Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रोपावरलाई आईपीओ बेच्नै मुस्किल, आन्तरिक रेमिट्यान्सको सीमा घट्यो

अर्थ संसार

विहीबार, १९ फागुन २०७८, २१ : ५५ मा प्रकाशित

आज (फागुन १९ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. सिटिजन लाईफले डाक्यो साधारण सभा, आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव

सिटिजन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चाैँथाे वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको साधारण सभा चैत्र ११ गते, अलोफ्ट हाेटल, ठमेल काठमाडौँमा दिउँसो ३ बजेबाट सुरु हुनेछ । सभामा कम्पनीले सर्वसाधारणमा प्राथमिक सेयर आईपीओ जारी गर्ने अख्तियारी प्राप्त गर्नेछ । सभाले गत आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमाथि छलफल गर्नेछ । सभामा संस्थाले चालू आर्थिक वर्ष २०७७र०७८ को लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयमा छलफल गर्नेलगायतको एजेण्डा पनि रहेकाे छ । 

२. बलेफी हाइड्रोपावरलाई आईपीओ बेच्नै मुस्किल, पुनः आवेदन दिने म्याद थप

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले माघ २७ गते, बिहीबारदेखि आयोजना प्रभावित स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरिएकाे साधारण सेयर (आईपीओ) भर्ने म्याद फेरि पनि थपिएकाे छ । कम्पनीले एक सूचना जारी गर्दै हालसम्म पनि माग बमोजिमको दरखास्त नपरेको भन्दै फागुन २६ गतेसम्म आईपिओ निष्कासन तथा बिक्री खुल्ला गर्ने जनाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाका स्थानियहरूका लागि जारी पूँजी १ अर्ब ८२ करोड ७९ लाख को १० प्रतिशतले हुने प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँ बराबरको १८ लाख २७ हजार ९७० कित्ता सेयर निष्कासन गरेकाे हाे । आईपीओमा स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतममा १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । त्यसैगरी, उक्त साधारण सेयर सर्वसाधारणमा सार्वजनिक गर्न निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आईएमई क्यापिटल लिमिटेडले गरेको छ । लगानीकर्ताहरुले यस आईपीओमा कुमारी बैंककाे जलबिरे शाखा, एनसीसी बैंककाे ढाँडे शाखा, ग्लोबल आईएमई बैंककाे चौतारा शाखा, लक्ष्मी बैंककाे चौतारा शाखा, लक्ष्मी बैंककाे खाडिचौर शाखा, महालक्ष्मी विकास बैंककाे खाडिचौर शाखा र सिन्धु विकास बैंकको खाडीचौर, जलबिरे तथा लामोसाँगु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

३. नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँडमा ढिलाई, आगामी साता सम्पन्न गर्ने क्यापिटलकाे जवाफ

नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन ११ गते, बुधबारदेखि फागुन १५ गते, आइतबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड मा ढिलाई भइरहेकाे छ । कम्पनीकाे आईपीओकाे बिक्री प्रबन्धक ग्लाेबल आईएमई क्यापिटल लिमिटेडकी डेप्युटी सीईओ नलिना श्रेष्ठका अनुसार आईपीओ बाँडफाँडका लागि क्यापिटलबाट गर्नुपर्ने सबै काम सम्पन्न भइसकेको छ । शनिबार नेष्डो समृद्ध लघुवित्तका कर्मचारी उपस्थित भएपछि आइतबार प्री अलोटमेन्ट सम्पन्न गरी आगामी साता नै आईपीओ बाँडफाँड गर्ने तयारी रहेको उनले बताइन् । संस्थाले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेकाे थियाे । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणकाे लागि माग गरिएकाे भन्दा झण्डै ४० गुणा धेरै आवेदन हो । मागभन्दा धेरै आवेदन परेकाे हुनाले संस्थाकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ७७ हजार ४ सय ५३ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी आवेदकको हात खाली हुनेछ ।

४. सिद्धार्थ बैंकको बोनस सेयर लगानीकर्ताको हिताग्राही खातामा जम्मा

सिद्धार्थ बैंक लिमिटेडकाे बाेनस सेयर सेयरधनीहरूकाे हितग्राही खातामा जम्मा भएकाे छ । कम्पनीले पौष ३० गते सम्पन्न भएको २० औँ वार्षिक साधारण सभाले पारित गरेको १४.२५  प्रतिशत बोनस सेयर फागुन १५ गतेदेखि नै लगानीकर्ताको हिताग्राही खातामा जम्मा गरेकाे हाे । हालसम्म पनि सेयर अभौतिकीकरण नगरेका शेयरधनीहरुले आफ्नो सेयर अभौतिकीकरण गराई आफनो बोनस सेयर समेत हितग्राही खातामा नै प्राप्त गर्न सक्नेछन् । बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

५. आन्तरिक रेमिट्यान्सको सीमा घट्यो, अब प्रतिदिन २५ हजार मात्रै पठाउन पाइने

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषणको सीमा घटाएको छ । राष्ट्र बैंकले हिजाे (फागुन १८ गते, बुधबार) देखि लागू हुने गरी रकम स्थानान्तरणको सीमा घटाएको हो । राष्ट्र बैंकले विप्रेषण कम्पनीका ‘सब एजेन्ट’ वा ‘सब रिप्रिजेन्टेटिभ’ हरुले स्वदेशमा कारोबार गर्दा प्रतिव्यक्ति, प्रतिकारोबार प्रतिदिन २५ हजार रुपैयाँसम्म मात्रै गर्न पाउने व्यवस्था गरेको छ । यसअघि यस्तो आन्तरिक विप्रेषण कारोबारको अधिकतम सीमा १ लाख रुपैयाँसम्म रहेकाे थियो । 

६. भिजिट भिसामा थप कडाई : अब बैंक खातामा ५ लाख नगद र वार्षिक आम्दानी १० लाख चाहिने

भिजिट भिसामा खाडी मुलुक जानेहरूकाे बैंक खातामा ५ लाख नगद चाहिने भएको छ । यस्तै वार्षिक आम्दानी १० लाख हुनुपर्नेछ । भिजिट भिसा दुरुपयोग गर्दै तस्करले श्रम गन्तव्य मुलुकमा पुर्या‍एका नेपाली कामदार अलपत्र परेपछि सरकारले थप कडाइ गर्न लागेको हो। भिजिट भिसा र सोबाट सिर्जित समस्या तथा समाधानका उपायहरू सम्बन्धमा सिफारिस गर्न सरकारले गत माघ ११ गते कार्यदल बनाएको थियो। उक्त कार्यदलले बुधबार गृहमन्त्री बालकृष्ण खाणलाई आफ्नो अध्ययन प्रतिवेदन बुझाएको छ। 

७. गाेपाल स्वामीकाे तर्क, "लगानीकर्ता धनी भएकाे नियामकका पदाधिकारीदेखि नेतासम्म कसैले देख्नै सक्दैनन्"

अनुभवी लगानीकर्ता गाेपाल स्वामी लगानीकर्ता धनी हुँदा नेताहरू हिराे नहुने बताउँछन् । लगानीकर्ताहरूमा गरिबी भयो भने नेताहरूले राज गर्न पाइराख्ने उनको तर्क छ । नेताहरूले लगानीकर्ताकाे सेन्टिमेन्टँग खेलिरहेका उनकाे धारणा छ । अर्थ संसारकाे साप्ताहिक कार्यक्रम लगानीकर्ताकाे आवाजमा कुराकानी गर्दै उनले भने, "अलिकति विगत हेर्ने हाे भने, अर्थमन्त्रीले जुवा घर भन्दिनु भयाे । गठबन्धनकाे प्रमुख लिडरले याे एउटा साम्राज्यवादकाे साधन हाे भन्दिनु भयाे । उहाँ आफै ४ करोडमाथिको गाडी चढेर हिँडी राख्नु भएको छ । डेढ लाखमाथिको आईफोन बोकी राख्नु भएको छ । हामी धनी भयौँ भने उहाँहरूको राज चल्दैन किनभने हामी धनी हुनु भनेको उहाँहरूको झोला बोक्न कोही पनि जाँदैन । हाम्रो जागिर हाम्रो आम्दानी सरक्षित भइसके पछि कोही पनि झोला बोक्न जाँदैन । त्यसैकारण लगानीकर्ताहरू धनी भएको नियामक निकायका पदाधिकारीदेखि नेताहरूसम्म कसैले पनि देख्न सक्दैनन् ।"

८. ५ सयले घट्याे सुनकाे भाउ, ५ रूपैयाँले घट्याे चाँदी

बिहीबार  सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले घटेर प्रतिताेला ९९ हजार रूपैयाँमा झरेकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा ५ रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ८० रूपैयाँमा काराेबार भएकाे नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको