Like us!
Follow us!
Connect us!
Watch us!

ओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन

अर्थ संसार

शुक्रबार, ०२ पुस २०७८, १८ : ३९ मा प्रकाशित

ओलीलाई भीम रावलको चेतावनी : पाखा लगाउन खोजे परिणाम राम्रो हुँदैन

नेकपा एमालेका नेता डा. भीम रावलले एमाले रक्षाका लागि आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका छन् ।

गृहजिल्ला अछाममा रहेका नेता डा रावलले शुक्रबार बान्नीगढी जयगढ गाउँपालिकामा एमाले कार्यकर्तालाई सम्बोधन गर्दै व्यक्तिभन्दा पार्टी महत्त्वपूर्ण भएको भन्दै एमालेलाई जीवन्त राख्न आफू जस्तोसुकै त्याग गर्न तयार रहेको बताएका हुन् । तर, कसैले पाखा लगाउन खोजेको खण्डमा भने त्यसको परिणाम राम्रो नहुने उनको चेतावनी छ ।

रावलले सम्पूर्ण कार्यकर्तालाई एकताको पक्षमा उभिनसमेत आग्रह गरे । यसअघिका तिक्तता बिर्सेर एमालेलाई बलियो बनाउनेतर्फ सबैले लाग्नुपर्नेमा उनले जोड दिए । उनले अवसरवादी नेता तथा कार्यकर्ता अवसरको खोजीमा अन्यत्र गएको पनि बताए । लामो समयसम्म एमालेमै बस्दा अवसर नपाएका नेता कार्यकर्ता एकताको पक्षमा रहँदा पटक–पटक जिम्मेवारी पाएका नेता प्रलोभनमा परेको उनको भनाइ छ ।

विगतमा पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला आफूले पार्टीभित्रका समस्या समाधानका लागि विद्रोह गरेको तर पार्टी हितविपरीत कार्य नगरेको दाबी गरे ।

एमालेको नेतृत्वले फरक मत राख्ने नेतालाई मिलाउन नसक्दा पार्टीभित्रका केही नेता चोइटिएर गएको बताउँदै रावलले माधव नेपालले पार्टी फुटाएर नेपाली जनताप्रति गद्दारी गरेको आरोप लगाए ।

पार्टी अध्यक्ष ओली र नेता माधव नेपालले आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्दा पार्टी धेरै नेता कार्यकर्ता अन्यायमा पारेको बताए ।

रावलले एमालेमा रहेको विवाद समाधान गर्न र पार्टीलाई सुदृढीकरण गर्न आफूले अध्यक्ष पदमा उम्मेदवार दिएको तर आन्तरिक प्रतिस्पर्धामा पराजित भएको बताए ।

रावलले एमसीसी परियोजनालाई चोर बाटोबाट पास गर्न खोजिएको आरोप लगाए । नेपालमा एमसीसी परियोजना पास भए नेपाल र नेपाली जनताको स्वतन्त्रता र अस्तित्व नरहने उनको धारणा छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको