Like us!
Follow us!
Connect us!
Watch us!

सेयर मार्केट माथिको विजय : कति सम्भव कति असम्भव !

विकास के.सी.

विकास के.सी

शनिबार, २१ जेठ २०७९, १६ : ३३ मा प्रकाशित

सेयर मार्केट माथिको विजय : कति सम्भव कति असम्भव !

सेयर मार्केटका बारेमा आफ्नो धारणा बनाउन र मार्केटमा लगानी गर्न सबैलाई खुल्ला गरिएको हुन्छ । सायद यो मात्र एक थलो हो जहाँ प्रवेश गर्न कुनै योग्यता, अनुभव र दक्षताको खोजि गरिँदैन् । बैंकमा खाता भएका जोकोही नेपाली नागरिकले एउटा डिम्याट खाता खोलि मेरो सेयरको युजरनेम र पासवर्ड लिने बित्तिकै सेयर कारोबार गर्न सकिन्छ । बैंक खातामा एक हजार मात्र हुनेले पनि टिएमस लगईन गरि सेयर खरिद गर्न पाउँछन् । सेयर बजारमा प्रवेश गर्न असाध्यै सहज र सरल हुन्छ । किनभने बजारलाई थाहा हुन्छ कि यहाँ प्रवेश गर्नेहरुले उसको ढुकुटिबाट पैसा लिएर जान सक्दैनन् ।

करिब ५० लाखभन्दा बढि डिम्याट खाता खोलेका लगानीकर्ताहरु मध्ये अधिकांश नवप्रवेशी लगानीकर्ताहरु सुन्दर सपना देखेर सेयर बजार प्रवेश गरेका छन् । बजारमा प्रवेश गर्न अत्यन्त सहज छ, यद्यपी बजारबाट पैसा कमाएर घर लान भने त्यत्ति सहज छैन् र हुँदैन् । वियरिस टे«न्डमा बजार प्रवेश गर्नेहरुको त विजोगै भएको छ । लहलहैमा लागेर बुलरनताका पैसा कमाएका लगानीकर्ताहरुले पनि आफूले कमाएको भन्दा बढि गुमाईसकेको अवस्था छ । प्रत्येक बुल र बियरको साईकलमा यही कहानि दोहोरिन्छ । सेयर मार्केट भनेकै यही हो । बजारले साना लगानीकर्ताको मात्र होईन् ठूला लगानीकर्ता हुँ भन्नेहरुको पनि मुटु हल्लाईदिन्छ । विश्लेषक भनाउँदाहरुको त झन् चार्ट नै रङ्गीचङ्गी बनाईदिन्छ । 

सेयर बजारबाट सहजै पैसा बनाउन सकिने भएको भए बजार प्रवेशगर्नु अगावै ईन्ट्रि क्राईटेरिया तोकिन्थ्योहोला । अन्य ब्यवसाय र पेशामा जस्तै शैक्षिक योग्यता, अनुभव र दक्षता खोजिन्थ्योहोला । विभिन्न चरणका छनौट प्रकिृयाहरुको सामना गर्नुपथ्र्यौहोला । तर, बजार प्रवेश गर्दा यी कुराहरु हेरिंदैन् । तथापी, हामीले यहाँ के बुझ्न जरुरी छ भने योग्यता, अनुभव र दक्षता नभएको मानिसको कुनैपनि क्षेत्रमा अन्ततोगोत्वा हार नै हुन्छ । यो एउटा सामान्य ज्ञान हो ।

त्यसोभए के सेयर मार्केटबाट पैसा कमाउन र कमाएको पैसा घर लान सकिन्न त ? मार्केटमाथि विजय प्राप्त गर्न के कस्ता रणनीतिहरु अपनाउनुपर्ने हुन्छ ? सेयर बजारका सहभागीहरुले गर्न हुने र गर्न नहुने कार्यहरु के के हुन् ? आउनुहोस् तिनीहरुका बारेमा चर्चा गरौं । 

१) गुरुहरुका पछाडी नलाग्नुहोस् :
गुरुहरु तीन प्रकारका हुन्छन् । मृत गुरु , भविश्यवाणी गुरु र चमत्कारी गुरु । मृत गुरुहरुमा एलियट वेभ थियोरीका प्रतिपादक आर.एन.एलियट, ग्यान थियोरीका डब्लु. डि ग्यान, आदी पर्दछन् । सयौं बर्ष पहिलेको थियोरीे आजको परिवर्तित युगमा कति प्रभावकारी हुन्छ आफै विचार गर्नुहोस् । भविष्यवाणी गुरुहरुमा प्राविधिक विश्लेषकहरु पर्दछन् । यिनिहरुले सेयर बजार यति पुग्छ र उति पुग्छ भनेर लगानीकर्ताहरुमा भ्रम छर्ने गर्दछन् । प्राविधिक विश्लेषणमा विश्वास गर्नुहास् । विश्लेषण गर्ने गुरुहरुमा होईन् । चमत्कारी गुरुहरुमा एक लाख लगानी गरेर एक करोड बनाउन सिकाउनेहरु पर्दछन् । सेयर बजार जुवाघर होईन । बजारमा लगानीको उचित प्रतिफल पाउने मात्र आशा गर्नुहोस् ।

२) लगानीको निर्णय आफै लिनुहोस्:
 ईन्भेष्टमेन्ट होस् या ट्रेडिङ आफ्नो निर्णय आफै लिनुहोस् । यदि नवप्रवेशी लगानीकर्ता हुनुहुन्छ भने सिकेर जानेर मात्र बजार प्रवेश गर्नुहोस् । हेर्न, पढ्न र सुन्न जोकोहीको पर्दछ । तर, लगानीको निर्णय प्रत्येक पटक आफ्नो ज्ञान, वुद्धि र विवेकका आधारमा लिनुपर्छ । 


३) सिमित जोखिम लिनुहोस् : 
सेयर बजारको जोखिमको क्षेत्र हो । ईन्भेष्टमेन्ट होस् या ट्रेडिङ आफ्नो जोखिम पहिल्यै निर्धारण गर्नुहोस् । हरेक मानिसको जोखिम वहन गर्ने क्षमता फरकफरक हुन्छ । जोखिम निर्धारणका विभिन्न मोडलहरु छन् । जोखिमलाई पूर्व निर्धारण नगरिकन गरिएका हरेक कारोबारहरु सेयर बजारमा ग्याम्बलिङ सरह हुन्छ । 

४) स्टप लसका साथ काम गर्नुहोस् : 
जोखिम ब्यवस्थापनको यो अभिन्न अङ्ग हो । आफूले स्विकार गरेको सिमित जोखिमको सिमा पार भएपछि अनिवार्य रुपमा स्टप लसका साथ स्टक वा समग्र मार्केटबाट एक्जिट हुनुहोस् । घाटा बेहोर्ने पनि बानी बसाल्नुहोस् । घाटा बेहोर्नु  ईन्भेष्टमेन्ट वा ट्रेडिङ प्रकिृयाको एउटा पार्ट हो । 

५) नाफालाई बढ्न दिनुहोस्: हामी अधिकांशको बानी नाफा भएको सेयर छिट्टै बेच्ने हुन्छ । किनभने हाम्रो मष्तिस्कले खुशीको भावनालाई छिट्टै लिनखोज्छ । तर, सेयर बजारमा नाफालाई जति सक्दो बढ्न दिनुपर्छ । तपाईँको दशवटा घाटालाई एउटै नाफाले पनि कभर गर्नसक्छ । नाफामा भएको एउटै मात्र स्क्रिप्टले तपाईँको जीवनशैली बदलिदिनसक्छ ।

६) जिम्मेवारी बहन गर्नुहोस्:
आफूले गरेका हरेक ईन्भेष्टमेन्ट वा ट्रेडिङको जिम्मेवारी नाफा भएपनि घाटा भएपनि आफै लिने बानी बसाल्नुहोस् । मार्केटलाई, नियामकलाई, विश्लेषकलाई, मिडियालाई, कम्पनीलाई, साथीभाईलाई दोष दिने बानी हटाउनुहोस् । आफूले गरेका निर्णयहरुको जिम्मेवारी आफैले लिन थालेपछि मात्र आफ्ना गुण र दोषहरुप्रति सचेत भईन्छ । 

७) गल्ति भएमा स्विकार गर्नहोस् : 
आफ्ना गल्तिहरु स्विकार गरेर अहंमता त्याग्ने लगानीकर्तालाई मात्र मार्केटले रिवार्ड गर्ने गर्छ । मार्केटको दिशा र गति सम्बन्धमा आफ्नो धारणा गलत साबित भएमा त्यसलाई तुरुन्त स्विकार गर्नुहोस् । मार्केटभन्दा स्मार्ट कोहिपनि हुन सक्दैन् ।

८)  जर्नल मेनटेन गर्नुहोस् :आफ्नो ईन्भेष्टमेन्ट वा ट्रेडिङको लिखित जर्नल बनाउनुहोस् । स्टकको नाम, खरिद मिति, खरिद गरेको रेट, स्टप लस÷प्रफिट टार्गेट, विक्री गरेको मिति, विक्री गर्नुपर्ने कारण, खरिदविक्री गर्दाको नाफाघाटा, आफूले गरेका गल्तिहरु, भविष्यमा सुधार गर्नुपर्ने कुराहरु, आदी सबैको लिखित डाटा राख्ने गर्नुहोस् ।

९) परिवर्तनलाई आत्मसाथ गर्नुहोस् ः मार्केटको बारेमा आफ्नो धारणा त्याग्नुहोस् । बजार परिवर्तनशील छ । हिजो लिड गरेको सेक्टर र स्टकले आजपनि लिड गर्नुपर्छ भन्ने केही छैन् । एउटा राम्रो वित्तिय अवस्था भएको कम्पनी सँधै राम्रो हुन्छ भन्ने हुँदैन् । त्यस्तै, पहिले खराब वित्तिय अवस्था भएको कम्पनी सँधै खराब हुन्छ भन्ने पनि हुँदैन् । परिवर्तनकालागि सँधै तयार रहनुहोस् ।

अन्त्यमा, सेयर बजारमाथि विजय प्राप्ति गर्नका लागि चाहिने थप अस्त्रहरुमा गहिरो अध्ययन, खारिएको अनुभव र कडा अनुशासन पनि हुन् । प्रत्येक कालो बादलमा चाँदीको घेरा भएजस्तै हरेक अत्यासलाग्दो डाउनट्रेण्डले भविष्यमा आउनसक्ने तीब्र उछालको संकेत गरेको हुन्छ । प्रश्न यतिमात्र हो कि के हामी त्यस किसिमको उछालमा तैरिनकालागि तयार छौं ?

(लेखक विकास के.सी. लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्)  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको