Like us!
Follow us!
Connect us!
Watch us!
नेपाल कुनै हालतमा श्रीलङ्का जस्ताे हुँदैन

‘बैंकहरुले ३–४ करोडको सम्पत्ति एक करोडमै बेचिदिएर ऋणीलाई सुकुम्बासी बनाए’

अर्थ संसार

सोमबार, २७ असार २०७९, १२ : १२ मा प्रकाशित

‘बैंकहरुले ३–४ करोडको सम्पत्ति एक करोडमै बेचिदिएर ऋणीलाई सुकुम्बासी बनाए’

नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दिपेन्द्र बहादुर क्षेत्रीले बैंकहरुले तरलता संकटका बहानामा ऋणीहरुको ३–४ करोडको सम्पती एक करोडमै बेचिदिएर उनीहरुलाई सुकुम्बासी बनाएको आरोप लगाएका छन् ।

अर्थसंसारसँगको कुराकानीमा क्षेत्रीले अहिले सबैले आफ्नो आफ्नो दुनो सोझ्याइरहेका बताएका छन् । ‘मूल्य वृद्धि भयो भनेर भोलि लौरो खानु नपरोस् भनेर गभर्नर अहिले देखिनै ब्याज बढ्छ भनेर लागिरहेका छन्, बैंकहरु हैन ब्याज बढाएर पनि निक्षेप बढ्दैन भने किन ब्याज बढाउने भनिरहेका छन् उनीहरु यही मौकामा तरलता संकटको बहानामा कर्जामा ब्याजदर बढाइरहेका छन्’ उनले भने ‘बैंकहरुले अहिले कतिसम्म गरिरहेका छन् भने ३–४ करोड पर्ने सम्पती एक कराडमै धितो लिलाम गरिदिएर ऋणीहरुलाई सुकुम्बासी बनाएका छन् ।’

अहिले राष्ट्र बैंकले नै ट्रेजरी बिलमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेकोले पनि अहिले धेरैले बैंकको मुद्दती खातामा भन्दा पनि ट्रेजरीमा लगानी गरिरहेको बताउँछन् उनी । ‘भोलि बैंकको फिक्सड डिपोजिटमा राखेको पैसा भनेको समयमा नआउन सक्छ भन्ने डर भयो तर ट्रेजरी बिलमा त सरकार ग्यारेन्टी भएको हुनाले यदि मसँग पैसा भएको भए मैलेपनि त्यसैमा पैसा हाल्थेँ’ क्षेत्रीले भने ।

आर्थिक रुपमा नेपाल अहिलेको अवस्थामा श्रीलंका जस्तो बन्न नसक्ने उनको दावी छ । ‘विभिन्न राजनितीक कारणले हाम्रो अवस्था युक्रेन वा श्रीलंकाको जस्तो हुन सक्ला तर आर्थिक रुपमा भने हामी कुनै पनि हालतमा त्यो अवस्थामा जान सक्दैनौँ’ उनले भने ‘नेताहरुले यदि गति छाडेर लुट्ने बेला यही हो भनेर लागे भने त त्यस्तो अवस्था नआउला पनि भन्न सकिन्न ।’

गभर्नरको ओहोदामा बसेर देश श्रीलंका जस्तो बन्छ भनेर भन्नु उचित नहुने बताउँछन् उनी । ‘सरकारले नीति निर्माण गर्ने, निर्णय लिने बेलामा आँखा चिम्लिदिने अनी एक दुई ठाँउबाट मात्र गर्दा केही नहुने रैछ भन्ने लागेर 'वार्न' गर्नका लागि गभर्नरले त्यस्तो बोलेको भए त केही सही मान्न पनि सकिएला तर यदि गलत नियतले त्यसो भनिएको भने त्यो ठिक हैन ।’ क्षेत्रीले भने ।

गभर्नरको मुख्य दायित्व महँगी नियन्त्रण गर्नुपर्ने भएकाले पनि अहिले गभर्नर निरन्तर ब्याज वृद्धिको पक्षमा लागिरहेको हुनसक्ने उनको तर्क छ । ‘यदि राष्ट्र बैंकले असार पछि तथ्याङ्क ल्यायो भने मूल्य वृद्धि दोहोरो अंकको भएको छ, बजारमा सबै वस्तुहरुको मूल्य वृद्धि भएको छ केहि छोइ नसक्ने अवस्थामा छ’ उनले भने ‘हामीलाई सानैदेखि पढाएको अनि विश्वले नै मानी आएको महँगी नियन्त्रणको उपाय भनेको त ब्याजदर बढाउने पनि हो, मान्छेले आफूले मेहनत गरेर कमाएको पैसा बैंकमा राख्दा राम्रो ब्याज आँउछ भन्ने लोभले पनि मानिसले कम खर्च गर्छ उसले खर्च कम गरेर बचाएको पैसा बैंक मार्फत अर्को व्यक्तिमा जान्छ र उसले त्यो पैसा व्यवसायमा लगाँउदा उत्पादकत्व बढ्छ भन्ने अनुमान गरिन्छ ।’     
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको