Like us!
Follow us!
Connect us!
Watch us!

एचआईडीसीएलको सेयर, रिडी रैराङकाे मर्जर, एनटीसीकाे लाभांश, बाेनस सूचिकृत + अन्य समाचार

अर्थ संसार

मंगलबार, १० फागुन २०७८, २१ : १३ मा प्रकाशित

आज (फागुन १० गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. एचआईडीसीएलको लिलामीमा आएको सेयर साधारण सेयर सरह नै कारोबार हुने

हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले अहिले लिलाम बढाबढ गरी बिक्री गरिरहेकाे सेयर दाेश्राे बजारमा साधारण सेयर सरह नै कारोबार हुने भएकाे छ । एचआईडीसीएलका कम्पनी सचिव जीवन कुमार बस्नेतले हाल खुलाईएको लिलामी मार्फत बिक्री हुने सेयर संस्थापक समूह अन्तर्गत नै लिस्टिङ्ग हुने भए तापनि सो सेयर नेप्सेमा साधारण सेयर सरह खरिद बिक्री हुने बताएका छन् । अहिले लिस्टेड रहेको करिब १४ करोड कित्ता संथापक सेयर पनि नेप्सेमा HIDCL कै सिम्बोलमा लिस्टेड रहेको र ट्रेडेबल रहेको बताउँदै उनले लिलामी मार्फत बिक्री हुने सेयर पनि HIDCL कै सिम्बोलमा लिस्टेड हुने र HIDCL को साधारण सेयर सरह नै दोश्रो बजारमा कारोबार हुने बताएका छन् । बस्नेतले लगानीकर्ताहरू यस विषयमा अन्यौलमा रहनु पर्ने आवश्यकता नरहेको पनि बताएका छन् । कम्पनीले ३ कराेड ३० लाख कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे छ । लगानीकर्ताले फागुन १५ गते कार्यालय समयभित्र शिलबन्दी बोलपत्र पेश गर्नुपर्ने छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । 

१. ज्योति दाहाल भन्छन्, "चुनाव खर्चकै लागि भए पनि एनटीसीले १०० प्रतिशत लाभांश दिनसक्छ"

सेयर विश्लेषक ज्योति दाहालले चुनाव खर्चकै लागि भए पनि एनटीसीले १०० प्रतिशत लाभांश दिनसक्ने बताएका छन् । अर्थ संसारसँग कुराकानी गर्दै नेपाल टेलिकमले १०० प्रतिशत लाभांश दिनसक्छ भन्दा कतिपय मान्छेहरू आफूमाथि आई लागेका सम्झँदै उनले भने , "८० अर्ब रिजर्भमा रहेको कम्पनीले १५ अर्ब झिकेर दिँदा कम्पनीको के जान्छ र ! त्यसैले सम्भावना देखेको छु मैले । पोहोर पनि एनटीसीले ढिला लाभांश घोषणा गर्यो किनभने पोहोर पनि चुनाव घोषणा भएको थियो हुन्छ हुन्न थाहा थिएन, त्यो बेलामा पनि नेपाल टेलिकमले सरकारलाई पैसा दिने गरी लाभांश घोषणा गर्छ भन्ने मेरो अनुमान थियो । तर चुनाव नहुने भएपछि ४० प्रतिशतमा झार्यो । अहिले पनि चुनाव हुने भो भने सरकारले कम्तिमा १० अर्ब लाने गरी लाभांश घोषणा हुनसक्छ ।" सरकारलाई पैसा चाहिएको बेलामा पैसा निकाल्ने यो एउटा राम्रो श्रोत बन्न सक्ने उनको धारणा छ । 

२. नेप्सेमा दाेहाेराे अंककाे वृद्धि, काराेबारमा नेपाल टेलिकम अब्बल

आज (मंगलबार) पनि सेयर बजार दाेहाेराे अंकले बढेकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.४२ अंकले बढेर २७३५.९३ विन्दुमा पुगेकाे छ । नेप्से ०.६४ प्रतिशतले बढेकाे हो । सेन्सेटिभ परिसूचक पनि ४.३६ अंकले बढेर ५२३.१५ विन्दुमा झरेको छ । कूल २२८ वटा कम्पनीकाे ६० लाख ८१ हजार ६ सय २ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब २१ करोड २८ लाख ८७ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज उत्पादन तथा प्रशाेधन र लगानी समूहबाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेको छ । मंगलबार पनि नेपाल टेलिकमकाे नै सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे २१ कराेड ४९ लाख ६७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज मैलुङ खाेला जलविद्युत कम्पनी लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर ६ सय ८२ रुपैयाँ पुगेको छ । आज एभरेष्ट इन्स्याेरेन्स कम्पनीकाे संस्थापक सेयरकाे मूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य २.६९ प्रतिशतले घटेर ४ सय ७० रूपैयाँमा झरेकाे छ ।

३. गुरू न्याैपाने भन्छन्, "नियामक निकाय नेतृत्व बिहिन हुँदा रिडी र रैराङको मर्जर प्रक्रिया राेकियाे"

रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड र रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडबीच एक आपसमा मर्जर गर्ने सम्झौता भएपछि कार्तिक १८ गते बिहिबारदेखि नेप्सेमा यी दुई कम्पनीको दोस्रो बजारमा कारोबार रोक्का छ । दुई कम्पनीकाबीचमा सूरु भएको मर्जर प्रक्रियामा किन ढिलाई भयो भनी हामीले रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडका अध्यक्ष गुरु प्रसाद न्यौपानेसँग प्रश्न गरेका थियाैँ । उनका अनुसार साधारण सभाबाट मर्जरको प्रस्ताव पारित भएपछि कन्सल्टेन्टहरु मार्फत दुईवटै कम्पनीहरुको वित्तिय विवरणहरु विश्लेषण गरेर स्वाप रेसियो समेत फाइनल भइसकेको छ । कम्पनी रजिष्टारको कार्यलय र कर कार्यालयबाट समेत मर्जरको स्विकृति प्राप्त भइसकेकाे छ । मर्जरको अन्तिम स्विकृतीका लागि नियामक निकाय विद्युत नियमन आयोगमा निवेदन पनि दिइएकाेमा हाइड्रोपावर कम्पनीहरुको नियामक निकाय नेतृत्व बिहिन हुँदा फाइल पनि बिद्युत नियमन आयोगमा नै रोकिएको छ ।

४. २ वाणिज्य बैंकसहित नेप्सेमा ४ कम्पनीकाे बाेनस सूचिकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (मंगलबार) ४ कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार ग्लोबल आईएमई बैंक लिमिटेडकाे १० प्रतिशत बोनस बापतको २ कराेड १६ लाख ३२ हजार ५ सय ३ दशमलव ०३ कित्ता, प्रभु बैंक लिमिटेडकाे १२ प्रतिशत बोनस बापतको एक कराेड ३६ लाख १६ हजार ४ सय ६८ दशमलव ७६ कित्ता फर्स्ट माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडकाे १० प्रतिशत बोनस बापतको ८ लाख ७६ हजार ८ सय १२ कित्ता र बुटवल पावर कम्पनी लिमिटेडकाे १० प्रतिशत बाेनस बापतकाे २९ लाख ४९ हजार ६ सय ६३ कित्ता सेयर सूचिकृत भएको हो । 

५. प्रभु लाइफले डाक्याे साधारण सभा, सेयरधनीकाे हात खाली

प्रभु लाइफ इन्स्याेरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे हिजाे माघ ९ गते, साेमबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे चाैँथाे वार्षिक साधारण सभा चैत्र ६ गते, आइतबार हाेटल रेडिसन, लाजिम्पाट, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरु हुनेछ । कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण गर्ने घाेषणा गरेकाे छैन । त्यसैले, कम्पनीका सेयरधनीहरूकाे हात खाली हुनेछ । 

६. राष्ट्र उत्थान लघुवित्तको आईपीओ भेरिफाई हुँदै, यसै साता बाँडफाँड गर्ने तयारी

राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ४ गते बुधबारबाट फागुन ८ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड कहिले हाेला भन्ने सबै लगानीकर्ताकाे चासाेकाे विषय बनेकाे छ । लगानीकर्ताकाे यही चासाे मेटाउन हामीले कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडसँग कुरा गरेका छाैँ । क्यापिटलका अनुसार हाल उक्त आईपीओकाे डाटा भेरिफिकेसनकाे काम चलिरहेकाे छ । प्राविधिक समस्याका कारण डाटा भेरिफिकेसनकाे कार्य सम्पन्न गर्न समय लागिरहेकाे हुनाले आईपीओ बाँडफाँड गर्न अझै केही दिन लाग्ने क्यापिटलले जनाएकाे छ । डाटा भेरिफिकेसनकाे काम जतिसक्दाे चाँडै गरी यही साताकाे अन्तिममा बाँडफाँड गर्ने क्यापिटलकाे तयारी छ । संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख ३४ हजार ६ सय २६ जना आवेदकले ३ करोड ५ लाख ३१ हजार ३ सय ७० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा ३८.४२ गुणा धेरै आवेदन हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७९ हजार ४ सय ५० जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी २५ लाख ५५ हजार १ सय ७६ जनाको भने हात खाली हुनेछ ।

७. युक्रेन संकट : बढ्यो तेलको मूल्य

युक्रेन संकटले विश्वभर आपूर्ति शृंखला प्रभावित हुने डरले तेलको मूल्य बढेको छ । रुसले पूर्वी युक्रेनको दुई ओटा क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि मंगलबार उत्तरपश्चिम युरोपको ब्रेन्ट क्रुड (तेल बजार) को अन्तर्राष्ट्रिय मानांक सात वर्ष यताकै उच्च भएको छ । बेलायतलगायत पश्चिमेली गठबन्धनहरुले रुसमाथि प्रतिबन्ध लगाउने चेतावनी दिएका छन् । साउदी अरेबियापछि रूस दोस्रो ठूलो कच्चा तेल निर्यातक हो । रुस विश्वकै शीर्ष तेल उत्पादक हो । म्यानुलाइफ इन्भेस्टमेन्ट म्यानेजमेन्टकी सु ट्रिन्हले सीमा तनावले ‘पर्याप्त प्रभाव’ पर्न सक्ने बताइन् ।

८. ८ सयले बढ्याे सुनकाे भाउ, १५ रूपैयाँले बढ्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा ८ सय रूपैयाँले बढेर प्रतिताेला ९७ हजार रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय १५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको