Like us!
Follow us!
Connect us!
Watch us!

राष्ट्र बैंकको कर्जा सिमा र ब्याजदरको दोहोरो चपेटामा सेयर बजार, नेप्सेमा भारी अंकको गिरावट

अर्थ संसार

सोमबार, ०४ असोज २०७८, १५ : ०८ मा प्रकाशित

राष्ट्र बैंकको कर्जा सिमा र ब्याजदरको दोहोरो चपेटामा सेयर बजार, नेप्सेमा भारी अंकको गिरावट

साताको पहिलो कारोबार दिन आज (सोमबार) पनि सेयर बजार घटेको छ । नेप्से परिसूचक उच्च अंकले घट्दा कारोबार भएका १३ वटै उपसमूह ओरालो लागेका छन् । कारोबार हुने पहिलो दिन आईतबार संविधान दिवस परेकाले नेप्सेमा कारोबार बन्द थियो । 


नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (सोमबार) सेयर कारोबार मापक नेप्से परिसूचक ११४.०२ अंकले घटेर २६९८.२४ विन्दुमा झरेको छ । नेप्से ४.०५ प्रतिशतले घटेको हो । यता सेन्सेटिभ परिसूचक पनि १९.५१ अंकले घटेर ५०६.२७ विन्दुमा झरेको छ । 

कूल २२९ वटा कम्पनीको एक करोड ७३ लाख ३० हजार ५ सय ३८ कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४९ करोड ३४ लाख १ हजार ९ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै वटा उपसमूहको सेयर घटेको छ ।

आज सोमबार पनि कारोबार रकममा अरूण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले नै अग्रता कायम गरेको छ । कम्पनीको ४० करोड ६५ लाख ३१ हजार ४ सय ३६ रूपैयाँ बराबरको कारोबार भएको छ ।

आज जम्मा ८ वटा कम्पनीको सेयरमूल्य बढेको छ । जसमध्ये ३ वटा डिबेञ्चर, एउटा म्युचुअल फण्ड र अन्य ४ वटा भने कम्पनी रहेका छन् । मनकामना लघुवित्तको सेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ । कम्पनीको सेयरमूल्य बढेर ९ सय ८९ रूपैयाँ ८० पैसा पुगेको छ । 


आज विभिन्न ७ वटा कम्पनीहरुको सेयर मूल्यमा नकारात्मक सर्किट ब्रेक लागेको छ । 


नेपाल राष्ट्र बैंकको १२ करोडको सीमा प्रकरणपश्चात् बजार निरन्तर जसो घटिरहेको  थियो । १२ करोडको सीमा प्रकरणले गर्दा ठूला लगानीकर्ताहरू प्यानिक भएर ऋणमुक्त हुन आफूले होल्ड गरेर राखेका मजबुत कम्पनीहरूको सेयर पनि बेचिरहेका छन् । बजार पुँजीकरण धेरै भएका यस्ता मजबुत कम्पनीहरू बेच्दा बजार एक्कासी तल झरेको विश्लेषकहरूको तर्क छ ।

सेयर बजारमा यसको प्रभाव नसकिँदै फेरि बैंकहरूले निक्षेपको ब्याजदर बढाएका छन् । बैंकहरुले असोज १ गते, शुक्रबारदेखि लागु हुनेगरी सार्वजनिक गरेको ब्याजदरमा अधिकांश बैंकले निक्षेपको ब्याजदर बढाएका उल्लेख गरिएको छ । त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको छ । बिहीबार बैंकहरूले सार्वजनिक गरेका ब्याजदर हेर्दा सनराइज बैंकले मुद्दतिको ब्याज सबैभन्दा धेरै अर्थात् १०.०७ प्रतिशत दिने भएको छ । ब्याजदर प्रकाशन गर्ने अन्य बैंकहरूमा ११ वटा बैंकहरूले ९ प्रतिशतभन्दा धेरै, १३ वटा बैंकहरूले ८ देखि ९ प्रतिशतसम्म र एउटा बैंक अर्थात् स्ट्यान्डर्ड चाटर्डले ८ प्रतिशतभन्दा कम ७।५५ प्रतिशत ब्याज दिने भएको छ । बैंकहरूले यसरी ब्याजदर बढाएपछि सेयर बजारमा नकारात्मक असर देखिएको हो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको