Like us!
Follow us!
Connect us!
Watch us!
ब्याजदर र मुद्रास्फीति बढ्दैमा बजार घट्ने होइन रहेछ भन्ने प्रमाणित

मुद्रास्फीति ७८%, रिपो रेट १४% हुँदा पनि घटेन टर्कीको सेयर बजार, दुई वर्षमा २१५% ले बढ्यो

बसन्त पाण्डे

विहीबार, १२ साउन २०७९, १० : २६ मा प्रकाशित

मुद्रास्फीति ७८%, रिपो रेट १४% हुँदा पनि घटेन टर्कीको सेयर बजार, दुई वर्षमा २१५% ले बढ्यो

नेपाल राष्ट्र बैंकले केहि दिनअघि तुलनात्मक रुपमा कसिलो मौद्रिक नीति सार्वजनिक गरेपछि आगामी दिनमा तरलताको अवस्था अझ संकुचित भई बैंक ब्याजदर थप बढ्न सक्ने प्रक्षेपण जानकारहरुले गरेका छन्। राष्ट्र बैंकले यसअघि ७% कायम गरिएको बैंकदर बढाएर ८.५% र ३% मा रहेको सीआरआर बढाएर ४% पुर्याईसकेपछी केहि हदसम्म ब्याजदर बढ्नसक्ने नै देखिन्छ। राष्ट्र बैंकको प्रमूख उद्देश्य बढ्दै गएको महंगीलाई नियन्त्रण गर्नु रहेको देखिएको छ। बजारमा क्यास फ्लो कम भएपछि त्यसले महंगी नियन्त्रणमा सहयोग पुर्याउने विश्वाश राष्ट्र बैंकको रहेको छ। 

त्यस्तै राष्ट्र बैंकले केहि दिनअघि सार्वजनिक गरेको एउटा सर्वेक्षण अनुसार आगामी तिन महिनामा औसत मुद्रास्फीति १४% पुग्नसक्ने सार्वजनिक भएपछी यो पनि अर्को चर्चाको विषय बनेको छ। 

विशेषगरी ब्याजदर र मुद्रास्फीति बढ्दा त्यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्ने विश्लेषण प्राय: बजार बजार जानकारहरुले गरेको देखिन्छ। हुन पनि नेपालमा ब्याजदर बढ्दा सेयर बजार घट्ने र ब्याजदर घट्दा सेयर बजार बढ्ने गरेको ईतिहास छ। सेयर बजारलाई प्रभावित पार्ने तत्वहरुमध्ये ब्याजदर पनि एउटा प्रमूख तत्व हो तर ब्याजदरले मात्रै बजारलाई ड्राइभ गर्ने होइन रहेछ भन्ने कुरा विश्वका कतिपय सेयर बजारहरुले प्रमाणित गरेका छन्। उदाहरणको लागि टर्कीमा मुद्रास्फीति निकै बढेको छ, ब्याजदर पनि निकै उच्च छ तर त्यहाँको सेयर बजार निरन्तर अपट्रेन्डमा छ।

 टर्कीको सेयर बजार

द बोर्सा इस्तानबुल सेक्युरिटिज टर्कीको एकमात्र स्टक एक्सचेन्ज हो। सन् २०१८ देखि नै टर्कीमा महंगी बढ्दै गएको थियो र लिरामा अवमूल्यन आउन सुरु भएको थियो। सन् २०१८ देखि २०२० सम्म टर्कीको सेयर बजार साइड्वेज ट्रेन्डमा गयो। बजार बढ्दा १२०० सम्म पुग्ने र घट्दा ८५० सम्म आउने क्रम त्यो दुई बर्षको अवधिमा बारम्बार दोहोरियो। कोभिड १९ को असर विश्वव्यापी रुपमा देखिन थालेपछि विश्वभरिकै सेयर बजारमा शार्प फल आयो। सो क्रममा टर्कीको बजार पनि ८४० को बिन्दुसम्म घट्यो र त्यसपछि टर्कीको सेयर बजार निरन्तर बुलिश ट्रेण्डमा छ। 

सन् २०२२ को सुरुवातमा २२०० को हाराहारीमा रहेको बजार २०२२ को जुन ३ मा २६५३ सम्म पुग्यो। यो आलेख तयार पार्दाको अवस्थामा टर्कीको बजार इन्डेक्स २५४४ को बिन्दुमा छ। बजार बढ्ने क्रम जारी छ र छिटै नै यसअघिको हाई २६५३ को बिन्दुलाई क्रस गर्ने सम्भावना रहेको विश्लेषणहरु हुन थालेका छन्। 

सन् २०२० को मार्चमा टर्कीको सेयर बजार परिसूचक ८४० अंकमा थियो र दुई वर्षको अवधिमा यो  करिब २१५% ले बढेर २६५३ सम्म पुगेको देखिन्छ। अझै पनि त्यहाँको बजार बढ्ने सम्भावना छ भन्ने विश्लेषण भैरहेको छ। नेपालको कुरा गर्ने हो भने दुई वर्षको अवधिमा यहाँको बजार करिब १८०% ले बढेर फेरी आफ्नो उचाईबाट ४४% ले घटी अहिले फेरी बढ्दो ट्रेन्डमा गएको देखिन्छ। 

टर्कीको अर्थतन्त्रको अवस्था

टर्किश मुद्रा लिराको भ्यालु अचाक्ली घटेको छ। सन् २०२० मा ७ लिरा बराबर १ डलर थियो तर अहिले १ अमेरिकी डलर पाउन १७ लिरा तिर्नुपर्ने भैसकेको छ। दुई वर्षको अन्तरालमा लिरामा १२४% को अवमूल्यन भएको छ। लिरामा भारी अवमूल्यन हुँदा आम जनताको क्रयशक्ति व्हात्तै घटेको छ। यसले मुद्रास्फीतिलाई उचाईमा पुर्याएको छ। १ वर्षको अवधिमा मुद्रास्फीति १७% बाट बढेर ७८% पुगिसकेको छ। सन् २०२१ को जुन महिनामा त्यहाँ मुद्रास्फीति १७% ले बढेको थियो भने सन् २०२२ को जुन महिनासम्म आईपुग्दा मुद्रास्फीति ७८% पुगेको छ। टर्कीमा दैनिक उपभोग्य सामानहरुको मूल्य आकाशिएको छ। 

सन् २०१८ देखि नै टर्कीको अर्थतन्त्रमा समस्या देखिन थालेको थियो। महँगी निकै बढ्न थालेपछि त्यहाँको केन्द्रिय बैंकले ब्याजदर बढाउने नीति अख्तियार गर्यो। केन्द्रिय बैंकले छोटो समयका लागि बैंकहरुलाई दिने ऋणको ब्याजदर २०% भन्दा माथि पुर्यायो। त्यतिबेला मुद्रास्फीति ४८% भन्दा धेरैले बढीसकेको थियो। तर टर्कीका राष्ट्रपती रिचेप तैइप आर्दोगानको दवावमा केन्द्रिय बैंकले रिपो रेट ५% को हाराहारीमा घटाउने नीति अख्तियार गर्यो। राष्ट्रपति आर्दोगान ब्याजदर बढ्दा आर्थिक वृद्धि रोकिने, बेरोजगारी बढ्ने, व्यापार व्यवसायमा मन्दी आउने भन्दै ब्याजदर सकेसम्म तल्लो लेभलमै राख्नुपर्ने पक्षमा छन्। राष्ट्रपतीको चाहनाअनुसार टर्कीको केन्द्रिय बैंकले २०% माथि पुर्याईएको रिपो रेट १४% मा झार्यो। एक साता अघि केन्द्रिय बैंक मोनिटरि पोलिसी कमिटिले सार्वजनिक गरेको प्रेस रिलिजमा पनि पोलिसी रेट (एक हप्ते रिपो अक्सन रेट) १४% मै राखिएको उल्लेख गरिएको छ। 

अधिकांश अर्थाशाश्त्रीहरु आकाशिएको महंगीलाई नियन्त्रण गर्न ब्याजदर बढाउनुपर्ने पक्षमा भएतापनि आर्दोगान भने बरु श्रमिकहरुको तलब सुविधा बढाएर उनीहरुलाई बढ्दो महंगीसँग जुध्नसक्ने बनाउनुपर्ने तर ब्याजदर बढाउनु नहुने पक्षमा छन्। शक्तिशाली राष्ट्रपति आर्दोगानले आफ्नो सिध्दान्त विपरित राय राख्ने ३ जना केन्द्रिय बैंकका गभर्नरहरुलाई बर्खास्त गरिसकेका छन्।

टर्कीको कुल जनसंख्या करिब ८.५ करोड रहेको छ। रिचेप तईप अर्दोगान टर्कीका राष्ट्रपति हुन्। उनी सन् २००१ मा टर्कीको प्रधानमन्त्री चुनिएका थिए। त्यसपछि उनी लगातार सत्तामा छन् र झन् झन् शक्तिशाली बन्दै गएका छन्। २०२३ मा टर्कीमा चुनाव हुँदैछ। सो चुनावमा लोकप्रिय मत ल्याएर जित्ने आफ्नो रणनीति अनुरुप अर्दोगान ब्याजदर बढाउन चाहदैनन्।

नेपालमा अहिले खुद्रा मुद्रास्फीति ८% को हाराहारीमा रहेको अनुमान गरिन्छ। जबकी टर्कीमा ७८% को मुद्रास्फीति छ। त्यस्तै राष्ट्र बैंकले भर्खरै बैंकदर ८.५% पुर्याएको छ, टर्कीमा त्यस्तो रेट १४% छ। टर्कीका अधिकांश बैंकहरुले डिपोजिटको ब्याजदर २०% पुर्याएका छन्, नेपालमा मुद्दती निक्षेपमा कमर्सियल बैंकहरुले ११% र विकास बैंकहरुले १२% ब्याजदर पुर्याएका छन।

यसरी टर्कीमा मुद्रास्फीति निकै उच्चस्तरमा हुँदै गर्दा र डिपोजिटमा २०% भन्दा बढी ब्याजदर पाउने अवस्था हुँदाहुदै पनि त्यहाँको सेयर बजार सन् २०२० देखि नै बढ्दो ट्रेन्डमा रहनुले ब्याजदर र मुद्रास्फीति मात्रै सेयर बजारलाई प्रभावित पार्ने कारक तत्व नरहेको बरु लगानीकर्ताहरुको बजार प्रतिको दृष्टिकोण सबैभन्दा महत्वपूर्ण तत्व रहेको स्पष्ट पारेको छ। 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको