Like us!
Follow us!
Connect us!
Watch us!

१४ अर्बले बढ्यो निक्षेप संकलन, ११. पेट्रोलको भाउ १८२ र ग्यासको २५२८ रुपैयाँ पुग्नसक्ने

अर्थ संसार

बुधबार, २३ चैत्र २०७८, ०७ : ०७ मा प्रकाशित

आज (पाैष २२ गते, मंगलबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ ।

१. अर्थतन्त्र सङ्कटग्रस्त हुँदै गएको राष्ट्र बैंकको संकेत

 नेपाल राष्ट्र बैंकले गाडी लगायत विलासिताका वस्तुहरूको आयात रोक्न भन्दै प्रतितपत्र (एलसी) नखोल्न वाणिज्य बैंकहरूलाई निर्देशन दिएको छ । देशी मुद्रा सञ्चिती सकिँदै गएको र अर्थतन्त्र नै सङ्कटग्रस्त बन्दै जान थालेपछि राष्ट्र बैंकले सोमबार वाणिज्य बैंकका सिइओ तथा प्रतिनिधिहरूलाई बोलाएर छलफल गरेको हो । राष्ट्र बैंकको यो निर्देशनसँगै अत्यावश्यक वस्तु बाहेक अरू विलासी सामानहरूको आयात अब नहुने भएको छ । बैंकहरूलाई एलसी नखोल्न राष्ट्र बैङ्कले कडा निर्देशन पनि दिएको छ । अहिले विदेशी मुद्रा सञ्चिती ६ महिनाको वस्तु तथा सेवा आयात धान्न समेत नसक्ने अवस्थामा रहेकाले गाडी आयातको एलसी रोक्न भनिएको हो । अहिले गाडीको अत्यधिक माग रहेको छ भने विद्युतीय गाडीका लागि ६ महिनासम्म पर्खिनुपर्ने अवस्था छ ।

२. एकैदिनमा १४ अर्बले बढ्यो निक्षेप संकलन, सिडी रेसियोमा सुधार

एकै दिनमा बैैक तथा वित्तिय संस्थाहरुको निक्षेप संकलन १४ अर्बले बढेको छ । बैंकहरूको निक्षेप संकलन बढ्दा कर्जा लगानी भने १ अर्बले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चैत्र २० गतेसम्म बैंक तथा वित्तीय संस्थाहरूमा कुल ४९ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप रहेको छ । चैत्र १९ गते बैंकहरूको निक्षेप ४८ खर्ब ९८ अर्ब रूपैयाँ रहेको थियो । एकैदिनमा बैंक तथा वित्तिय संस्थाहरूको कुल निक्षेप १४ अर्बले बढेको हो । यस अवधिमा वाणिज्य बैंकहरूको निक्षेप पनि १३ अर्बले बढेर ४३ खर्ब ४२ अर्ब पुगेको छ । बैंकहरूको औसत कर्जा निक्षेप अनुपात (सीडी रेसियो) ९०.८४ प्रतिशतबाट घटेर ९०.५९ प्रतिशत पुगेको राष्ट्र बैंकले जनाएको छ ।

३. सेयर बजारमा भारी गिरावट : तुलसीराम ढकाल भन्छन्, "लगानीकर्ता आत्तिनुपर्ने अवस्था छैन"

मंगलबार पनि सेयर बजारमा भारी गिरावट देखिएकाे छ । नेप्से परिसूचक उच्च अंकले घट्दा काराेबार रकम भने हिजाेकाे तुलनामा बढेकाे छ । अहिले लगानीकर्ताहरु जसरी त्रसित भएका छन् वास्तवमा त्यसरी आत्तिनुपर्ने अवस्था भने नरहेको बताउँछन् नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल । "चैत्र महिना भएकाले ब्याजको पनि चटारो छ केही हदसम्म लगानीकर्ताहरुले ब्याज तिर्ने पैसाको जोहो गर्नलाई पनि केही सेयर बेच्छन् तर जुन हिसाबले बजार प्यानिक देखियो वास्तवमा देशको अवस्था भने त्यस्तो पनि छैन", ढकालले भने । 'अहिले जसरी श्रीलंकाको अर्थतन्त्रलाई देखाएर लगानीकर्ताहरुलाई प्यानिक बनाईएको छ हाम्रो देशको अवस्था त्यस्तो छैन हाम्रो र श्रीलंकाकाे बीचमा भिन्नता छ त्यहाँकाे अवस्था हेरेर यहाँ पनि त्यस्तै हुन्छ भने प्यानिक हुनुपर्ने अवस्था म देख्दिँन, हिजो राष्ट्र बैंकले वाणिज्य बैंकका सिईओहरुलाई बोलाएर जुन निर्देशन दिएको छ त्यो कुरा त बजारका लागि सकारात्मक नै छ' उनले भने 'अहिलेको बेला भनेको लगानीकर्ताहरु प्यानिक हुने भन्दा पनि आधारभुत रुपमा बलिया कम्पनीहरु किन्ने अवसर हो । ९ महिना बितिसक्यो अब बाँकी तिन महिना होल्ड गर्नसक्यो भने त लाभांश पनि पाकिहाल्छ समग्रमा बजारमा अहिले आत्तिएर प्यानिक हुनुभन्दा पनि सम्हालिएर बलिया कम्पनी थप्ने बेला हो ।' नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ४६.४६ अंकले घटेर २४५२.०६ विन्दुमा झरेकाे छ । नेप्से १.८६ प्रतिशतले घटेकाे हो । यस्तै, सेन्सेटिभ परिसूचक पनि ८.३४ अंकले घटेर ४५८.२२ विन्दुमा झरेकाे छ । कूल २२८ वटा कम्पनीकाे ५८ लाख ४१ हजार ९ सय ९८ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ६७ करोड १२ लाख ३२ हजार ३ सय ८८ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ । स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज हाेटल तथा पर्यटनबाहेक बाँकी सबै उपसमूहकाे सेयर घटेको छ । मंगलबार हिमालयन डिष्टिलरीकाे सर्वाधिक काराेबार भएकाे छ । कम्पनीकाे ९ कराेड ६७ लाख ९९ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे ।आज पनि राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड र नेष्डाे समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । यस दिन इमर्जिङ नेपाल लिमिटेडकाे सेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार ३ सय २३ रूपैयाँमा झरेकाे छ ।

४. प्राइम बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप, अब चैत्र ३० गतेसम्म आवेदन दिन सकिने

प्राइम बैंक लिमिटेडले चैत्र १६ गते, बुधबारबाट निष्कासन तथा बिक्री खुल्ला गरेकाे ऋणपत्रमा आवेदन दिने म्याद थपिएकाे छ । अब उक्त ऋणपत्रमा चैत्र ३० गतेसम्म  आवेदन दिन सकिनेछ । त्यस्तै, यसै अवधिमा ऋणपत्रमा मागभन्दा धेरै आवेदन परेमा जुनसुकै दिन पनि सूचना निकालेर जानकारी दिन सकिने पनि बैंककाे सूचना उल्लेख छ । बैंकले ‘१० प्रतिशत प्राइम डिबेञ्चर २०८८’ नाममा प्रतिकित्ता १००० रूपैयाँ अंकित दरमा २ अर्ब ५० करोड बराबरको २५ लाख कित्ता ऋणपत्र निष्कासन गरेकाे हो । कुल २५ लाख कित्ता ऋणपत्रमध्ये बैंकले व्यक्तिगत रुपमा विभिन्न संघ संस्थालाई १५ लाख कित्ता र सर्वसाधारणका लागि १० लाख कित्ता  बिक्री गर्नेछ । सर्वसाधारणको लागि छुट्याईएकोमध्ये ५ प्रतिशत अर्थात् ५० हजार कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ । लगानीकर्ताले यस ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम ५ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । बैंकको उक्त ऋणपत्रमा निष्कासन तथा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैकिङ्ग लिमिटेडले गरेकाे छ । लगानीकर्ताहरूले आरबीबी मर्चेन्ट बैकिङ्ग, प्राईम कमर्सियल बैंक तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सिआश्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरू तथा मेरो सेयर मार्फत अनलाईनबाट समेत आवेदन दिन सक्नेछन् ।

५. इमर्जिङ नेपालको उकालो यात्रामा ब्रेक ! लाग्यो नकारात्मक सर्किट

धितोपत्र दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा इमर्जिङ नेपाल लिमिटेडकाे ओरालो यात्रा सुरू भएकाे छ । काराेबार सुरू भएदेखि नै निरन्तर जसाे सर्किट लाग्दै आएको कम्पनीको उकालो यात्रामा आज ब्रेक लागेको छ । मंगलबार कम्पनीको सेयरमूल्यमा नकारात्मक सर्किट लागेको  । नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीकाे सेयरमूल्य १० प्रतिशतले घटेर एक हजार ३ सय २३ रूपैयाँमा झरेकाे छ । फागुन २० गते, शुक्रबार कम्पनीकाे ५५ लाख ५६ हजार कित्ता साधारण सेयर (आईपीओ) धिताेपत्र सूचीकरण विनियमावली, २०७५ बमाेजिम नेप्सेमा काराेबार हुन सक्ने गरी सूचीकृत भएको थियाे । कम्पनीले काराेबारका लागि ENL सिम्बाेल पाएकाे छ । त्यस्तै, याे समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५६.७७ अंकले घटेर २४ सय ४१ दशमलव ७६ विन्दुमा झरेकाे छ ।

६. समृद्धि फाइनान्सको ९ लाख ४० हजार कित्ता हकप्रद सेयर बिकेन, चैत्र २९ गतेदेखि लिलामीमा आउँदै

समृद्धि फाइनान्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयरमा आवेदन नपरेकाे ९ लाख ४० हजार ४ सय ६६ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गरिने भएकाे छ । जसमध्ये ८ लाख ६७ हजार ३६६ कित्ता संस्थापक समूहको र बाँकी ७३ हजार १०० कित्ता सर्वसाधारण समूहको रहेको छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिसेयर एक सय रूपैयाँ तोकिएको छ । लगानीकर्ताले सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । लगानीकर्ताले सर्बसाधारण समूहको सेयरका लागि न्युनतम १०० कित्ता र संस्थापक समूहका लागि न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा सम्पूर्ण सेयरका लागि आवेदन दिन सक्नेछन् । उक्त सेयरमा इच्छुक व्यक्ति, कम्पनी तथा संघसस्थाले चैत्र २९ गतेदेखि वैशाख ७ गतेसम्म  बोलपत्र पेश गर्न सक्नेछन् । उक्त सेयरको बिक्री प्रबन्धकको काम बि.ओ.के क्यापिटल मार्केट लिमिटेडले गरेको छ । 

७. समता घरेलु लघुवित्तको सेयर रजिष्ट्रार चयन

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड नियुक्त भएको छ । संस्थाकाे चैत्र २० गते बसेकाे सञ्चालक समितिकाे बैठकले यस संस्थाकाे धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी, रोक्का राख्ने लगायतका शेयरधनीहरुको लागत अद्यावधिक गरी राख्ने लगायतका सम्पूर्ण कार्य गर्नको लागि आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडलाई सेयर रजिष्ट्रारमा नियुक्ती गरेकाे हाे । जस अनुसार अब २०७९ साल वैशाख ३ गतेबाट २०८० साल वैशाख २ गतेसम्म संस्थाकाे सेयर रजिष्ट्रार अन्तर्गतकाे सम्पूर्ण कार्यहरू आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत हुनेछ ।

८. सरकारी ढुकुटीमा ३७ अर्ब रूपैयाँ बाँकी !

चालु आर्थिक वर्षको ९ महिना सकिन लाग्दा सरकारले ७ खर्ब ७८ अर्ब प्राप्ति गरेको छ । यो रकम सरकारले अनुदान राजस्व गैरराजस्व शीर्षकमा प्राप्ति गरेको हो । सरकारले सबैभन्दा धेरै राजस्व शीर्षकबाट ६ खर्ब ६७ अर्ब संकलन गरेको छ । त्यस्तै गैरकर शीर्षकबाट ५८ अर्ब ३४ करोड र अनुदानबाट १३ अर्ब ८८ करोड प्राप्ति गरेको छ । आम्दानी र खर्चको हिसाब गर्दा ३७ अर्ब मात्रै बचतमा रहेको छ । यो बचत घट्दै गएमा सरकारले आन्तरिक ऋण उठाई खर्च गर्नेछ । खर्च शीर्षकमध्ये सबैभन्दा धेरै चालु शीर्षकमा खर्च भएको छ। यो शीर्षकमा ५ खर्ब ८२ अर्ब खर्च भएको छ। यस्तै विकास खर्चतर्फ ९४ अर्ब १९ करोड खर्च भएको छ भने वित्तीय व्यवस्थातर्फ ६५ अर्ब खर्च भएको छ ।

९. अर्थमन्त्री शर्मा भन्छन्, "रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र हाम्रा लागि जोखिमको कुरा हो"

अर्थमन्त्री जनार्दन शर्माले रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र जोखिमपूर्ण हुने बताएका छन् । आज सुख्खा बन्दरगाहाको उद्घाटन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् । " पहिले ४ प्रतिशत माइनसमा रहेको रेमिट्यान्स फागुन महिनामा ३ प्रतिशत प्लसमा आएको छ । फागुन महिनामा ९१ अर्ब रेमिट्यान्स भित्रिएको छ हुन त हाम्रो जस्तो रेमिट्यान्स र आयातमा आधारित अर्थतन्त्र जोखिमको कुरा हो अब यो बन्दरगाहालाई आयातको केन्द्रबिन्दु नबनाई निर्यातको केन्द्रबिन्दु बनाउन संकल्प गर्नुपर्छ, " उनले भने । 

१०. एक सयले बढ्याे सुनकाे भाउ, १० रूपैयाँले घट्याे चाँदी

मंगलबार सुनकाे मूल्य ताेलामा एक सय रूपैयाँले बढेर प्रतिताेला ९८ हजार ८ सय रूपैयाँ कायम भएकाे छ । यसदिन चाँदीकाे मूल्य भने ताेलामा १० रूपैयाँले घटेर प्रतिताेला एक हजार ३ सय ४० रूपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

११. पेट्रोलको भाउ १८२ र ग्यासको २५२८ रुपैयाँ पुग्नसक्ने

पेट्राेलियम पदार्थकाे मूल्य समायाेजन हुने भएकाे छ ।  नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागू गरी परल मूल्यमा इन्धनको बिक्री गर्ने तयारी सुरू गरेकाे छ । परल मूल्य लागू हुँदा पेट्रोलको मूल्य १८२ रुपैयाँ, डिजेलको मूल्य १७० रुपैयाँ र एलपी ग्यासको मूल्य २५ सय २८ रुपैयाँ ६६ पैसा पुग्नेछ । हाल पेट्रोलको मूल्य १५५ रुपैयाँ, डिजेलको मूल्य १३८ रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर एक हजार ५ सय ७५ रुपैयाँ रहेकाे छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको