Like us!
Follow us!
Connect us!
Watch us!

३० गते चुनाव भएन भने एमालेलाई 'खुँदो पल्टिन्छ', घाटा त गठबन्धनलाई नै हुन्छ

बसन्त पाण्डे

विहीबार, ०१ बैशाख २०७९, १५ : ०८ मा प्रकाशित

३० गते चुनाव भएन भने एमालेलाई 'खुँदो पल्टिन्छ', घाटा त गठबन्धनलाई नै हुन्छ

यतिबेला सत्ता गठबन्धन चुनाव सार्ने खेलमा लागेको भन्ने चर्चा भईरहेको छ। चुनाव सार्नको लागि गठबन्धनले बहानाहरु खोजिरहेको भन्ने आरोप प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लगाउँदै आएका छन। सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले निर्वाचनको मिति सारेरै भएपनि नेत्रबिक्रम चन्दको पार्टीलाई निर्वाचनमा सहभागी हुने अवसर दिनुपर्ने धारणा सार्वजनिक गरेसँगै सत्ता गठबन्धन चुनाव पर धकेल्ने तयारीमा लागेको हो कि भन्ने शंकालाई थप मजबुत बनाएको छ। हिजो एउटा सार्वजनिक कार्यक्रममा प्रमुख निर्वाचन आयुक्तले समेत तोकिएको समयमा निर्वाचन नभएको खण्डमा लोकतन्त्र दुर्घटनामा पर्ने चेतावनी दिए।  

प्रमूख प्रतिपक्षी दलका नेताले पटक पटक निर्वाचन सार्ने षड्यन्त्र भईरहेको अभिव्यक्ति दिनु, गठबन्धनका शक्तिशाली नेताले पनि त्यतैतर्फ इशारा गर्नु, प्रमूख निर्वाचन आयुक्तले निर्वाचन हुनेमा शंका व्यक्त गर्दै निर्वाचन नहुँदा भयावह स्थिति आउनेतर्फ सचेत गराउनु जस्ता घटनाहरुले कतै भित्रभित्रै  सरकार साच्चिकै चुनाव सार्ने तयारीमा त छैन भनेर शंका गर्ने पर्याप्त आधार खडा गरिदिएका छन।  

किन चुनाव सार्न चाहन्छ गठबन्धन ?

नेकपा एमालेले फटाफट उम्मेदवारहरु तय गर्दै गर्दा गठबन्धनले साझा उम्मेदवार तय गर्न सकेको छैन। विशेषगरी नेपाली कांग्रेसका स्थानीयस्तरका नेताहरु बरु एक्लै चुनाव लड्दा नै जितिने तर्क गरिरहेका छन। अर्कोतर्फ़ नेकपा समाजवादीले आफुलाई नेकपा एमालेको ५०% हिस्सा टुक्रिएर बनेको दलको मान्यता दिनुपर्ने र सोहीअनुसार उम्मेदवार बांडफांड हुनुपर्ने प्रस्ताब राखेपछि गठबन्धन थप तनावमा परेको छ। गठबन्धनका दलहरुभित्र उम्मेदवारीका लागि चर्को प्रतिस्पर्धा छ। आफ्नै दलका नेताहरुलाई मिलाउन हम्मेहम्मे परिरहेको यस्तो अवस्थामा गठबन्धनभित्रको समीकरण मिलाउने ठूलो चुनौती नेतृत्वसामु छ।  यस्तो अवस्थामा यदि स्थानीय, प्रदेश र संघिय चुनाव एकैपटक गरियो भने पार्टीभित्र र गठबन्धनभित्र उम्मेदवारहरुको भागबण्डाको समीकरण मिलाउन निकै सहज हुने विश्लेषण गठबन्धन दलका नेतृत्ववर्गको छ।  

चुनाव सर्दा खास फाइदा कसलाई हुन्छ ? 

कतिपयले अहिले सरकारको चुनाव सार्ने कुनै तयारी नरहेको तर यो एमालेको 'प्रोपोगान्डा' रहेको प्रतिक्रिया दिने गरेका छन। अहिले चुनाव हुँदा सबैभन्दा धेरै फाइदा एमालेलाई नै हुने र सो तथ्य बुझेको एमाले चुनाव सरोस भन्ने चाहन्छ भन्ने विश्लेषण हुन थालेको छ। २०७४ को चुनावताका एमाले अध्यक्ष केपी शर्मा ओली निकै लोकप्रिय थिए। छोटो समय सरकार चलाउँदा भारतले गरेको नाकाबन्दीको सफलतापुर्वक सामना गरेको भन्दै उनका प्रशंशकहरु व्हात्तै बढेका थिए। तर यसअघि दुई तिहाई बहुमत सहितको नेकपा फ़ुटाएको, २/२ पटक संसद बिघटन गरेको र सरकारमा छँदा खासै उपलब्धिमुलक कामहरू गर्न नसकेको हुँदा उनका आलोचकहरु बढेर गएका छन।  झन् साविक एमालेको ठूलै हिस्सा टुक्रिएर समाजवादी बनेसँगै एमाले थप कमजोर भएको छ। 

यस्तो अवस्थामा सरकारले चुनाव सारीदियो भने एमालेले तोकिएको समयमा निर्वाचन गराउन नसकेको भन्दै सरकार र गठबन्धनको आलोचना गर्ने 'इस्यु' पाउनेछ। एमालेको खास चाहना यो गठबन्धनमा जसरी पनि फुटाउने र विशेषगरी माओवादी केन्द्रसंग मिलेर चुनाव लड्ने रहेको एमालेकै केन्द्रिय नेताहरु बताउछन।  यदि चुनाव सरे माओवादीलाइ आफूतिर तान्न सकिन्थ्यो कि भन्ने एमाले नेतृत्वलाई छ। चुनाव सरे थप तयारी गर्ने मौका मिल्ने र गठबन्धनलाई जसरी पनि भत्काउन सकिने निष्कर्ष एमालेको रहेको स्रोत बताउँछ।  

सर्ला त चुनाव?

चुनाव सार्ने तयारी भैरहेको कुरा आईरहंदा सरकार त्यो 'मिस्टेक' गर्ने मनस्थितिमा नरहेको जानकारहरु बताउछन। अहिले चुनाव सार्दा गठबन्धन मै गम्भीर असर पर्ने र एमालेले 'प्रोपोगान्डा' पाउने कुरामा गठबन्धनका दलहरु सचेत रहेको नेपाली कांग्रेसका एक नेता बताउछन। म्यादी प्रहरी भर्नादेखि लिएर मतपत्र छाप्नेसम्मका कामहरु भैसकेको अवस्थामा चुनाव सारेर आफु र आफ्नो दललाइ अलोकप्रिय बनाउने मुर्खतापुर्ण कार्य कांग्रेस सभापति तथा प्रधानमन्त्री शेर बहादुर देउवाले गर्ने सम्भावना आफुले नदेखेको पनि उनले बताए।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको