सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संविधानले व्यवस्था गरेअनुसार नै स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न गरिने बताएका छन्।
सूचना तथा सञ्चार प्रविधि मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले जनताको सार्वभौमिक अधिकारलाई अक्षुण्ण राख्दै जनताका भावनाअनुसार निर्वाचन समयमा सम्पन्न हुने विश्वास दिलाए।
सरकारका प्रवक्तासमेत रहेका मन्त्री कार्कीले भने, ‘हामी मुलुकको आन्तरिक एकतालाई मजबुद बनाएर अघि बढ्न चाहन्छौं, प्रमुख प्रतिपक्षी दलले लामो समयदेखि संसद् अवरूद्ध गरेको छ, यी सबै कुरा संसदमै छलफल हुने जनतासँग सम्बन्धित विषय हुन्।’
संसदलाई प्रभावकारी बनाउने दायित्व सरकारको मात्र नभई प्रमुख प्रतिपक्षीको पनि भएको बताउँदै उनले एमाले लामो प्रजातान्त्रिक अभ्यासबाट आएको दल हुनाले यो मुद्दालाई राजनीतिको विषय वस्तु बनाएर जनतामा भ्रम सृजना नगर्न सुझाव दिए।
मन्त्री कार्कीले भने, ‘निर्वाचन, आवद्यिक निर्वाचनको सिद्धान्त र महत्वप्रति सरकार पूर्णरूपले जानकार छ। वर्तमान सरकारले लोकतन्त्रका मूल्यमान्यता, मर्म र संविधानको भावनाअनुसार मुलुकलाई अगाडि बढाउँछ।’
सिंहदरबारको अधिकार र सिंहदरबारले प्रदान गर्ने सेवा सुविधा स्थानीय तहमै पुर्याउने परिकल्पना संविधानले गरेको बताउँदै मन्त्री कार्कीले भने, ‘त्यो अधिकार र सेवालाई अझ प्रभावकारी बनाउने दिशामा यो सरकार प्रतिबद्ध छ।’
उनले सरकारले संविधानमा व्यवस्था भएअनुसार स्थानीय तहको निर्वाचनको व्यवस्था गर्ने र निर्वाचन हुनेमा ढुक्क रहन सबैलाई आग्रह गरे।
संविधान र कानुनमा रहेका अन्तरद्वन्द्वले केही दुविधा ल्याएकाले प्रधानमन्त्रीको उपस्थितिमा बसेको पाँच दलीय उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकमा कानुनविदसँग पनि परामर्श भएको मन्त्री कार्कीले बताए।
उनले संविधान र कानुन बाझिएको हदसम्म संविधानले नै मान्यता प्राप्त गर्ने स्थापित मान्यता भएकाले ऐनलाई संविधानसम्मत मिलाएर जानुपर्छ भन्ने भएता पनि यस विषयमा छलफल चलिरहेको जानकारी दिए।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस