Like us!
Follow us!
Connect us!
Watch us!

कर नतिरे बोनस नपाईने, चैत्र २५ गते बुकक्लोज

अर्थ संसार

शुक्रबार, १८ चैत्र २०७८, ०७ : ३५ मा प्रकाशित

आज (चैत्र १७ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. पूँजी वृद्धिको प्रस्तावसहित आइएमई जनरलले डाक्यो साधारण सभा,  चैत्र २५ गते बुकक्लोज

आइएमई जनरल इन्स्योरेन्स कर्पोरेसन लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले गरेको निर्णय अनुसार कम्पनीको वार्षिक साधारण सभा २०७९ वैशाख ९ लैनचौर बैंन्क्वेट, लैनचौर काठमांडौमा बिहान १० बजे सुरु हुनेछ । सभाले सञ्चालक समितिको गत आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३७ प्रतिशत नगद गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ । साथै सभाले कम्पनीको चुक्ता पूँजी वृद्धि गरी २ अर्ब ५० करोड पुर्याउने प्रस्ताव समेत पारित गर्नेछ । लाभांश वितरण तथा साधारणसभा प्रयोजनार्थ कम्पनीले २५ चैत्र बुक क्लोज गर्नेछ । यसअनुसार २४ चैत्रसम्म कायम सेयरधनीले मात्रै लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

२. नेप्से परिसूचकसँगै घट्याे काराेबार रकम : विश्लेषक भन्छन्, "नगद हुनेलाई सेयर किन्ने अवसर"

आज (बिहीबार) फेरि सेयर बजारमा करेक्सन देखिएकाे छ । नेप्से परिसूचकसँगसँगै काराेबार रकममा पनि गिरावट देखिएकाे छ । प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालले अहिले आधारभूत रूपमा बलिया कम्पनीको सेयर किन्ने राम्राे अवसर रहेकाे बताएका छन् । अर्थ संसारको कार्यक्रम मार्केट प्रेस्क्रिप्सनमा कुराकानी गर्दै उनले बजार बुल ट्रेन्डमै रहेकाे र बुल मार्केटभित्रकै करेक्सन रहेकाे बताएका छन् ।  बजारमा डाउन साइड रिस्क थाेरै रहेकाे र अप साइड रिस्ककाे पाेटेन्सियल धेरै रहेकाे भन्दै उनले माथितिरकाे सम्भावना धेरै रहेकाे र तलतिरकाे रिस्क थाेरै रहेकाे बेलामा लगानी गर्ने सबैभन्दा उपयुक्त वातावरण रहेकाे बताएका छन् । अहिले नगद भएका व्यक्तिहरूलाई ढुक्क भएर लगानी गर्न उनले आग्रह गरेका छन् । याे करेक्सन सकिएपछि बजारले Fantastic राइज दिने उनकाे विश्वास छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक २३.९५ अंकले घटेर २५४४.३० विन्दुमा झरेकाे छ । नेप्से ०.९३ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ४.६० अंकले घटेर ४७५.४७ विन्दुमा पुगेकाे छ । कूल २२८ वटा कम्पनीकाे ३७ लाख ८७ हजार कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ८९ करोड एक लाख ६४ हजार रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार काराेबार भएका १३ उपसमूहमध्ये व्यापारबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेकाे छ । बिहीबार इमर्जिङ नेपाल कम्पनी लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड २३ लाख ८४ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । आज इमर्जिङ नेपाल कम्पनी लिमिटेड, राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन नारायणी डेभलपमेन्ट बैंक लिमिटेडकाे सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । बैंककाे सेयरमूल्य ४.७९ प्रतिशतले घटेर ४ सय ७१ रूपैयाँमा झरेकाे छ ।

३.  पूँजी बजारका नियामक : नियमन भन्दा पनि नियन्त्रणमा जोड !

सेयर बजार सधैँ बढ्ने वा घट्ने मात्र हुँदैन । बजारको सबैभन्दा राम्रो पक्ष भनेको नै यसको बढाइ र घटाइ नै हो । तर त्यो प्राकृतिक रुपमा बजार आफ्नै लयमा अगाडि बढेको अवस्थामा मात्र । जब बजार कुनै विन्दुबाट बढेर माथि जान्छ, त्यो बेलामा केही लगानीकर्ताहरूले नाफा बुक गर्दा केही करेक्सन आउनु स्वभाविक नै हो । विगतमा दिनहुँ नयाँनयाँ रेकर्ड बनाइरहेको पूँजी बजारमा एक्कासी सेयर बजारको विकास र विस्तारका लागि स्थापना भएका विभिन्न नियामक निकायहरूनै नियन्त्रक बन्दा अहिले बजारमा नकारात्मक माहोल बनेको छ । विगतका उदाहरणहरू नै हेर्यो भने जबजब बजारले उकालो यात्रा तय गर्छ, तबतब बजारमा प्रभाव पार्ने गरी नियामकहरूले विज्ञप्ति निकालेको देखिन्छ । बजार बढ्दा गिद्दे नजर लगाउने नियामक निकाय पछिल्लो समय बजार निरन्तर ओरालो लागेर नयाँ लगानीकर्ताहरू प्यानिक बन्दासमेत चुँइक्क बोलेको छैन ।अहिलेको बजारमा यति लामो समयसम्म करेक्सन आउनुको प्रमुख जिम्मेवार नै नियामक निकायहरू रहेको लगानीकर्ताहरूको आरोप छ । नेपालको पूँजीबजारमा नियामक निकायहरूको भुमिका नियमन गर्ने भन्दा पनि नियन्त्रण गर्ने रहेको कुरालाई पुष्टी गर्ने आधारहरू प्रसस्तै छन् । धितोपत्र बोर्डको ५१ वटा कम्पनीहरूको सूची, बीमा समितिका अध्यक्षको अस्थिर बोली, सेयर कर्जामा लागेको ४/१२ काे क्याप, नियामक निकायका अस्थिर नीति, बैंकका सहायक कम्पनीहरूलाई ब्रोकर लाइसेन्स दिनमा आनाकानी यसका केही उदाहरण हुन् ।

४. मनकामना स्मार्ट लघुवित्तले गर्यो सेयरधनीलाई कर तिर्न आग्रह, नतिरे बोनस नपाईने

मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरूलाई बोनस सेयर वितरणको लागि कर बापतको रकम जम्मा गर्न आग्रह गरेको छ । संस्थाले प्रचलित आयकर ऐन, २०६३ को दफा ४७ (क) अन्तर्गतको व्यवस्था बमोजिम २०७७ साउन ११ गतेपछि सेयर खरिद गरेका लगानीकर्ता वा आइपीओ परेका लगानीकर्तालाई बोनस सेयरमा लाग्ने कर तिर्न आग्रह गरेको हाे । सेयरधनीहरूले संस्थाको नाममा रहेको बैंक खातामा कर बापतको रकम जम्मा गरी आफ्नो बोनस शेयर प्राप्त गर्न सक्नेछन् । कर वापतको रकम बैंकमा जम्मा गर्दा भौचरमा आफ्नो हितग्राही खाता नं., नाम तथा सम्पर्क नम्बर समेत अनिवार्य उल्लेख गर्न संस्थाले आग्रह गरेको छ । त्यसैगरी, संस्थाले बुकक्लोजको समयमा शेयर रोक्का रहेका शेयरधनीहरूको बोनस शेयर फुकुवापत्र प्राप्त भएपश्चात् मात्र खातामा पठाइने समेत जनाएको छ । हालसम्म आफ्नो शेयर अभौतिकीकरण नगरेका शेयरधनीहरूले आफ्नो शेयर  अभौतिकीकरण गराएपछि मात्र बोनस प्राप्त गर्नेछन् । संस्थाको पुस १९ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई १७ प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित भएको थियो । 

५. समृद्धि फाइनान्सको हकप्रद बाँडफाँड, आइतबारबाट रकम फिर्ता गरिने

समृद्धि फाइनान्स लिमिडेडले निष्काशन गरेको हकप्रदको बाँडफाँड कार्य सम्पन्न भएको छ । उक्त हकप्रदको बाँडफाँड चैत्र १६ गते बुधबार सम्पन्न गरिएको बिक्रि प्रबन्धक बि.ओ.के क्यापिटल मार्केटले जनाएको छ । क्यापिटलका अनुसार हकप्रदमा आवेदन दिने शेयरधनीलाई १७ लाख ८९ हजार २ सय ३९ कित्ता शेयर बाँडफाँड गरिएको छ । यस संगै हकप्रदमा अवितरित ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाममा आउने छ । फाइनान्सले २ः१ को अनुपातमा अर्थात् हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयरको अनुपातमा १०० रुपैयाँ अंकित दरमा कुल २७ करोड २९ लाख ७० हजार ५ सय रूपैयाँ बराबरको २७ लाख २९ हजार ७ सय ५ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियाे । साथै, आफ्नो हक भन्दा बढी हकप्रद शेयरको निमित्त आवेदन गरी बाँडफाँटमा नपरेका सेयरधनीहरुको सेयर वापतको रकम फिर्ता भुक्तानी मिति चैत्र २० गते आईतबारदेखि आवेदकले आफ्नो आवेदन फाराममा उल्लेख गरेको बैंक/वित्तीय संस्थाको खातामा IPS मार्फत सिधै रकमान्तर गरिने छ । आफ्नो खातामा रकम जम्मा भए नभएको यकिन गरी रकम जम्मा नभएको खण्डमा बि.ओ.के. क्यापिटल मार्केट लिमिटेड नक्साल, काठमाडौंमा सर्पक राख्न समेत कम्पनीले अनुराेध गरेकाे छ ।

६. अर्थमन्त्री शर्मा भन्छन्, ‘नाम फास्ट ट्रयाक काम स्लो ट्रयाकमा भयो, नामको औचित्य पुष्टि गर्नुपर्ने स्थिति आइसक्यो’

आगामी आर्थिक बर्ष ०७९–८० को बजेट निर्माण प्रकृया अघि बढाएको अर्थ मन्त्रालयले बुधबार सबै मन्त्रालयका सचिव, सहसचिव र नेपाली सेनासँग छलफल गरेको छ । सो छलफलमा संघीयताको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहले आफ्नो अधिकार प्रयोग गर्ने गरी कस्तो योजना र नीति बनाउने भन्ने बारेमा सात दिन भित्र कार्ययोजना पेश गर्न अर्थमन्त्री जनार्दन शर्माले निर्देशन दिएका छन् । छलफल कार्यक्रममा बाेल्दै उनले राष्ट्रिय गौरव र गेम चेन्जर आयोजनाको प्रगति प्रति निराशा व्यक्त गरेका छन् । ‘राष्ट्रिय गौरबको आयोजनाको निर्माण धेरै सुस्त भयो । यसको परिभाषा नै बदल्नुपर्ने भयो । नाम फास्ट ट्रयाक भनेको छ तर काम स्लो ट्रयाकमा भएको छ । जसकारण समय र लागत धेरै महँगो हुन गएको छ’ उनले भने, ‘त्यस्तै हामीले केहीलाई गेमचेन्जर आयोजना भनेका छौं तर के चेन्ज भयो कसैलाई थाहा छैन । अब त नामको पनि औचित्य पुष्टि गर्नुपर्ने स्थिति आइसक्यो ।’मन्त्री शर्माले सबै मन्त्रालय र निकायलाई चालू  खर्च घटाउने योजना पेश गर्न पनि निर्देशन दिएका छन् ।

७. एक सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

बिहीबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ९८ हजार ९ सय रूपैयाँ पुगेकाे छ । यता चाँदीकाे मूल्य भने ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ५० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

आजकाे बुलेटिनकाे अन्त्य प्राविधिक विश्लेषक विष्णु प्रसाद बस्यालकाे यस भनाइबाट

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको