Like us!
Follow us!
Connect us!
Watch us!

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग, माग सम्बोधन नभए सडकमा उत्रने चेतावनी

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, १७ : ०१ मा प्रकाशित

पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न माग, माग सम्बोधन नभए सडकमा उत्रने चेतावनी

नेपाली उपभोक्ता संरक्षण महासंघले पेट्रोलियम पदार्थको मुल्यवृद्धि तत्काल फिर्ता गर्न सरकारसमक्ष माग गरेको छ । आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै महासंघले गत वैशाख ३१ गते मध्यरातिदेखि लागु हुनेगरि बढाइएको पेट्रोलियम पदार्थको मूल्य तत्काल फिर्ता गर्न माग गरेको हो । 

महासंघले आयल निगमले हिजो प्रेषित गरेको प्रेस विज्ञप्तीअनुसारको थप हुने मुल्य आन्तरिक व्यवस्थापन गर्नसमेत माग राखेको छ । यसैगरी, महासंघले अन्तर्राष्ट्रिय मापदण्डअनुसार पेट्रोलियम पदार्थको फिलिङ, ढुवानी, भण्डारण र बिक्रि–वितरणसम्बन्धी नेपाल सरकारको ऐन, नियम तर्जुमा गरी कार्यान्वयन गर्नुपर्ने प्रस्ताव अघि सारेको छ ।  

पेट्रोलियम पदार्थको अनावश्यक खपत र मानवीय स्वास्थ्य एवम् वातावरणीय नकारात्मक प्रभाव कम गर्न पेट्रोलियम पद्धार्थबाट चल्ने सवारीसाधन, मेशिनरी, उपकरणहरु निश्चित् अवधि पश्चात् चल्न नपाउनेगरि कानुनी तर्जुमा गर्नसमेत महासंघले प्रस्ताव राखेको छ ।   

पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष चन्द्र साउदले पेट्रोलियम पदार्थमा गरिएको मुल्यवृद्धि तत्काल रोक्न सरकारसँग माग गरे । उनले सानातिना विषयमा सडकमा आउने ईच्छा नभएपनि अब बाध्य भएर महासंघ सडकमा उत्रत्रिनुपर्ने दिन आएको सुनाए । उनले देशमा दिनहुँ मूल्यवृद्धि बढ्दै गएको उल्लेख गर्दैै देश नै नरहने अवस्था आउन लागेको भन्दै चिन्ता व्यक्त गरे । 

उनले आफूहरुका माग सम्बोधन गर्न सरकारबाट आवश्यक पहल नभए सडकमा आउनेपनि चेतावनी दिए । उनले भने,‘सरकारले हाम्रा मागहरु सम्बोधन गर्न आवश्यक पहल नगरे आन्दोलनका कार्यक्रमहरु महासंघको अगुवाईमा अगाडि बढाउनेछौं ।’ 

अध्यक्ष साउदले महासंघले आगामी जेठ १७ र १८ गते महाधिवेशन गर्ने पनि जानकारी दिए । पछिल्लो समयमा बढ्दै गइरहेको मुल्यवृद्धिले जनता ठूलो मारमा परेको भन्दै उनले फिर्ता गर्न सम्बन्धित सबैसँग आग्रह गरे । उनले भने,‘यसरी मूल्यवृद्धि हुँदै गएमा भोलिका दिनमा यसले विकराल रुप लिनसक्छ, त्यसबारेमा सबैले ध्यान दिन आवश्यक छ ।’ 

उनले महासंघले आजनै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र उपभोक्ता संरक्षण विभाग बबरमहलका महानिर्देशकलाई ज्ञापनपत्र बुझाउने जनाए । त्यस्तै, आज नै काठमाडौंमा धेरै व्यस्त हुने चार आकाशे पुल लोकन्थली, कोटेश्वर, रत्नपार्क र जमलमा मुल्य वृद्धि विरोधका मागसहितका ब्यानर राखिने पनि उनले बताए ।    

रिपोर्टर्स क्लब नेपालका सभापति एवम् प्राइम टेलिभिजनका अध्यक्ष ऋषि धमलाले मुल्यवृद्धिको कारण र आधार राज्यले आजसम्म दिन नसकेको भन्दै कडा आक्रोश पोखे । उनले उपभोक्ताहरु सुतेर बसेकै कारण मूल्यवृद्धि भएको धारणा राखे । उनले भने,‘जबसम्म तपाईँहरु तात्नुहुन्न, जनताले जबसम्म महंगीको एजेण्डालाई राष्ट्रिय एजेण्डा बनाउँदैनन्, तबसम्म सरकारले महँगी बढाईरहन्छ ।’ 

नेपालमा संघ÷संस्था धेरै भएपनि तिनीहरुको काम प्रभावकारी हुन नसकेको धमलाको गुनासो छ । उनले उपभोक्ता समितिले अघि बढाएको अहिलेको एजेण्डालाई राष्ट्रिय एजेण्डा बनाउनुपर्नेमा जोड दिए । 

धमलाले चर्चाको लागि एजेण्डामात्र उठाएर छाडेमा यसले कुनै प्रतिफल नदिने भन्दै यसलाई गम्भिर रुपमा लिन महासंघलाई सुझाव दिए । एजेण्डा उठाउन सजिलो भएपनि काम गर्न धेरै गार्हाे हुने उनको भनाई थियो ।  

महासंघलाई मूल्यवृद्धि विरुद्धको अहिलेको एजेण्डालाई राष्ट्रव्यापी रुपमा अघि बढाएर आन्दोलन गर्न पनि धमलाले सुझाव दिए । उनले भने,‘एउटा सशक्त रुपमा राष्ट्रव्यापी आन्दोलन सुरु गर्नुुस्, महासंघको अहिलेको महँगीविरुद्धको एजेण्डामा हाम्रो साथ छ । तपाईँहरु ढुक्क हुनुहोस, नेपाली सञ्चारजगत मुल्यवृद्धिको विरुद्धमा छ । मूल्यवृद्धिको विरुद्धमा हामी सशक्त रुपमा आवाज बुलन्द गर्न चाहान्छौं । यसलाई राष्ट्रिय एजेण्डा बनाउन चाहान्छौं ।’ 

महासंघका प्रवक्ता अर्जुनकुमार श्रेष्ठले नेपालीले थेग्नै नसक्नेगरि सरकारले डिजेल र पेट्रोलको मुल्यवृद्धि गरेको टिप्पणी गरे । प्रत्येक चिजको नियम परिवर्तन गर्न गार्हाे भएपनि सुरुवात आफैबाट गर्नुपर्नेमा उनले जोड दिए । ३ सय रुपैयाँको सामान बजारमा अहिले ३ हजारमा बिक्रि भैरहेको भन्दै उनले आपक्ति जनाए । 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको