Like us!
Follow us!
Connect us!
Watch us!

अगुवा लगानीकर्ता भन्छन् “४/१२ को क्याप बजारले पचाइसक्यो, मौद्रिक नीतिको समीक्षाले असर गर्दैन”

अर्थ संसार

शुक्रबार, १० मंसिर २०७८, १८ : ०२ मा प्रकाशित

अगुवा लगानीकर्ता भन्छन् “४/१२ को क्याप बजारले पचाइसक्यो, मौद्रिक नीतिको समीक्षाले असर गर्दैन”

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा आज (मंसिर १० गते, शुक्रबार) सार्वजनिक गरेको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिको समिक्षामा लगानीकर्ताहरूले परिमार्जन होला भनी अपेक्षा गरेका नीतिमा भने केही परिवर्तन गरेको छैन । समिक्षामा सेयर धितो कर्जामा लगाइएको ४र१२ को सीमा र सीडी रेसियो सम्बन्धी नीतिमा केही परिमार्जन हुन्छ भन्ने लगानीकर्ताहरूको आश थियो । तर राष्ट्र बैंकले लगानीकर्ताहरूको यो आश भने मेटाउन सकेन । 

मौद्रिक नीतिको त्रैमासिक समीक्षा मार्फत् बैंकले सिडी रेसियोमा लचकता अपनाएको हो । सीडी रेसियो ९० प्रतिशत लाई यथावत गरिएको छ ।

राष्ट्र बैंकका अनुसार बैंक तथा वित्तीय संस्थाहरुले कर्जा निक्षेप अनुपात २०७९ असार मसान्तसम्ममा निर्धारित सीमाभित्र कायम गर्ने कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गराई यस बैंक समक्ष पेश गरी सोको कार्यान्वयन गर्नुपर्नेछ । यसो गर्दा बैंकहरुले अगाडि नै योजना बनाउने र सोही अनुसार कर्जा प्रवाह र निक्षेप संकलन गर्नुपर्ने भएकाले अहिले जस्तो तरलता अभाव र सीडी रेसियो अधिक टाइट हुने अवस्था नआउने राष्ट्र बैंकले जनाएको छ । 

नेपाल राष्ट्र बैंकले जारी गरेको मौद्रिक नीति, २०७८ र एकीकृत निर्देशिकाले सेयर धितो कर्जाको सीमालाई १२ करोडमा सिमित गरेको थियो । सोहि व्यबस्थाका कारण नेपालको सेयर बजार ओरालो लागेको भन्दै नीति जारी हुने बेलादेखि नै विभिन्न सरोकारवाला निकायहरुले यसको विरोध गरिरहेका थिए ।  

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायत विभिन्न अन्य सेयर बजारसँग सम्बन्धित संस्थारुले ४/१२ करोडको नीतिले बजार ओरालो लागेको भन्दै यसमा लचकता अपनाउन अर्थमन्त्रीदेखि प्रधानमन्त्रीलाई समेत दवाव दिइरहेका थिए । 

यसै सन्दर्भमा आम लगानीकर्ताहरुको आम चासोको विषय बनेको सेयर कर्जामा लागेको क्यापमा कुनै पनि परिवर्तन नहुने भएपछि यसले नेपालको पुँजीबजारमा कस्तो प्रभाव पर्नसक्ला भनी विभिन्न सरोकारवाला व्यत्तिहरुसंग गरिएको कुराकानीको संपादित अंशः

अम्बिका प्रसाद पौडेल, सभापति- नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरम

उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति तथा लगानीकर्ता अम्बिका प्रसाद पौडेलले मौद्रिक नीतिको प्रथम त्रैमासिक समिक्षाले सेयर धितोकर्जामा लगाइएको ४/१२ को क्याप यथावत राखेता पनि त्यसले बजारमा कुनै असर नगर्ने बताएका छन्। अर्थसंसारसँग कुरा गर्दै पौडेलले अहिलेको ठुलो समस्या भनेको ४/१२ भन्दा पनि तरलता संकट रहेको बताए। 

'पछिल्लो समय हामीले माग गरेको कुरा चाहिँ ब्रोकर मार्फत मार्जिन लेन्डिंग हो।  यो विषयमा धितोपत्र बोर्डले गम्भीरतापुर्बक कदम चाल्नु आवश्यक छ।' पौडेलले भने। 

'हामीलाइ राष्ट्र बैंकले पुँजी बजार मैत्री नीति  ल्याउला भन्ने त  लागेको थिएन। खासै पुँजीबजार प्रति सकारात्मक कुरा नआए पनि नकारात्मक कुरा पनि नआएकाले यो समीक्षाले सेयर बजारमा कुनै असर पार्छ जस्तो मलाइ लाग्दैन', पौडेलेले थपे। 

'लगानीकर्ताहरु क्यासमा कारोबार गर्न थालिसकेका छन्।  ४/१२ को नीतिले गर्नुपर्ने जति असर गरिसकेको छ र लगानीकर्ताहरु त्यसप्रति अभ्यस्त भइसकेका छन्। त्यसैले म आम लगानीकर्ताहरुलाई संयमित भएर आफ्नो बचत र लिक्वीडिटिलाई प्रयोग गर्दै बजारमा लगानी गर्नु हुन अनुरोध गर्न चाहन्छु। राष्ट्र बैंकको यो समीक्षाले सेयर बजारमा कुनै पनि असर नगर्ने मेरो ठम्याई छ' , पौडेलले भने।  

नयन बास्तोला, महासचिव- लगानीकर्ता दवाव समूह 

हाम्रो देशका लगानीकर्ताहरुले मौद्रिक नीतिको समिक्षालाई पर्खेर लगानीको रणनीति बनाउनुपर्ने अवस्था आउनु नै आफैमा एउटा बिडम्बना हो । विश्व वजारलाई आधार मानेर हेर्ने हो भने मौद्रिक नीति नै कहिले आउछ कहिले जान्छ भन्ने कुराले लगानीकर्ताहरुलाई र बजारलाई कुनै पनि फरक पर्दैन तर हाम्रोमा मौद्रिक नीतिको त्रैमासिक समिक्षालाई समेत यसरी पर्खेर बस्नुपर्ने अवस्था आयो । 

यो अवस्था आउनुको प्रमुख कारण भनेका नै अहिलेको सेयर बजारका नव विज्ञहरु हुन् । उनिहरु सामाजिक सञ्जाल र क्लब हाउसहरुमा सक्रिय हुन्छन् र त्यहाँ आफ्नो सहि विज्ञता प्रस्तुत गर्न नसक्ने अनि मौद्रिक नीतिलाई हतियारका रुपमा देखाउने काम गरेकै कारण अहिले बजारमा मौद्रिक नीतिको समिक्षालाई लगानीकर्ताहरुले यति महत्व दिएको जस्तो देखिन्छ । त्यस्तै जसले अहिलेको अवस्थामा आफुसंग भएको सबै सेयर बेचेर बसेका छन् उनिहरुले पनि अहिले यसलाई ठुलो हाउगुजी बनाइरहेको म देख्छु । 

अहिलेको मौद्रिक नीतिको समिक्षाले बजारमा खासै ठुलो असर गर्ने म देख्दिन । राष्ट्र बैंक आफैमा एउटा स्वायत्त संस्थाको यसले कसैको दवाबमा प्रभावमा कुनै नीति नियम परिमार्जन गर्छ जस्तो मलाई लागेको पनि थिएन । बिगतमा राष्ट्र बैंकले बनाएका केहि नीतिका कारण बजार प्रभावित पनि बन्यो तर त्यो नीतिको प्रभाव बास्ताविक रुपमा पनि देखिन केहि समय लाग्न सक्छ । त्यसैले अहिलेनै राष्ट्र बैंकले सेयर कर्जामा लगाएको सिमा परिवर्तन गर्छजस्तो मलाई लागेको पनि थिएन र गरेन पनि । 

बरु तरलता व्यवस्थापनका सन्दर्भमा राष्ट्र बैंकले केहि हदसम्म संबोधन गरेको जस्तो देखिन्छ जुन अपेक्षा पनि गरेको थिए मैले । त्यसैगरी आयातमा केहि कडाई गर्ने नीति अबलम्बन गरेको छ राष्ट्र बैंकले यो पनि आफैमा सकारात्मक पक्ष हो अबको केहि महिनामा देश चुनावमा जान्छ र अहिले बजारमा देखिएको तरलताको समस्या समाधान भएर जान्छ । बजारमा अहिले हल्ला गरिए जसरी यो कुराले कुनै पनि नकारात्मक प्रभाव पर्दैन भन्ने मेरो विश्वास हो । 

रोहन कार्की,  अध्यक्ष-स्वतन्त्र पुँजीबजार सुधार संघ

न त हिजो नै नेपालको नियामक निकाय र सरकारले पुजिबजार लाई केही दियको थियो न आज आश गर्ने अवस्था थियो न भोलि बरु निरन्तर लियको मात्र छ कमिसन बढाएर होस या लगानिकर्ताको नाम मा खेलेर नितिगत भ्रस्टचार गरेर । 

बजार हिजो बढेको पनि लगानिकर्ताकै बल बुताले नै हो आज र भोलि पनि चल्नेछ लगानिकर्ताकै आफ्नो बल र बिबेकले । सम्यम हौ बिबेकहिन भ्रस्ट निकाय सग हाम्रो न त्यस्तो आशा नै थियो त्यसैले निराशा हुने कुरै भएन । बजारलाई गिद्दे नजर लगाउनेहरु लाई ४८ लाख डिम्याट खाता होल्डर ले चुनावमा सम्झिनु होला । 

पुँजी बजार हाम्रो हो लगानी सबै हाम्रो हो सरकार या नियामकको हैन यीनीहरु त हाम्रो नाम मा तलब भत्ता र घुस बुझ्ने मात्र हुन काम त कसैले न हिजो न आज न भोलि गर्ने छन त्यसैले, यता धेरै टाउको नदुखाउ । 

राधा पोख्रेल, अध्यक्ष नेपाल पुँजीबजार लगानीकर्ता संघ

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गरेदेखि नै हामीले सेयर कर्जामा लगाएको सिमा खारेज गरिनुपर्छ भन्ने माग सहित विभिन्न निकायहरुलाई दवाब दिँदै आइरहेका थियो र अथैमन्त्रीले पनि समिक्षामा उक्त मागको सम्बोधन गर्ने आश्वासन पनि दिनु भएको थियो तर अहिले उक्त माग सम्बोधन हुन सकेन । राष्ट्र बैंक आफैमा एक स्वायत्त संस्था भएकाले पनि उसको कामको धेरै हस्तक्षेप गर्न सक्दैनथ्याैँ ।  

अहिले केही हदसम्म बजारले ४/१२ को सिमालाई पचाइसकेको देखिन्छ । समिक्षामा तरलता संकटलाई केही सम्बाेधन गरिएको छ भने गैर आवासिय नेपालीहरु तथा उनिहरु संलग्न बिदेशी संस्थाहरुबाट समेत बिदेशी मुद्रामा निक्षेप संकलन गर्न सकिने जुन व्यवस्था गरिएको छ त्यो बजारका लागि सकारात्मक पक्ष हो यसले केहि हदसम्म अहिले बजारमा देखिएको तरलता संकटलाई समाधान गर्नेछ । 

अहिलेसम्म लगानीकर्ताहरुले सेयर कर्जामा लागेको क्याप हट्छ कि भन्ने अपेक्षा थियो अब आजबाट त्यो हटिसकेको अवस्थामा बजार पुनः आफ्नो लयमा फर्कने नै दखिन्छ । बजार अहिले पनि बुलिस लयमा नै छ सबै लगानीकर्ताहरुले सुरक्षित भएर लगानी गर्ने हो घट्ने जति बजार घटिसकेको जस्तो लाग्छ मलाई क्षणिक रुपमा यसको प्रभाव १-२ दिनसम्म रहनसक्ला तर केहि दिनमानै बजार आफ्नो लयमा फर्कने देख्छु म ।  

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष एवंम लगानीकर्ता छोटेलाल रौनियारले राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षामार्फत् सिडी रेसियोलाई असार मसान्तसम्म छुट दिएर केही राहत मिलेको बताएका छन् । यो पनि खासै ठूलो राहत भने नभएको उनको तर्क छ । सिडी रेसियोलाई असार मसान्तसम्म कायम गरेको कुरालाई भने उनले लगानीकर्ताहरूको तर्फबाट गभर्नरलाई आभार प्रकट गरेका छन् ।

अहिले पुँजी बजार अनेकौँ विवादका कारण साइडवेजमा चलिरहेको बताउँदै उनले राष्ट्र बैंकले लगानीकर्ताहरूलाई केही सहज गरिदिनु पर्नेमा आफूले जे गर्यौँ त्यही ठिक छ जस्तो गरेको उनले बताए । "वहाँले विभिन्न कार्यक्रमहरुमा नै सार्वजनिक रुपमा सेयर कर्जामा लगाएको सिमाका कारण आँफुहरुले सोचे भन्दा पनि बढि बजार प्रभावित भएको भन्दै केहि मरिमार्जन हुनसक्ने संकेत गर्नुभएको थियो तर अहिले त्यो कार्यन्यन भएन कुनै कुनै ढंगले वहाँले आम लगानीकर्ताहरुको भावनालाई सम्बोधन गर्नुहुन्छ भन्ने आशा थियो तर वहाँले आम लगानीकर्ताहरुलाई निराश बनाइदिनु भएको छ" राैनियारले भने । 

मौद्रिक नीतिको समिक्षा लगानीकर्ताहरूले अपेक्षा गरेजस्तो नभएको उनले बताए । तर पनि समग्रमा पुँजी बजारलाई भने अब यो कुराले खासै प्रभाव नपार्ने र बजार सकारात्मक नै हुने उनको विश्लेषण छ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको