Like us!
Follow us!
Connect us!
Watch us!

मोबाइल बैंकिङ सेवाबाट पैसा चोरी भएकाे भन्दै बैंक र प्रहरीमा उजुरी

अर्थ संसार

मंगलबार, २९ भदौ २०७८, १५ : ३३ मा प्रकाशित

मोबाइल बैंकिङ सेवाबाट पैसा चोरी भएकाे भन्दै बैंक र प्रहरीमा उजुरी

ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिमकी मञ्जिता मावो लिम्बूले आफ्नो बैंक खाताबाट अवैध रुपमा रकम निकालिएको भन्दै सम्बन्धित् बैंक र प्रहरी कार्यालयमा उजुरी दिएकी छन् । आफूलाई जानकारी नै नभई मोबाइल बैंकिङ सेवाबाट आफ्नो खाताको रकम निकालिएको भन्दै उनले खोजीका लागि प्रभु बैंकको फुङ्लिङ शाखा र जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । 

विदेशबाट श्रीमानले पठाएको पैसा झिक्न जाँदा बैंक खातामा रकम नदेखिएपछि उनले बैंक खाता रहेको फुङलिङ शाखा र प्रहरी कार्यालयमा निवेदन दिएकी हुन् । आफूले मोबाइल बैंकिङ सेवा लिए पनि चेकमार्फत नै रकम झिक्दै आएको बताउने मञ्जिताले अवैध रुपपमा मोबाइल बैंकिङमार्फत आफ्नो रकम झिकिएको बताइन् । 

मोबाइल बैंकिङ सेवा लिए पनि चलाउन नजानेकाले चेकमार्फत नै रकम झिक्ने गरेको बताउने उनको खाताबाट ९८४६९२५४२८ नम्बरको मोबाइलबाट मोबाइल बैंकिङ सेवा प्रयोग गरी पटक पटक गरेर एक लाख ६३ हजार नौ सय ३० रुपैयाँ ट्रान्सफर भएको छ ।

खाताबाट यसअघि मञ्जिताले दुईपटक चेकमार्फत पैसा झिकेकी छन् । तर, मोबाइल बैंकिङमार्फत रकम झिकिएपछि खोजी गरी आफ्नो पैसा फिर्ता दिलाइनदिन माग गर्दै उनले बैंक र प्रहरीसमक्ष निवेदन दिएकी हुन् । 

मञ्जिताका अनुसार विदेशमा रहेका श्रीमान १७ भदौ २०७८ मा एक लाख ६३ हजार नौ सय ३० रुपैंया पठाइदिएका थिए । सो रकम झिक्न उनी १९ भदौमा बैंक पुगिन् । तर, खातामा शून्य मौजाद देखियो । 

‘उहाँको मोबाइल बैंकिङ सेवाबाट विभिन्न बैंकहरूमा रकम ट्रान्सफर भएको अभिलेख देखिन्छ’, प्रभु बैंकका फुङलिङ शाखा प्रवन्धक खगेन्द्र न्यौपानेले भने, ‘तर, उहाँले आफूले मोबाइल बैंकिङ सेवा चलाउँदै नचलाएको र चलाउन नै जान्दिन भन्नु भएकोले प्राप्त निवेदनका आधारमा ग्राहकको रकम कसरी ट्रान्सफर भयो भनेर खोजिरहेका छौं ।’  मञ्जिताको रकम अवैध रुपमा झिकिनुमा बैंकको दोष नरहेको उनको दाबी छ । 

प्रभु बैंकका अनुसार ५० हजार र १३ हजार ५ सय गरी नेपाल ६३ हजार ५ सय रुपैयाँ नेपाल बैंक लिमिटेडको गुल्मी शाखामा खातावाल रहेका तेजबहादुर थापाको खातामा ट्रान्सफर भएको देखिन्छ । बाँकी एक लाख भने दुई पटक ५०–५० हजार रुपैंया गरी दाङ बस्ने सपना केसीको गरिमा विकास बैंकको खातामा ट्रान्सफर भएको देखिन्छ । एक बैंकबाट अर्को बैंकमा रकम पाउँदा लाग्ने शुल्क समेत मञ्जिताको खाताबाट कट्टा भएको बैंकको अभिलेखमा देखिन्छ । 

अन्तिममा यो रकम फेरि कामना सेवा विकास बैंकको एमटीएम प्रयोग गरेर निकालिएको अवस्थाको जानकारी आफूलाई आएको र खोजिकार्य जारी रहेको प्रभु बैंकका शाखा प्रबन्धक न्यौपानेले बताए । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको