरी कुनै निर्णय गर्ने छैन । बरू अहिलेका अर्थमन्त्री सेयर बजार मैत्री भएकाले उनले बजारलाई प्रोत्साहन गर्ने छन् । म्युचुअल फन्डहरुले बोनस बाँड्न सेयर बजारबाट नाफा बुक गरिसकेकाले उनीहरू अब लगानी गर्न बजार छिर्ने छन् । यही बीचमा धेरै वटा म्युचुअल फण्ड आइपिओ निस्कासन  गरेर नगद जम्मा गरेर बसेका छन् । उनीहरूले सेयर बजारमै लगानी विस्तार गर्ने छन् । 

यी यावत कुराले बजारलाई सकारात्मक दीशातिर लैजाने छ । बजारमा मौका एक पटक आउँछ । त्यसले पर्खिँदैन । हामीले बजारलाई सस्तोमा सेयर बेचेर त्यही सेयर महंगोमा किन्नुभन्दा सेयर होल्ड गर्नु बुद्धिमानी हुन्छ । त्यस्तै सेयर बेचेर बसेकाहरू बजार अझै घट्छ र किनौंला भनेर कुर्दा कुर्दै मूल्यले उचाइ छोएपछि हेरेको हेर्यै हुने अबस्था आउन सक्छ । निर्णय तपाइँको ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको