Like us!
Follow us!
Connect us!
Watch us!

नेशनल हाइड्रोको साधारण सभा स्थगित, चैत्र ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

अर्थ संसार

मंगलबार, ०१ चैत्र २०७८, ०६ : १० मा प्रकाशित

नेशनल हाइड्रोको साधारण सभा स्थगित, चैत्र ८ गतेदेखि आईपीओ निष्कासन गर्ने

आज (फागुन ३० गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. ब्राेकरकाे डाटा सेन्टरमा समस्या, नेप्सेमा २ घण्टा मात्र काराेबार

धिताेपत्र दाेश्राे बजार नेपल स्टक एक्सचेञ्ज (नेप्से) मा आज साेमबार २ घण्टा मात्र काराेबार भएकाे छ । नेप्सेले केही ब्रोकरको डाटा सेन्टरमा समस्या देखिएपछि १२ बजेर ५३ मिनेटदेखि काराेबार राेक्का गरेकाे थियाे । त्यसपश्चात् नेप्सेले फेरि साढे ४ बजेपछि एक सूचना प्रकाशन गर्दै काराेबार बन्दकाे जानकारी गराएकाे थियाे । २ घण्टा काराेबार भएकाे बजारमा  नेप्से परिसूचक ०.१५ अंकले बढेर २६६८.११ विन्दुमा पुगेकाे थियाे । यता सेन्सेटिभ परिसूचक भने ०.०५ अंकले घटेर ५०९.८५ विन्दुमा झरेकाे थियाे ।  २ सय २० वटा कम्पनीकाे २३ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३४ कराेडकाे काराेबार भएकाे छ । 

२. नबिल बैंकले पायाे नेपाल बंगलादेश बैंकलाई एक्विजिसन गर्न राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति

नेपाल राष्ट्र बैंकले नबिल बैंकलाई नेपाल बंगलादेश बैंक गाभ्न सैद्धान्तिक सहमति प्रदान गरेको छ । नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई गाभ्नका लागि गत पुस २९ गते प्रारम्भिक सम्झौता गरेको थियो । नेपाल बंगलादेश बैंकको एक्विजिसन पश्चात् नबिल बैंक चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा तथा अन्य वित्तीय सूचकहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुने देखिन्छ । हाल नबिल बैंकको चुक्ता पुँजी करिब १८ अर्ब ५० करोड र एनबी बैंकको करिब १० अर्ब ९ करोड रहेको छ । यस एक्विजिसन पश्चात् हाल सहमत गरिएको स्वाप रेसियो अनुरुप बैंकको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ ।

३. लगानीकाे अवसर : ग्रीन भेन्चर्सले चैत्र ८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, देखि सर्वसाधारणहरुका लागि साधारण सेयर (आईपीओ) निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ । कम्पनीले यस अघि नै आयोजना प्रभावितहरुका लागि १० प्रतिशत आईपीओ बिक्री गरिसकेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गर्न लागेकाे हाे । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा चैत्र ११ गतेदेखि ढीलाेमा चैत्र २२ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल रहेको छ ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

४. मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ४ कराेड रूपैयाँ बराबरकाे ४ लाख कित्ता आईपीओ निष्कासन गर्न फागुन २० गते सेबाेनमा निवेदन पेश गरेकाे हाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धको रुपमा मेगा क्यापिटल मार्केट्स लिमिटेड रहेको छ ।

५. गणपुरक संख्या नपुगेपछि नेशनल हाइड्रोको साधारण सभा स्थगित

नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडको साधारणसभा स्थगित भएको छ । साधारण सभाका लागि आवश्यक गणपुरक संख्या नपुगेपछि आजका लागि तय गरिएको साधारण सभा स्थगित भएको हाे । कम्पनीले गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई १८.५२५ प्रतिशत बोनस सेयर र ०.९७५ प्रतिशत नगद गरी कूल १९.५ प्रतिशत लाभांश वितरण गर्ने र बोनस सेयर वितरण पश्चात् कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव गरेको थियो । 

६. २ अर्बले बढ्याे निक्षेप संकलन, एक अर्बले घट्याे कर्जा लगानी

यस साता वाणिज्य बैंकहरुको निक्षेप संकलन बढेकाे छ । नेपाल बैंकर्स एसोसिएसनले सार्वजनिक गरेकाे तथ्यांक अनुसार बैंकहरूकाे निक्षेप संकलन बढ्दा कर्जा लगानी घटेको हाे । फागुन २७ गतेसम्म वाणिज्य बैंकहरुले ४३ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका छन् । याे अघिल्लाे साताकाे तुलनामा २ अर्बले बढेकाे हाे । फागुन २० गतेसम्म वाणिज्य बैंकहरूले ४३ खर्ब २४ अर्ब रुपैयाँ निक्षेप संकलन गरेका थिए । त्यसैगरी, वाणिज्य बैंकहरुको कर्जा लगानी भने घटेको छ ।  बैंकहरुको कर्जा लगानी एक अर्ब रुपैयाँले घटेर ४१ खर्ब ६९ अर्ब रुपैयाँ पुगेकाे छ । फागुन २० गतेसम्म वाणिज्य बैंकहरूले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । 

७. नारायणी डेभलपमेन्ट बैंकको हकप्रद बाँडफाँड, १ लाख ४५ हजार कित्ता लिलामीमा आउने

नारायणी डेभलपमेन्ट बैंकले निष्काशन गरेको हकप्रदको बाँडफाँड कार्य सम्पन्न भएको छ । उक्त हकप्रदको बाँडफाँड फागुन २६ गते बिहिबार सम्पन्न गरिएको बिक्रि प्रबन्धक ग्लोबल आईएमई क्यापिटलले जनाएको छ । क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने २ हजार ४ सय ३० जना शेयरधनीलाई ११ लाख ६६ हजार ६ सय ८९ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा अवितरित १ लाख ४५ हजार ६ सय ४९ कित्ता सेयर लिलाममा आउनेछ । बैंकले पुस ७ गतेबाट १ बराबर १ को अनुपातमा कुल १३ करोड १२ लाख ३३ हजार ८ सय रूपैयाँ बराबरको १३ लाख १२ हजार ३ सय ३८ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो । बैंकले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि मंसिर २४ गते एक दिन बुकक्लोज गरेको थियो । त्यसैले, मंसिर २३ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्र हकप्रद सेयरमा आवेदन दिएका थिए ।

८. सामलिङ्ग पावरको साधारण सभा चैत्र २१ गते, लगानीकर्ताकाे हात खाली

सामलिङ्ग पावर कम्पनी लिमिटेडले आफ्नो तेस्रो साधारणसभा आह्वान गरेको छ । कम्पनीको हिजो (फागुन २९ गते, आईतबार) बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार बैंकको तेस्रो वार्षिक साधारण सभा चैत्र २१ गते, सोमबार कार्की ब्याङ्केट बबरमहल, काठमौंडौमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभाले ११ जना सञ्चालकको संख्यालाई घटाएर ७ जना बनाउने विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीको प्रबन्धपत्र र नियमावलीमा समसामयिक संशोधन वा थप गर्ने विशेष प्रस्ताव समेत सभाले अनुमोदन गर्नेछ । साथै सभाबाट गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी पारित हुनेछ । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि चैत ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसैले चैत ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन योग्य हुनेछन्।  

९. हिमालयन जनरल इन्स्योरेन्सको साधारण सभा सम्पन्न, ६.६५ प्रतिशत बोनस पारित

हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडले ठ्ठाईसौँ वार्षिक साधारण सभा सम्पन्न भभएको छ । कम्पनीको सभा फागुन ३० गते, सोमबार कम्पनीको केन्द्रिय कार्यालय, थापागाँउ, काठमाडौँमा सम्पन्न भएको हो । सभामा आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीको सेयरधनीहरूलाई चुक्ता पुँजीको ६.६५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३५ प्रतिशत नगद गरी कूल ७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ । सभाले गत आर्थिक बर्षको वार्षिक प्रतिवेदन स्वीकृत गर्ने, नाफा नोक्सान सम्बन्धी विवरण र आगामी आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्त गर्ने सम्बन्धी प्रस्ताव समेत पारित गरेको छ ।

१०. ५ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

साेमबार सुनकाे मूल्य ताेलामा ५ सय रूपैयाँले घटेर एक लाख २ हजार ३ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ४ सय १५ रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको