Like us!
Follow us!
Connect us!
Watch us!

२० प्रतिशत बोनस घाेषणा, हकप्रद आउँदै, एचआईडीसीएलको अक्सन राेक्का + अन्य समाचार

अर्थ संसार

शुक्रबार, १३ फागुन २०७८, २१ : २१ मा प्रकाशित

आज (फागुन १३ गते, शुक्रबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. सगरमाथा इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, २० प्रतिशत बोनस

सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १२ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र १.०५२६३ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश बीमा समितीबाट पारित भइ र आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण गरिनेछ ।

२. शिखर इन्स्याेरेन्सले चैत्र १ गतेदेखि हकप्रद खुल्ला गर्ने, माघ २० गतेसम्म कायम हुनेले भर्न पाउने

शिखर इन्स्याेरेन्स कम्पनी लिमिटेडले चैत्र १ गते, मंगलबारबाट हकप्रद सेयर निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी १०:३ को अनुपातमा एक सय रूपैयाँ अंकित दरमा ३० प्रतिशतले हुन आउने ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेकाे हाे । कम्पनीले हकप्रद प्रयोजनका लागि माघ २१ गते एक दिन बुकक्लोज गरेकाे थियाे । त्यसैले, माघ २० गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । कम्पनीको हकप्रदमा चैत्र २१ गते बैंकिङ समयसम्म आवेदन दिन सकिनेछ । कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम एनआईबिएल एस क्यापिटल लिमिटेडले गर्नेछ । लगानीकर्ताले बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड, शिखर इन्स्याेरेन्सका शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । मेराे सेयरबाट पनि हकप्रद भर्न सकिन्छ । 

३. धितोपत्र बोर्डले रोक्यो एचआईडीसीएलको अक्सन, स्पष्ट सूचना प्रकाशन गर्न आग्रह

नेपाल धितोपत्र बोर्डले हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले फागुन १ गतेबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे संस्थापक सेयर स्थगन गरेकाे छ । कम्पनीले जारी गरेकाे हकप्रद सेयरमध्ये संस्थापक समूह अन्तर्गत बिक्री नभएकाे ३ कराेड ३० लाख कित्ता सेयर बिक्री खुल्ला गरेकाे थियाे । एचआईडीसीएलका कम्पनी सचिव जीवन कुमार बस्नेतका अनुसार धितोपत्र बोर्डबाट प्राप्त पत्रमा लिलामीमा आउने ३ करोड ३० लाख कित्ता सेयर कुन प्रकृतिको हो, यसको लिस्टिङ्ग प्रकृया कस्तो हुन्छ र धितोपत्र बजारमा यसको कारोबार कुन हिसाबमा हुन्छ भन्ने कुराहरु समेटेर सर्वसाधारणलाइ स्पष्ट पार्ने किसिमको सूचना प्रकाशित गरिसकेपछि मात्र लिलामीको प्रकृया अघि बढाउन निर्देशन दिइएको छ।  स्थगित भएको लिलामी प्रकृया १ साता भित्रै सुचारु गराउने पनि उनले बताए। यसअघि नै लिलामीमा आवेदन दिएका लगानीकर्ताहरु आफ्नो पैसा लामो समयसम्म फस्ने हो कि भन्ने चिन्तामा रहेको प्रसंगमा उनले त्यस्तो अवस्था नआउने जानकारी दिएका छन्। 

४. नेपाल पुनर्बीमाले पठायाे लाभांश, खाता अद्यावधिक गराउन आग्रह

नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरूको बैंक खातामा नगद लाभांश जम्मा गरेकाे छ । कम्पनीको पाैष २२ गते सम्पन्न भएकाे छैठाैँ वार्षिक साधारण सभाले पारित गरेकाे २.५ प्रतिशत नगद लाभांश बुक क्लाेज हुनुभन्दा अघिल्लाे दिनसम्म अर्थात् पाैष १३ गतेसम्म हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा जम्मा गरिएकाे कम्पनीले जनाएकाे छ । कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने शेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । कम्पनीकाे सेयर रजिष्ट्रार आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेकाे छ । 

५. नेप्सेमा नेशनल हाइड्रोपावरको सेयरमूल्य समायोजन, प्रतिकित्ता ३ सय ५० रूपैयाँ १४ पैसा कायम

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । स्टकका अनुसार कम्पनीको १८.५२५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय ५० रूपैयाँ १४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य ४ सय १५ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । कम्पनीकाे पच्चीसाैँ वार्षिक साधारण सभा फागुन ३० गते, साेमबार अनलाइनकाे माध्यमबाट विनायकनगर, नयाँ बानेश्वर, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बाेनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । यसैगरी, कम्पनीले बाेनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीकाे १०:५ काे अनुपातमा अर्थात् ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पनि गरेकाे छ ।

६. अब काम नलाग्ने थोत्रा नोटबाट बिक्रेट बाल्न सकिने, गभर्नर अधिकारीद्वारा बीएसबीएसको शुभारम्भ

अब काम नलाग्ने थोत्रा नोटबाट ब्रिकेट बाल्न सकिने भएकाे छ । गभर्नर महाप्रसाद अधिकारीले नोट धुल्याउने कार्यलाई आधुनिकीकरण र यान्त्रिकरण गर्ने उद्देश्यका साथ सञ्चालनमा ल्याइएको बैंक नोट स्रेडिङ एण्ड ब्रिकेटिङ सिस्टम (बीएसबीएस) को शुभारम्भ गरेका छन् । यसअघि चलनचल्तीको निम्ति अयोग्य ठहरिएका नोटलाई जलाएर नष्ट गरिँदै आइएकोमा अब भने बीएसबीएस मेसिनको प्रयोगमार्फत स–साना टुक्रा बनाउने र स्वचालित प्रविधिबाट ब्रिकेट उत्पादन गरिनेछ ।

७. रूस–युक्रेन तनावको असर : नेपाली बजारमा खाने तेलको मूल्य बढ्ने

रूस र युक्रेनबीचको सम्भावित युद्धका कारण नेपालका तेल उद्योगहरूमा कच्चा पदार्थको अभाव हुने देखिएको छ । दुवै देशबीच बढ्दो तनावले तोरीको मूल्य प्रतिटन ३० डलर बढेको छ । नेपालमा युक्रेनबोहक अस्ट्रेलियाबाट पनि तोरीको दाना आयात गरिन्छ । युक्रेनमा भएको तनावपछि अस्ट्रेलियाबाट तोरी मगाइएको र माग बढेपछि त्यहाँबाट ढिला ढुवानी हुने देखिएको उद्योगीले बताएका छन् । अस्ट्रेलियामा समेत तोरीको मूल्य प्रतिटन ६० डलर बढेको छ । यसको असर नेपाली बजारमा केही समयपछि नै देखिने बताइएकाे छ ।

८. साताभरमा १४ सयले बढ्याे सुनकाे भाउ, ३० रूपैयाँले बढ्याे चाँदी

यस साता सुनकाे मूल्य ताेलामा १४ सय रूपैयाँले बढेर प्रतिताेला ९८ हजार रूपैयाँ कायम भएकाे छ । यस साताभरमा चाँदीकाे मूल्य पनि ताेलामा ३० रूपैयाँले बढेर प्रतिताेला एक हजार ३ सय ३५ रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको