Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताहरुमा निराशासँगै पूँजी पलायनको आशंका, आईपीओ बाँडफाँड आइतबार हुने

अर्थ संसार

विहीबार, १७ चैत्र २०७८, ०६ : ५५ मा प्रकाशित

आज (बुधबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएका छन् ।

१. लगानीकाे अवसर : बलेफी हाइड्रोपावरको आईपीओ आजदेखि खुल्याे

बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडले आज बुधबारदेखि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन तथा बिक्रि खुल्ला गरेको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १८ करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको १८ लाख २७ हजार ९ सय ७० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ४ प्रतिशत अर्थात ७३ हजार १ सय १९ कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ९१ हजार ३ सय ९८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र १६ लाख ६३ हजार ४५३ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा चैत्र २१ गतेदेखि ढीलाेमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लाेबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

२. प्राईम बैंकको ऋणपत्रमा आजदेखि खुल्याे, अधिकतम ५ लाख कित्तासम्म आवेदन दिन सकिने

प्राईम कमर्सियल बैंक लिमिटेडको ऋणपत्रमा आज चैत्र १६ गतेबाट आवेदन दिन सकिने छ । बैंकले प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । निष्कासन गरिने कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता र सर्वसाधारणका लागि १० लाख कित्ता  बिक्री गर्नेछ ।सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । उक्त ऋणपत्रमा छिटोमा चैत्र २१ गते र ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेडले गर्नेछ । लगानीकर्ताहरूले आरबीबी मर्चेन्ट बैकिङ्ग, प्राईम कमर्सियल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

३. बैंकर मनाेज ज्ञवाली भन्छन् ‘लगानीकर्ताहरुमा निराशासँगै पूँजी पलायनको आशंका, तरलता अभाव सहजै समाधान हुँदैन’

बैंकर मनाेज ज्ञवालीले पुँजी बजार प्रति सरकार र नियामकहरुको अस्थिर रवैया र लगानीकर्ताहरुको अस्थिर मनोवृतिले गर्दा दैनिक रु.20, 22 अरब कारोबार रकम पुगेको बजार घटेर रु.2,3 अरब दैनिक कारोबारमा सिमित भएको बताउँदै यसले लगानीकर्ताहरुमा निराशा संगै पुँजी पलायनको समेत आशङ्का गरिएको बताएका छन् । तरलता अभावमा सुरुवाती दिनहरुमा एक अर्कालाई दोष दिँदै समाधानका बारेमा नसाेचिएकाे उनकाे गुनासाे छ ।  यस पटकको तरलता अभाव systemic रहेकाे  र छिटै अनी सहजै समाधान नहुने पनि उनले बताएका छन् । सामाजिक सञ्जालमा एक स्टाटस पाेष्ट गर्दै उनले लेखेका छन्, "अहिले कसले कसलाई दोष दिएर आफु चोखो बन्ने भन्ने खेलमा लाग्ने बेला होईन, समाधानका उपाय हरुमा लाग्नुपर्छ अनी होस्टेमा हैसे गर्नु पर्छ। समय मै राजनैतिक रंग र स्वार्थ नभएको एउटा टास्क फोर्स बनाएर अल्पकालीन र दिर्घकालीन समाधानमा उपायमा काम गर्न जरुरी छ।"

४. सेयर बजारमा हरियाली : १२औँ सातामा ताेडियाे बुधबारको करेक्सन रेकर्ड

आज (बुधबार) सेयर बजारमा सकारात्मक माहाेल देखिएकाे छ । सन् २०२२ यता नेप्सेमा हरेक बुधबार करेक्सन भएको  थियाे ।  १२औँ सातामा नेप्सेकाे बुधबारकाे करेक्सन रेकर्ड ताेडिएकाे हाे । आज नेप्से परिसूचक दाेहाेराे अंकले बढ्दा काराेबार रकम पनि अघिल्लाे दिनकाे तुलनामा बढेकाे छ । काराेबार भएका १३ वटै उपसमूह उकालाे लाग्दा लगानीकर्ता उत्साहित छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बुधबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४०.६८ अंकले बढेर २५६८.२५ विन्दुमा पुगेकाे छ । नेप्से १.६१ प्रतिशतले बढेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.१३ अंकले बढेर ४८०.०६ विन्दुमा पुगेकाे छ ।  कूल २३२ वटा कम्पनीकाे ४५ लाख २ हजार ५ सय ११ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब २५ करोड एक लाख १७ हजार २ सय ९६ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज सबै उपसमूहकाे सेयर बढेकाे छ । सबैभन्दा धेरै अन्य समूह बढेकाे छ । बुधबार सिद्धार्थ इन्स्याेरेन्स कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ११ कराेड २७ लाख २३ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड, नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेड र इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस्तै, सामलिङ्ग पावर कम्पनी लिमिटेडकाे सेयरमूल्य पनि ९.८४ प्रतिशतले बढेकाे छ । यस दिन ९.५% एनसीसी डिबेञ्चर २०८६ काे मूल्य सबैभन्दा धेरै घटेकाे छ । उक्त डिबेञ्चरकाे मूल्य २ प्रतिशतले घटेर ९ सय २१ रूपैयाँ २० पैसामा झरेकाे छ ।

५. लाभांश पारित गर्न प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा,  चैत्र २४ गते बुकक्लोज

प्रुडेन्सियल इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको बीसाैँ वार्षिक साधारण सभा वैशाख ११ गते, दियालो लर्डस पर्सा, वीरगन्जमा दिँउसा १२ः३० बजे सुरु हुनेछ । सभामा कम्पनीको सञ्चालक समितिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद गरी कुल ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत्र २४ गते बुक क्लोज गर्नेछ । यसअनुसार २३ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

६. लगानीकाे नयाँ अवसर : चैत्र २५ गतेदखि आईपीओ निष्कासन गर्दै उपकार लघुवित्त

उपकार लघुवित्त वित्तिय संस्था लिमिटेडले चैत्र २५ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको छ ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात ३ हजार २८१ कित्ता सेयर लघुवित्तका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ११ हजार ८१३ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  बाँकी २ लाख २१ हजार १५६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको छ । यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटाेमा चैत्र २९ गतेसम्म र ढीलाेमा २०७९ बैशाख ९ गतेसम्म आवेदन दिन सक्नेछन् । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई बैंकिङ्ग लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

७. ग्रीन भेन्चर्सको आईपीओ आइतबार बाँडफाँड हुने, १८ लाख ७० हजार जनाको हात खाली हुने निश्चित 

ग्रीन भेन्चर्स कम्पनी लिमिटेडले चैत्र ८ गते, मंगलबारदेखि चैत्र ११ गते, शुक्रबारसम्म निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड चैत्र २० गते, आइतबार हुने भएकाे छ । उक्त साधारण सेयर (आईपीओ) काे प्रि-अलटमेन्ट हिजाे (चैत्र १५ गते, मंगलबार) निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटलकाे कार्यालयमा सम्पन्न भएकाे थियाे । आईपीओकाे बाँडफाँड चैत्र २० गते, आइतबार गर्न लागिएकाे मर्चेन्ट बैंकिङ्गकी म्यानेजर इशा श्रेष्ठले अर्थ संसारलाई जानकारी दिइन् । हालसम्म स्थान र समय भने तय नभएकाे उनले बताइन् । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३१ करोड २५ लाख रुपैयाँ बराबरको ३१ लाख २५ हजार ७ सय ५० कित्ता आईपीओ निष्कासन गरेको हो । जसमध्ये जारी पूँजीको ३ प्रतिशत अर्थात ९३ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख ५६ हजार २ सय ५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि र  २८ लाख ७५ हजार कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियाे । अन्तिम दिनसम्ममा कम्पनीकाे आईपीओमा २१ लाख ५७ हजार ६ सय ३१ जना आवेदकहरुले २ करोड ५९ लाख ४० हजार ५ सय ६० कित्ताका लागि आवेदन दिएका थिए । मागभन्दा धेरै आवेदन परेकाे हुनाले आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड हुनेछ ।गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा २ लाख ८७ हजार ५ सय जनाले मात्र सेयर पाउनेछन् । बाँकी १८ लाख ७० हजार जनाको हात खाली हुने निश्चित भएकाे छ ।

८. पूँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दै, डिम्याट खाेल्नेकाे संख्या ५० लाख ८९ हजार नाघ्याे

पछिल्लाे समय सेयर बजारमा लगानीकर्ताको आकर्षण बढ्दै गइरहेकाे छ । नयाँ लगानीकर्ता थपिने क्रम दिनानुदिन बढ्दै गइरहेकाे छ । सेयर बजारमा प्रवेश गर्न लगानीकर्ताहरूलाई आवश्यक पर्ने मुख्य कुरा नै डिम्याट खाता हो । नेपालमा डिम्याट खाता खाेल्ने व्यक्तिहरूकाे कुरा गर्नुपर्दा हालसम्म नेपालमा डिम्याट खाता खाेल्नेकाे संख्या ५० लाख ८९ हजार ५ सय पुगेकाे छ । जसमध्ये, ४२ लाख २ हजार ७ सय ४१ जना मेराे सेयरमा आवद्ध छन् । 

९. नेप्सेमा नेशनल माइक्राेफाइनान्सकाे बोनस सूचिकृत, थपियाे १६ लाख ७६ हजार कित्ता सेयर

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज (बुधबार) एक कम्पनीको बोनस सेयर सूचिकृत भएको छ । स्टकका अनुसार नेशनल माइक्राेफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ४० प्रतिशत बोनस बापतको १६ लाख ७६ हजार २ सय १४ दशमलव २१ कित्ता सेयर सूचिकृत भएको हो ।

१०. ४ सयले घट्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

बुधबार सुनकाे मूल्य ताेलामा ४ सय रूपैयाँले घटेर प्रतिताेला ९८ हजार ८ सय रूपैयाँ कायम भएकाे छ । यस दिन चाँदीकाे मूल्य पनि ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ६० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको