Like us!
Follow us!
Connect us!
Watch us!

किन बढ्दैछ सेयर कारोबार रकम ? ठूला व्यापारीहरु बजार छिरेकै हुन् त ?

बसन्त पाण्डे

मंगलबार, १७ साउन २०७९, १० : १४ मा प्रकाशित

किन बढ्दैछ सेयर कारोबार रकम ? ठूला व्यापारीहरु बजार छिरेकै हुन् त ?

कोभिड १९ लक्डाउनले विश्वभरी नै अनलाइन  व्यापारको क्षेत्रमा रिभोलुसन त ल्यायो नै; सेयर बजारलाई पनि धेरैसंग परिचित गराईदियो। कोभिड लक्डाउनका बेला विश्वभरिकै सेयर बजारमा रौनकता छायो। नेपालको सन्धर्भमा कुरा गर्दा ११०० को हाराहारीमा रहेको बजार छोटो समयमै उच्च अंकले बढ्यो। कोभिड अघि ५/६ लाखमा सिमित डिम्याट संख्या व्हात्तै बढेर ४० लाख माथि पुग्यो र अहिले ५२ लाख नाघिसकेको छ। यो क्रममा बजारमा साधारण र थोरै पैसा भएका व्यक्तिहरुमात्र बजारमा छिरेनन, धेरै मझौला तथा ठूला व्यापारीहरुले पनि सेयर बजारको स्वाद चाखे। व्यापार व्यवसाय ठप्प भएपनि व्यापारबाट कमाइनेभन्दा कैयौं गुणा बढी सेयरबाट कमाएका उनीहरु कोभिडको असर कम भएर साधारण अवस्थामा आउने देखिएपछि बजारबाट बाहिरिएका थिए। अहिले फेरी अधिकांश व्यापारीहरुको व्यापारमा सुस्तता आएको छ। नेपालमा ८०% भन्दा बढी आयातमा आधारित व्यापार गरिने गरिन्छ। वैदेशिक मुद्रा संचिति घट्दै गएको भन्दै सरकारले आयातमा कडाइ गरेपछि व्यापारीहरु मर्कामा परेका छन्। हुनत भारतसंग खुल्ला सिमाना रहेका कारण आयातमा जति नै कडाई गरेपनी चोरी पैठारीमार्फत नेपालमा सामान भित्रिएकै छन् तर कतिपय वैधानिक च्यानलबाटै आउनुपर्ने गाडी/मोटरसाइकल जस्ता सामग्रीहरुको आयात गरेर व्यापार गर्नेहरुलाई भने अहिले साच्चिकै समस्या परेको छ।  

बैंकको ब्याजदर बढ्दो छ। झन् आयातमा मार्जिन राख्नुपर्ने व्यवस्थाले आयातलाइ थप महँगो बनाईदिएको छ। यता बिक्रि पनि घट्दो छ। महंगीका कारण आम नेपालीहरुको क्रयशक्ति घट्दा सवारी साधनहरुको मागमा उच्च गिरावट आएको छ। निकै उच्च रुपमा बढेको पेट्रोलियम पदार्थको मूल्यले सवारी साधन खरिद गर्ने योजना बनाएर बसेकाहरुलाई पनि सोच्न बाध्य बनाएको छ। 

बिपिन एक विद्यार्थी हुन्। उनी बिहान क्याम्पस पढ्न जान्छन र दिउँसो एक प्राइभेट कम्पनीमा काम गर्छन। उनी कलेज र अफिस आवत/जावतका लागि सार्वजनिक सवारी साधनको प्रयोग गर्ने गर्दछन। सार्वजनिक सवारी साधन प्रयोग गर्दा असुविधा भएपछि उनी एउटा मोटरसाईकल किन्ने योजना बनाईरहेका थिए र त्यसको लागि बचत गरिरहेका थिए। तर उनले किन्न खोजेको मोटरसाईकलको मूल्य व्हात्तै बढेपछि उनी तत्काललाई मोटरसाइकल नकिन्ने निष्कर्षमा पुगेका छन्। 'उता पेट्रोलको मूल्य पनि निकै बढेको छ, आफ्नो तलब बढेको होइन, महंगीले खर्च बढेको बढ्यै छ। अब मोटरसाईकल चढ्न नसकिने भईयो', उनी दिक्दारीए। 

अहिले बिपिन जस्ता धेरैले सवारी साधन किन्ने योजनालाई थाती राखेका छन्। बैंक /वित्तिय संस्थाहरुले हायर/पर्चेज कर्जामा कडाई गरेपछि गाडी किन्ने योजना बनाएका धेरैले सो योजनालाई पनि थाती राखेका छन्। विशेषत: महंगी निकै बढेका कारण सबैको खर्च बढेको छ तर आम्दानी बढ्न सकेको छैन। यसले अटोमोबाइल्सको मागमा निकै कमी आएको छ। बजाज मोटरसाइकलको शोरुम चलाउने एकजना व्यापारीका अनुसार अहिले गतवर्षको तुलनामा ४०% ले सेल्स घटेको छ। अहिले नयाँ मोटरसाईकल किन्छु भनेर बसेकाहरु पनि बरु पुराना सस्ता मोटरसाईकल खोज्न थालेको उनी बताउँछन्।  

सम्भावित ग्राहकहरुको क्रयशक्ति घटेका कारण यो वर्ष अघिल्लो वर्षको तुलनामा ३० देखि ४० प्रतिशत सेल्स घट्ने अनुमान सहितको प्रतिवेदन म्यानेजरहरुले बुझाउन थालेपछि अटोमोबाइल्स व्यवसायीहरु चिन्तित बनेका हुन्। 

यो अवस्थामा उनीहरुले सेयर बजारलाई विकल्पको रुपमा लिएको देखिएको छ। सेयर बजारलाई नजिकबाट नियालिरहेका उनीहरु साउन लाग्ने बित्तिकै अब सेयरबजार कमाउन सकिएला कि नसकिएला भनेर ब्रोकर, प्राविधिक विश्लेषक तथा मर्चेन्ट बैंकरहरुसंग परामर्शमा लागेको एक मर्चेन्ट बैंकर बताउँछन। बजार निकै सस्तो भएको, ४/१२ लगाएत अन्य वाध्यात्मक बिक्रि गर्नुपर्ने प्रेसर नरहेको हुँदा बजारमा पैसा आयो भने बजार ५/७ सय अंक आरामले बढ्ने सल्लाह आफूले दिएको बताउने ती पोर्टफोलियो व्यवस्थापक केहि व्यापारीहरुको ठूलो पोर्टफोलियो आफूले पनि सम्हालीरहेको बताउँछन।  

अहिले बजारमा कारोबार रकम बढ्नुको कारण पनि त्यहि भएको एक टप ब्रोकरका संचालकले अर्थसंसारलाई बताए। 'अहिले बजारमा व्यापारीहरुको पैसा आएको छ। व्यापारमा मन्दी छ, सेयर बजार घटेर निकै तल आएको अहिलेको अवस्थामा बजार २५०० सम्म जानसक्ने आंकलन गरेर व्यापारीहरु बजारमा छिरेका हुन्', उनले बताए।  

अटोमोबाइल्समात्र नभएर अन्य थुपै क्षेत्रमा अहिले व्यापार निकै मन्द छ। माथि अटोमोबाइल्स क्षेत्रलाई उदाहरणको रुपमा मात्रै पेश गरिएको हो। अलि अलि हुने बिक्रि पनि उधारोमा हुने र उधारो उठ्न लामो समय लाग्ने भएपछी व्यापारीहरु दिक्क बनेका हुन्।  

केहि अघिसम्म १ अर्बको हाराहारीमा खुम्चिएको सेयर कारोबार बढेर निरन्तर ४ अर्बमाथिको कारोबार हुनुको रहस्य पनि यहि भएको बजार जानकारहरु बताउँछन। घरजगाको कारोबार ठप्प हुनु, आयातजन्य व्यापार गर्न निकै असहज परिस्थिति बन्नु, ग्राहकहरुको क्रयशक्ति घटेका कारण व्यापार निकै मन्द हुँदै जानु जस्ता कारणहरुले वाक्क दिक्क भएका व्यापारीहरुले सेयर कारोबारलाई सहज पैसा बनाउन सकिने क्षेत्रको रुपमा लिँदा बजारमा रौनकता छाउँदै गएको हो। भर्खरै राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीतिमा पनि अन्य क्षेत्रको तुलनामा सेयर बजारलाई केहि सहजता प्रदान गर्ने प्रयास गरिएको हुँदा त्यसले पनि लगानीकर्ताहरुको मनोविज्ञानमा सकारात्मक प्रभाव पारेको हो। 

सेयर बजारमा पैसा छिर्दै जाँदा बजार बढ्ने गर्दछ भने बजारबाट पैसा बहिरिन थालेपछि बजार घट्ने गर्दछ। यसअघि बजार ३२०० को आसपास पुग्दा बजारबाट पैसा बाहिरिन थालेको थियो भने अहिले बिस्तारै ठूलो पैसा बजारमा छिर्दैछ। ठूलो पैसाले सानो पैसाको दिशा निर्देशित गर्ने हुँदा ठूलो पैसा लगाउनेहरु बाहिरिन थालेपछि मात्र बजार घट्ने गर्दछ। बजारमा ठूलो पैसा छिर्दै गरेको अहिलेको अवस्थामा लगानीकर्ताहरुले चनाखो भएर ठूलो पैसाको मुभ अनुसार आफ्नो रणनीति बनाउन सके राम्रै हुने देखिन्छ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको