Like us!
Follow us!
Connect us!
Watch us!

पूँजीबजार सुधार आन्दोलन र दुबईका राजकुमारको नेपाल भ्रमण

विकास के.सी.

विकास के.सी

आइतबार, ०५ असार २०७९, २० : ३५ मा प्रकाशित

पूँजीबजार सुधार आन्दोलन र दुबईका राजकुमारको नेपाल भ्रमण

नेपालमा अहिले पूँजीबजारको सुधार सम्बन्धी विभिन्न १९ बुँदे माग सरकारसमक्ष राख्दै लगानीकर्ताहरु आन्दोलित छन् । पूँजीबजारको विकास र विस्तारकालागि भन्दै पूँजीबजार सुधार समितिका संयोजक तथा लगानीकर्ता तिलक कोईराला विगत पाँचदिनदेखि आमरण अनसनमा छन् । लगानीकर्ताहरु आफ्नो ज्यानसमेत जोखिममा राखेर नीतिगत सुधारका माग गर्दै सडकमा आउँदा सरकार र नियामक निकायहरु भने कानमा तेल हालेर बसेका छन् ।

उता, दुबईका राजकुमार शेख मोहम्मद मक्तोउम जुमाला मक्तोउम नेपाल भ्रमणको क्रममा छन् । उनले भ्रमणका क्रममा नेपालका मेडिकल कलेज संचालक दुर्गा प्रसाईंलाई सुनको लठ्ठी उपहार दिएको प्रसंग निकै चर्चामा छ । हेर्दा र सुन्दा सामान्य लाग्ने यो घटनाक्रमले लगानीको महत्व कति धेरै हुन्छ भन्ने विषयलाई उजागर गरेको छ । मरुभूमी र बालुवै बालुवाको देश दुबईले प्रगति गर्नुका कारण खोज्न धेरै टाढा जानुपर्दैन । दुबईका राजकुमारको यही भ्रमणलाई हेरे पुग्छ । संसारभरका लगानीकर्ताको रोजाईमा पर्ने मुलुक दुबईले नेपालबाट आफ्नो देशमा भित्रन सक्ने लगानीको कदर गरेको प्रसंग उदाहरणिय र अनुकरणिय छ ।

विश्वका विकसित र विकासोन्मुख मुलुकहरुले आ–आफ्ना देशमा वैदेशिक लगानीको वातावरण बनाउन कसरत गर्दैगर्दा नेपाल भने आफ्नै देशभित्रका लगानीकर्ताहरु लगानीको वातावरण बनाईदेऊ भन्दै चिच्याउँदा मौन देखिन्छ । आफ्ना देशभित्र छरिएर रहेका लगानीको संरक्षण समेत गर्न नसक्ने सरकार र उसका तालुकदार निकायहरुबाट नेपालले वैदेशिक लगानी भित्र्याउने परिकल्पना समेत नगर्दा हुन्छ । लगानीकर्ताहरुको घाँटी अठ्याएर समृद्ध नेपाल बनाउँछौं भन्ने राजनीतिक दलका नेताहरु र उनीहरुका आदेश पालना गर्ने नेपालको भ्रष्ट कर्मचारीतन्त्र बेलैमा सजग भएन भने नेपालको अर्थतन्त्र धरासायी हुन पक्कै पनि धेरै समय लाग्नेछैन् । 

त्यसो त पूँजीबजारलाई हेलाको दृष्टिकोणले हेर्ने नेपालका राजनैतिक र कर्मचारीबृत्तको पुरानै शैली हो । आफूलाई निकै विद्वान ठान्ने तत्कालिन नेकपा माओवादीका अर्थमन्त्री बाबुराम भट्टराई देखि लिएर नेकपा एमालेकातर्फबाट टिका लगाएर अर्थमन्त्री बनेको युवराज खतिवडालगायतका प्रबृत्ति बोकेका मानिसहरुले नेपालको पूँजीबजारलाई निरन्तर प्रहार गरिनैरहे । अझ भन्नुपर्दा वर्गसंघर्षको झुठो नारा बोकेका केही माओवादी सम्भ्रान्त नेताहरु र तिनका कार्यकालमा नेपाल राष्ट्र बैंकको गभर्नर पद सम्हालेका पात्रहरुको पूँजीबजारप्रतिको वितृष्णा अझै मरेको छैन् । उनीहरुको पूँजीबजारप्रतिको विषवमन अझै जारी छ । 

संसारका शिर्ष नेतृत्वहरु लगानी प्रोत्साहन गर्न स्वदेशकामात्र नभएर विदेशका लगानीकर्ताको समेत दैलो धाईरहँदा नेपालका राजनीतिक नेतृत्व भने देशभित्रकै लगानीकर्ताको जायज मागहरु सम्बोधन गर्न तत्पर देखिँदैनन् । 

अकर्मण्य नेपाल धितोपत्र बोर्डः
देशकै धितोपत्र बजारको ठेक्का लिएर बसेको नेपालको सरकारी संस्था नेपाल धितोपत्र बोर्ड (सेबोन) नीतिगत भ्रष्टाचारको अखडा बनेको छ । लगानीकर्ताले तिरेको कमिशनबाट चलेको यो संस्था लगानीकर्ताको हकहित संरक्षणमा भन्दा आफ्नो अभिष्ठमात्र पुरा गर्न तल्लिन देखिन्छ । आफैले संचालन तथा नियमन गरेको पूँजीबजारलाई “सट्टाबजार” भन्न समेत पछि नपर्ने सेबोनको अस्तित्वमाथिनै यतिबेला प्रश्नचिन्ह खडा भएको छ । लाखौं लगानीकर्ता घरबारविहिन हुने स्थिति भएकोबेला आफ्नै नियमनभित्र रहेको पूँजीबजारलाई “सट्टाबजार” भनी सेबोनले नेपालमा लगानीको र दोस्रो बजारको गरिमामा आँच पुर्याउने काम गरेको छ । बुक विल्डिङ प्रविधि, टिएमएस संचालन, ब्रोकर संख्या थप, मार्जिन लेन्डिङ, बजार विविधिकरण, आदी सबैमा कमिशनको खेल हुने कुरा त तत्कालिन सेबोन प्रमुख भिष्मराज ढुङ्गाना प्रकरणबाट छर्लङ्ग भएकै छ । लगानीकर्ताको नुनको सोझो समेत गर्न नसक्ने सेबोनलाई नेपाल सरकारले तत्काल खारेजीको प्रकृयामा लानुपर्ने देखिन्छ । आमलगानीकर्ता उसको ढोकै अगाडी भोकभोकै छट्पदिँदा तिनै लगानीकर्ताहरुले तिरेको कमिशनले सेबोन प्रमुखभने विदेश भ्रमण र विदेशी भोजनमा ब्यस्त रहेको छन् । यो हामी सम्पूर्ण लगानीकर्ताहरुका लागि विडम्बना हो । 

लाचार नेपाल स्टक एक्सचेन्जः
नेपाल स्टक एक्सचेन्ज (नेप्से) सरकारी स्वामित्वको संस्था भएकाले लाचार देखिन्छ । सेबोनको एउटा शाखा कार्यालय समेतको हैसियत नभएको नेप्सेबाट आमलगानीकर्ताले बजार सुधार र विस्तारको अपेक्षा राख्नु मुर्खता हुनआउँछ । लगानीकर्ताको कारोबारबाट कमिसन लिनु र सूचिकृत कम्पनीहरुबाट वार्षिक शुल्क असुल्नु नै नेप्सेको प्रमुख कार्य बन्न गएको छ । सेबोनको सामान्य कारिन्दाको हैसियत भएको यो संस्थालाई तत्काल खारेजी वा निजिकरण गरी आमलगानीकर्तालाई न्याय दिलाउनुपर्ने देखिन्छ । 

हस्तक्षेपकारी नेपाल राष्ट्र बैंकः
नेपालको केन्द्रिय बैंक यतिबेला पूँजीबजारको नियामक बनेको छ । समग्र देशको अर्थव्यवस्था तथा मुद्राबजार हेर्ने यो निकाय अहिले आफ्नो अस्थिर नीतिका कारण विवादास्पद बनेको छ । केन्द्रिय बैंकले आमलगानीकर्ताको हितका लागि भन्दै ल्याएको नीति नै अहिले उनीहरुको गलपासो बनेको छ । मिडियामा औपचारिक रुपमा वा ‘श्रोत’ का रुपमा केन्द्रिय बैंकका जिम्मेवार पदाधिकारीहरुले दिएको अभिव्यक्तिले पूँजीबजारको प्राकृतिक चाललाई भताभुङ्ग पारिदिएको छ । 

अलमलमा परेको अर्थमन्त्रालयः
पूँजीबजारको विकास र विस्तारकालागि मुख्य भुभिका निर्वाह गर्ने निकाय नेपाल सरकारको अर्थ मन्त्रालय अलमलमा परेको देखिन्छ । सार्वजनिक कार्यक्रममा पूँजीबजार सम्बन्धी धेरै कुरा आफूलाई थाहा नभएको भनि अभिव्यक्ति दिने अर्थमन्त्री जनार्दन शर्माले पचासौं लाख लगानीकर्ताको भावना जित्ने एक स्वर्णिम तथा ऐतिहासिक मौका गुमाउन गईरहेको देखिन्छ । नेपालका दुरदराजमा रहेका निम्न मध्यम वर्गिय जनतादेखि लिएर विदेशमा दिनरात परिश्रम गर्ने श्रमिकको पसिनाको कमाई रहेको यो बजारले उनको नेतृत्वको फैसला एकदिन अवश्य गर्नेछ ।  
अन्त्यमा, लगानी र लगानीकर्ताको कदर र सम्मान  नहुने देशमा आर्थिक क्रान्तिका नारा घन्काउनु राजनीतिक दल र तीनका नेताहरुको चुनावी प्रपोगाण्डा मात्रै हो भन्ने छर्लङ्ग भएको छ । लगानीकर्ताले आफ्नो लगानीको सुरक्षाको लागि गरेको आन्दोलन तथा आमरण अनसनलाई देशभित्रका साथै विदेशका लगानीकर्ताहरुले पक्कै पनि चासोकासाथ हेरेका होलान् । आन्दोलन र आमरणअनसनका क्रममा लगानीकर्ताको जिउधनको क्षति भयो भने त्यसको जवाफ नेपाल सरकार र सम्बन्धीत निकायले दिनुपर्ने हुन्छ ।

(लेखक विकास के.सी. लगानीकर्ता तथा विराटलक्ष्मी विकास बैंकका पूर्व संचालक हुन्) । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको