Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’, सेबोनको कारबाहीमा ब्रोकर

अर्थ संसार

मंगलबार, ०८ चैत्र २०७८, ०५ : ४० मा प्रकाशित

अर्थतन्त्र सुधार्न ‘उच्चस्तरीय समिति’, सेबोनको कारबाहीमा ब्रोकर

१. अर्थतन्त्र सुधार्ने प्रयासमा सरकार, ‘उच्चस्तरीय समिति’ गठन हुँदै

सरकार अर्थतन्त्र सुधार्ने प्रयासमा लागेकाे छ । अर्थतन्त्रको बिग्रँदो स्थितिलाई सुधार्न एक ‘उच्चस्तरीय समिति’ गठन गर्ने तयारीमा सरकार जुटेको हाे । विगत ८ महिनादेखि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार उद्योग मन्त्रालय मातहत रहेको ‘बोर्ड अफ ट्रेड’ को बैठकमा उद्योगीहरुसँग छलफल गर्दै उच्चस्तरीय समिति गठन गरी अहिलेकाे चुलिँदो आर्थिक संकट समाधान गर्नुपर्ने धारणा राखेका हुन् । प्रत्येक तीन–तीन महिनामा बस्नुपर्ने बैठक प्रधानमन्त्री देउवा नेतृत्वको सरकार गठन भएयता बस्न सकेको थिएन । प्रधानमन्त्री देउवाले बोर्डको पहिलो बैठक बोलाएर उद्योगीसँग छलफल गर्दै वर्तमान आर्थिक स्थितिको बारेमा चासो समेत राखेका छन् । बैठकमा उद्योगीहरुको ‘बिफ्रिङ’ सुनेपछि प्रधानमन्त्री देउवाले उच्चस्तरीय कमिटी गठन गरेर अगाडि बढ्नुपर्ने बताएका हुन् । बोर्डको बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्ससहित विभिन्न विभागीय मन्त्रालय सचिवको उपस्थिति थियो ।

२. सेयर बजारमा हरियाली, लगानीकर्ता उत्साहित

साताको दाेश्राे कारोबार दिन आज (साेमबार) सेयर बजारमा हरियाली देखिएको छ । साेमबार नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा २ वटा बाहेक अन्य उपसमूह उकालाे लागेका छन् । काराेबार रकम पनि आइतबारकाे तुलनामा बढेकाे छ । लगातारकाे गिरावटपछि बजारमा हरियाली देखिँदा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १७.९९ अंकले बढेर २६३४.५७ विन्दुमा पुगेकाे छ । नेप्से ०.६९ प्रतिशतले बढेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि १.८८ अंकले बढेर ४९६.२६ विन्दुमा पुगेकाे छ । कूल २३१ वटा कम्पनीकाे ५१ लाख ८९ हजार ८३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ५९ करोड २७ लाख १८ हजार एक सय ३१ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज २ वटा उपसमूह अर्थात् अन्य समूह र हाेटल तथा पर्यटन समूह बाहेक बाँकी सबै उपसमूहकाे सेयर बढेकाे छ । साेमबार नेपाल टेलिकमकाे सर्वाधिक काराेबार भएकाे छ । टेलिकमकाे २० कराेड ९४ लाख ५७ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै बढेकाे छ । कम्पनीकाे सेयरमूल्य ९.९८ प्रतिशतले बढेर ५ सय ७१ रूपैयाँ ७० पैसा पुगेकाे छ । यस दिन राष्ट्रिय बीमा कम्पनीकाे संस्थापक समूहकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे संस्थापक सेयरकाे मूल्य ६.७१ प्रतिशतले घटेर १४ हजार ९ सय एक रूपैयाँ पुगेकाे छ । 

३. अर्थमन्त्री शर्मा भन्छन्, "अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म बाहिरिन थाल्याे"

अर्थमन्त्री जनार्दन शर्माले अहिले अवैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको बताएका छन् । सोमबार बिहान रुकुम सदरमुकाममा पत्रकार महासंघ शाखा कार्यालय, रुकुमले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले यस्तो बताएका हुन् । उनले अहिले शोधानान्तर घाटालाई बिस्तारै सुधार गर्दैै लगेको तथा तरलता अभाव केही दिन भित्रै समाधानउन्मुख भएकाले अर्थतन्त्र बिस्तारै लयमा आउने विश्वास दिलाय । अहिले अबैध डिजिटल कारोबारका कारण दैनिक ५० करोड रुपैयाँसम्म नेपाली मुद्रा बाहिरिन थालेको भन्दै उनले यस्ता गतिविधि रोक्न सबै संयन्त्र परिचालन गरेको बताए ।

४. ब्रोकर नं. ११ सेबोनकाे कारबाहीमा, ७५ हजार जरिवाना गर्ने निर्णय

ब्रोकर नं. ११ अर्थात् मल्ल एन्ड मल्ल स्टक ब्रोकरिङ नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबोन) काे कारबाहीमा परेकाे छ । ब्रोकर नं. ११ ले धितोपत्र ऐन, २०६३ विपरीत लगानीकर्ताको अनुमति बिना नै उनीहरुको खातामा रहेको सेयर बिक्री गर्नुका साथै सेयर किनेको बक्यौता रकममा चर्को ब्याजदर असुलेकाे भन्दै लगानीकर्ताहरुले ब्रोकर नं. ११ विरुद्ध सेबोनमा उजुरी दिएका थिए । साेही अनुसार सेबोनले धितोपत्र ऐन, २०६३ को दफा १०१ उपदफा ६ बमोजिम कारबाही गर्ने निर्णय गरेको हो। ७५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय भएकाे बताइएकाे छ ।

५. बैंक तथा वित्तीय संस्थामा तरलताको संकट, घरजग्गाको कारोबारमा बहार

बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव कायमै भए पनि घरजग्गाको कारोबारमा भने कुनै प्रभाव नपरेको देखिन्छ। गत फागुन महिनाको विवरण हेर्ने हो भने बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव पनि छ र? भन्ने जस्तो तथ्य देखिन्छ। नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामार्फत घर जग्गाको कारोबारमा कडाइ गरे पनि अवस्था त्यस्तो नभएको पाइएको छ। भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार फागुन महिनामा मात्रै ७४ हजार ३६ लिखत पारित भएको छ। यस्तै घर जग्गाको नामसारी मात्रै पाँच हजार नौ वटा भएका छन्। संशोधनतर्फ कूल चार हजार ५३९,  हाल साविकतर्फ दुई हजार ६९३, घर जग्गा रोक्कातर्फ ३६ हजार ५७२ र फुकुवातर्फ कूल २४ हजार ७४९ रहेको विभागको विवरण छ। घर जग्गाको सबै विवरण हेर्दा फागुन महिनामा मात्रै एक लाख ६२ हजार ६७८ काम भएका देखिन्छ। बैंक तथा वित्तीय संस्थाले कर्जा दिएनन् वा कारोबार भएन भन्ने विषयलाई यो तथ्याङ्कले भने अस्वीकार गरेको जस्तो देखिन्छ। विभागको विवरण अनुसार फागुन महिनामा घर जग्गाको कारोबारबाट मात्रै छ अर्ब २६ करोड १६ लाख १० हजार १०५ बराबरको राजस्व सङ्कलन भएको छ।

६. अम्बिका पौडेल भन्छन्, "एनटीसीमा खेलाडी खेल्नु स्वभाविक, यो नै बजारको सुन्दरता हो"

यतिबेला एनटीसीकाे बाेनस घाेषणाकाे प्रसंगले बजार तातेको छ। लगानीकर्ताहरुले NTC मा इन्साइडर ट्रेडिङ्ग भएको भन्दै छानबिन हुनुपर्ने माग गरिरहेका छन्। विशेषगरी सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्दै गतवर्ष NTC को संचालक बनेका अम्बिका प्रसाद पौडेलले आफ़ू र आफ्ना नजिकका व्यक्तिहरुलाई NTC को बोनस सेयर आउने बारे पहिले नै सूचना चुहावट गरेको र त्यसैको परिणाम स्वरुप २ महिनाको छोटो अवधिमै नेप्से डाउन ट्रेन्डमा रहँदा रहँदै पनि ५०% भन्दा धेरैले सेयरमूल्य बढेको आरोप लागेकाे छ । अन्तत: यस विषयमा पौडेलले मुख खोलेका छन्।  एक अन्तर्वार्तामा पौडेलले यस विषयमा उठेका प्रश्नहरुको जवाफ दिँदै आफ्नो धारणा सार्वजनिक गरेका हुन। गत बर्ष NTC को संचालकमा उम्मेद्वारी दिँदा निर्वाचन जिताउन सहयोग गर्ने साथीहरुको अपेक्षा अनुरुप बोनस सेयर घोषणा गरिएको बताउँदै उनले आफ्नै पहलमा बोनस सेयर घोषणा गरिएको संकेत गरेका छन् ।  यो बिचमा NTC को सेयरमा तपाईले नै इन्साइडर ट्रेडिङ्ग गर्नुभयो भन्ने आरोप छ नि भन्ने प्रश्नको घुमाउरो जवाफ दिँदै पौडेलले पुँजी बजार राम्ररी नबुझ्नेहरुले इन्साइडर ट्रेडिङ्ग भयो भन्ने गरेको बताए। शिवम, अपर, AHPC लगाएतका कम्पनीहरुको सेयर मूल्य बढेको उदाहरण दिँदै उनले जसरी अन्य कम्पनीहरुमा खेलियो त्यसरी नै NTC मा पनि खेलिएको कुरा सत्य भएको स्वीकारेका छन् । इन्साइडर ट्रेडिङ्ग भनेर उफ्रिनुको कुनै तुक नरहेको बताएका पौडेलको प्रस्तुति र हाउभाउ हेर्दा सेयर बजारमा इन्साइडर ट्रेडिङ्ग हुनु सामान्य कुरा रहेको र यो गलत पनि नभएको उनको धारणा रहेको प्रष्टै झल्किन्थ्यो। 'पुँजी बजारको सुन्दरता नै यहि हो' भन्ने वाक्य पटक पटक दोहोर्याएका पौडेलको अभिव्यक्ति विश्लेषण गर्दा सेयर बजारमा इन्साइडर ट्रेडिङ्ग हुनु स्वभाविक हो र अरुले पनि इन्साइडर ट्रेडिङ्ग गरेका छन् मैले गर्दा चाहिँ किन कोकोहोलो भनेर असन्तुष्टि व्यक्त गर्न खोजेको भान हुन्छ।  

७. छायाँ देवी कम्प्लेक्सले आईपीओ निष्कासन गर्ने, बिक्री प्रवन्धकमा प्रभु क्यापिटल

छायाँ देवी कम्प्लेक्स लिमिटेडले सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) जारी गर्न प्रभु क्यापिटललाई शेयर निष्कासन तथा विक्री प्रबन्धकमा नियुक्त गरेको छ । नियुक्ति सम्बन्धी सम्झौतामा छायाँ देवी कम्प्लेक्सका तर्फबाट कम्पनीका प्रबन्ध निर्देशक महेश्वर प्रकाश श्रेष्ठ र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध निर्देशक दिनेश थकालीेले आइतवार हस्ताक्षर गरेका छन् । कम्पनीले हाल काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा पाँचतारे होटेल र मेघा कम्प्लेक्सको निर्माण गरी सञ्चालन गरिरहेको छ ।

८. ३ सयले बढ्याे सुनकाे भाउ, चाँदीकाे मूल्य स्थिर

साेमबार सुनकाे मूल्य ताेलामा ३ सय रूपैयाँले बढेर प्रतिताेला ९९ हजार ५ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य भने स्थिर रही प्रतिताेला एक हजार ३ सय ७५ रूपैयाँमा नै काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

बुलेटिनकाे अन्त्य सेयर बजारका पुराना एवमं अनुवभी लगानीकर्ता डमरू बल्लभ घिमिरेकाे यस भनाइबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको