Like us!
Follow us!
Connect us!
Watch us!

टिएमएसमा गम्भिर त्रुटीः सिस्टमको गल्ती हर्जना तिर्दै लगानीकर्ता, जिम्मेवार को वाइको कि नेप्से ?

अर्थ संसार

विहीबार, २३ असार २०७९, १८ : ०८ मा प्रकाशित

टिएमएसमा गम्भिर त्रुटीः सिस्टमको गल्ती हर्जना तिर्दै लगानीकर्ता, जिम्मेवार को वाइको कि नेप्से  ?

बेला बेलामा ह्याङ्ग भैरहने, नचल्ने, बजार बढ्ने वा घट्ने जस्तो देखिएपछि कुनै ब्रोकरको चल्ने, कुनै ब्रोकरको नचल्ने लगायतका अनगिन्ति समस्या रहेको नेप्सेको ट्रेडिङ्ग म्यानेजमेन्ट सिस्टम (टिएमएस) मा अर्को एउटा गम्भीर समस्या देखिएको छ। मार्केट सेक्युरिटिज एक्सचेन्ज कम्पनी लिमिटेड (ब्रोकर नम्बर ५) बाट कारोबार गर्ने एक लगानीकर्ताको आफ्नो डिम्याट खातामा भएको भन्दा झन्डै दुई गुणा सेयर बिक्रि भएपछि उनी  क्लोजआउटको फाइन तिर्न वाध्य भएका छन्।

मिति २०७९/०३/२० मा HDHPC को १०९२ कित्ता सेयर एमकेटि (सबै कित्ता बजारमूल्यमा बिक्रि गर्ने आदेश) मा राखी बिक्रि गर्दा १६२ कित्ता मात्र बिक्रि भएको देखिई (पार्सियल ट्रेड) सो अर्डर क्यान्सिल गरी बाँकी रहेको ९३० कित्ता फेरी एमकेटिमै राखी बिक्रि गरेको। यसरी १६२ र ९३० कित्ता गरी जम्मा १०९२ कित्ता बिक्रि भएकोमा निज लगानीकर्तालाई २०२२ कित्ता सेयर बिक्रि भएको मेसेज आयो। आफ्नो डिम्याट खातामा भएको भन्दा बढी सेयर बिक्रि भएपछि ति लगानीकर्ताले तत्कालै ब्रोकरलाई सम्पर्क गरे। ब्रोकरले टिएमएस सिस्टमको समस्याका कारण खातामा भए भन्दा बढी सेयर बिक्रि भएको भन्दै सो कारोबार सच्च्याईदिन अनुरोध गर्दै नेप्सेलाई पत्र लेख्यो। सो पत्र लिएर ति लगानीकर्ता नेप्सेमा पुगे। रिसेप्सनमा उनले सो पत्र दर्ता गराए। रिसेप्सनका कर्मचारीले उनलाई कारोबार शाखामा जान सल्लाह दिए। कारोबार शाखाका कर्मचारीले उक्त समस्याको बारेमा टिएमएस सिस्टम विकास गरेको कम्पनी वाइकोलाई राम्ररी जानकारी हुने भन्दै वाइकोमा जान सल्लाह दिए। नेप्सेबाट वाइकोमा पुगेका उनलाई वाईकोले पनि दिनभरी कुरायो। आफ्ना एक कर्मचारीले घरबाटै काम गरिरहेको (वर्क फ्रम होम) भन्दै यो समस्या निज कर्मचारीले मात्रै समाधान गर्न सक्ने बताए। पछि निज कर्मचारीको घरमा बत्ति गएर काम हुन नसकेको भन्दै वाइकोले ति लगानीकर्तालाई फिर्ता पठाईदियो।  

कसरी सम्भव छ खातामा भएभन्दा बढी सेयर बिक्रि ?

नेपालमा शर्ट सेलिङ्गको अभ्यास छैन। आफ्नो खातामा नभएको सेयर बेच्न मिल्दैन। खातामा नभएको सेयरको सेल अर्डर राख्न खोजियो भने टिएमएसले सेल अर्डर लिनै मान्दैन। यस्तो व्यवस्था हुँदाहुदै कसरी खातामा भएभन्दा बढी सेयर बिक्रि भयो भन्ने निकै गम्भीर प्रश्न उठेको छ। यो विषयमा हामीले नेप्सेमा बुझ्दा कारोबार शाखा प्रमूख प्रविण पन्दाकले आफू १ हप्तादेखि बिदामा बसेको हुँदा खास के भएको हो जानकारी नभएको बताइन। यस्तो समस्या त न आउनुपर्ने भन्ने किसिमको निकै हल्का प्रतिक्रिया उनले दिएकि छिन। तपाईंहरुको सिस्टममा भएको खराबीक कारण लगानीकर्ताले क्लोज आउट बापतको फाइन तिर्नुपर्ने अवस्था आईसक्दा पनि किन यो विषयलाई हल्का रुपमा लिनुभएको भन्ने हाम्रो प्रश्नको ठोस जवाफ दिन नसकेकी उनले खास के भएको रहेछ भनेर पहिले आफूले बुझ्ने अनिमात्रै प्रतिक्रिया दिन सक्ने बताईन। 

टिएमएसमा बारम्बार समस्या आइरहँदा यस्तो किसिमको गम्भीर समस्या आउनुको कारण के हो र यसको जिम्मा कसले लिने भनेर वाइकोका प्रबन्ध निर्देशक दिपेश श्रेष्ठलाई सम्पर्क गर्दा उनले यस्ता समस्याहरु कहिलेकाहीं आउने गरेको स्वीकार गरे। ग्राहकले सेयर बिक्रि गरिसकेपछि  डिम्याटबाट सेयर ट्रान्सफर भैसक्दा पनि टिएमएसमा सेयर बिक्रि गरेको दुई दिनसम्म सो सेयर टिएमएस सिस्टममा रहीरहने हुँदा यस्तो समस्या आउने गरेको उनले बताए। आफू यो केशको बारेमा जानकार रहेको र ती लगानीकर्ता, सीडिएस र नेप्सेसंग छलफल गर्न तयार रहेको बताए।  

कसले दिने क्षतिपूर्ति ?

करौडौ रुपैयाँ खर्च गरेर बनाईएको टिएमएसमा रहेका कमजोरीका कारण लगानीकर्ताहरुले यस्ता समस्याहरु बारम्बार भोग्नु परिरहेको छ। यसरी आफ्नो खातामा भएभन्दा बढी सेयर बिक्रि हुँदा निज लगानीकर्ताले क्लोज आउट बापत २०% जरिवाना तिर्नुपर्ने अवस्था आएको छ। अर्को कुरा के छ भने एमकेटि अप्सनमा सेल अर्डर राखिएको सेयर कसरी पहिले सिस्टममा आंशिक मात्र बिक्रि भएको देखियो र पछि फेरी सेल अर्डर राख्न मिल्यो भन्ने प्रश्न निकै जटिल छ। यसले टिएमएसमा निकै ठूलो त्रुटी रहेको स्पष्ट पारेको छ। 

बजार घटेर घाटामा सेयर बिक्रि गर्नुको पिडा छँदै छ, हुँदा न खाँदाको क्लोजआउट फाइन पनि तिर्नुपर्दा ति लगानीकर्ता निकै आहत भएका छन्। नेप्से र वाईकोको गल्तिको सजाय लगानीकर्ताले व्यहोर्नुपर्ने हो र ? ति लगानीकर्तालाई भएको नोक्सानीको क्षतिपूर्ति कसले दिने ? आफ्नो समस्या  लिएर ब्रोकरमार्फत आधिकारिक पत्र लिएर नेप्सेमा पुगेका ति लगानीकर्ताको समस्या समाधान गरिदिनुको साटो कहिले यता र कहिले उता गराई दिन बिताईदिने नेप्सेका कर्मचारीलाई कारबाही गर्नु पर्छ कि पर्दैन ?                  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको