Like us!
Follow us!
Connect us!
Watch us!

शिवम् सिमेन्टमा इन्साइडर ट्रेडिङ्ग; वित्तिय विवरणमा जालझेलको गन्ध !

बसन्त पाण्डे

मंगलबार, ३१ साउन २०७९, १७ : ५३ मा प्रकाशित

शिवम् सिमेन्टमा इन्साइडर ट्रेडिङ्ग; वित्तिय विवरणमा जालझेलको गन्ध !

शिवम सिमेन्टले हिजो सोमबार आर्थिक वर्ष २०७८/७९ को अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ। अघिल्लो आर्थिक वर्षमा १ अर्ब ४१ करोडभन्दा बढी खुद नाफा कमाएको कम्पनीको नाफा यो वर्ष स्वाट्टै घटेर ६८ करोड रुपैयाँमा सिमित भएको छ। गत वर्षको तुलनामा खुद नाफा ५१% भन्दा धेरैले घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी पनि ३१ रुपैयाँ ६८ पैसाबाट घटेर १५ रुपैयाँ ६७ पैसामा झरेको छ। पछिल्लो समय कम्पनीको सेयरप्रति लगानीकर्ताहरुको उच्च आकर्षण हुँदा हुँदै पनि सेयरमूल्य उच्च रुपमा घट्नु, शिवमको व्यापार बढेको व्यापक प्रचार प्रसार हुनु तर सोहि बिचमा प्रोमोटरहरु धमाधम सेयर बेचेर बाहिरिनु अनि नाफा र प्रति सेयर आम्दानी उच्च रुपमा घटेको वित्तिय विवरण आउनुले प्रोमोटरहरुले निकै सुनियोजित रुपमा सेयर बेचेर बाहिरिने योजना बनाएको स्पष्ट देखिएको छ। 

सेयर बेचेर बाहिरिदै शिवम सिमेन्टका प्रमोटर 

गत फाल्गुन २२ बाट शिवम सिमेन्टको ३ करोड ८५ लाख कित्ता प्रोमोटर सेयरको लक् इन पिरियड खुलेको थियो। लक् इन पिरियड खुलेर सेयर बिक्रियोग्य भएसंगै शिवममा सेलिङ्ग प्रेसर देखिएको थियो। लक् इन खुल्दाको बखत रु ११०० को आसपासमा रहेको सेयर मूल्य  आजको दिनसम्म आइपुग्दा ६७३ रुपैयाँमा आइपुगेको छ। लक् इन पिरियड खुलिसकेपछिको ५ महिनाको अवधिमा नेप्सेमा सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचीमा शिवम शिर्ष स्थानमा छ। यो बिचमा प्रोमोटरहरुले ४० लाख भन्दा बढी कित्ता सेयर बिक्रि गरेको अनुमान गरिएको छ।  

इन्साइडर ट्रेडिङ्ग 

बजार बढ्दो ट्रेन्डमा जानसक्ने संकेत देखिँदा देखिँदै पनि शिवमका प्रमोटरहरु दनादन सेयर बेचिरहेका थिए। सर्वसाधारण लगानीकर्ताहरु शिवमको सेयर प्रति आकर्षित देखिन्थे र उनीहरु खरिद चाप बढाइरहेका थिए भने प्रमोटरहरु बिक्रितर्फ नै केन्द्रित थिए। लगानीकर्ताहरुमा आकर्षण पैदा गर्न कम्पनीको सेल्स निकै राम्रो रहेको र कम्पनीले ११ करोड बोरा सिमेन्ट बिक्रि गरेको चर्चा परिचर्चा गरियो। त्यस्तै आर्थिक वर्ष २०७९/०८० को बजेटमा सरकारले सिमेन्ट, फुटवेयर लगायत निर्यातको सम्भावना बोकेका  उत्पादनहरु निर्यात बिक्रि गर्दा नगद अनुदान दिने योजना ल्याएसंगै शिवमले भारतमा ठूलो परिमाणमा सिमेन्ट बिक्रि गरेको भन्ने कुरालाई पनि निकै हाईलाइट गरेर मिडियाबाजी गरियो। आफ्नो कम्पनीले राम्रो पर्फर्मेन्स गरिरहेको र राम्रो वित्तिय विवरण आउन सक्ने मिडियाबाजी गरी आम लगानीकर्ताहरुलाई कम्पनीको सेयरप्रति आकर्षित गर्ने काम गरियो।  

आफ्नो वित्तिय विवरण निकै नराम्रो आउने र वित्तिय विवरण प्रकाशित भएपछि सेयर मूल्य थप घट्ने देखिएपछि प्रोमोटरहरुले माथि माथि नै सेयर बेचेका हुन्। कम्पनीको कुनै महत्वपूर्ण सूचना वा जानकारीले सो कम्पनीको सेयरमूल्यलाई प्रभावित पार्न सक्ने अवस्थामा सो सूचना वा जानकारी आम सर्वसाधारणमाझ प्रकाशित हुनुअघि नै सो सूचना प्राप्त गर्ने व्यक्ति वा संस्थाले सो कम्पनीको सेयर खरिद वा बिक्रि गर्ने कार्यलाई इन्साइडर ट्रेडिङ्ग भनिन्छ। शिवमको नाफा ५१% ले खस्किएको वित्तिय विवरण प्रकाशित हुने भएपछी उच्च मात्रामा माथिल्लो मूल्यमा सेयर बिक्रि गर्दै प्रोमोटरहरुले इन्साइडर ट्रेडिङ्ग गरेर प्रष्टै देखिएको छ। 

वित्तिय विवरणमा म्यानुपुलेसन 

कम्पनीको वित्तिय विवरणमा पनि म्यानुपुलेसन गर्न खोजिएको जस्तो देखिएको छ। कम्पनीले अन्य खर्च शिर्षक अन्तर्गत गरेको खर्च गत वर्षको तुलनामा अस्वाभाविक रुपमा बढेको छ। अन्य खर्च शिर्षकमा कम्पनीको खर्च गत वर्षको तुलनामा ३७ करोड रुपैयाँले बढेको छ। गत वर्षको असार मसान्तसम्ममा यो शिर्षकमा ७१ करोड ८६ लाख रुपैंयाँ खर्च गरेको कम्पनीले यो वर्ष १ अर्ब ८ करोड रुपैयाँ खर्च गरेको छ। त्यस्तै उर्जा तथा विद्युत शिर्षकमा पनि कम्पनीको खर्च निकै बढेको छ। गत वर्ष उर्जा तथा विद्युत शिर्षकमा २ अर्ब १० करोड खर्च गरेको शिवमको सो शिर्षकको खर्च यस वर्ष बढेर २ अर्ब ४४ करोड रुपैंया पुगेको छ। गत वर्षभन्दा ३४ करोड रुपैंया भन्दा बढी रकम यहि शिर्षकमा खर्च भएको छ। 

कम्पनीको संचालन आम्दानी पनि गत वर्षको तुलनामा यो वर्ष घटेको छ। गत वर्ष ९ अर्ब ६१ करोड रुपैयाँ संचालन आम्दानी गरेको शिवमले आर्थिक वर्ष ०७८/७९ मा ९ अर्ब २६ रुपैयाँ बराबरको बिक्रि आम्दानी गरेको छ जुन गत वर्षको तुलनामा ३५ करोड रुपैयाँले कम हो। यता कम्पनीको अन्य आम्दानी शिर्षकमा भने निकै वृद्धि भएको छ। आर्थिक वर्ष ०७७/०७८ मा ४ करोड ५२ लाख रुपैयाँ अन्य आम्दानी गरेको शिवमले आर्थिक वर्ष ०७८/७९ मा १९ करोड रुपैयाँ अन्य आम्दानी शिर्षकबाट आम्दानी गरेको देखिएको छ।  

पछिल्लो समय पेट्रोलियम पदार्थमा भएको उच्च मूल्य वृद्धिका कारण उर्जा तथा विधुत् शिर्षक तर्फको खर्च बढेको बताउँछन् शिवमका कम्पनी सचिव। बिचमा २ महिनाजति विधुत् प्राधिकरणले पर्याप्त बिजुली नदिएका कारण जेनेरेटर चलाउनु परेकाले पनि   उच्च रुपमा डिजेलको खपत भएको र त्यसले खर्च निकै बढाएको उनले बताए।  त्यस्तै आर्थिक वर्ष २०७८/०७९ मा गत आर्थिक वर्षभन्दा कम मूल्यमा सिमेन्ट बेच्नुपरेका कारण बिक्रि आम्दानी कम भएको उनको भनाई छ। अन्य खर्च किन उच्च रुपमा बढ्यो भन्ने हाम्रो प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन। समग्रमा योजनावद्ध रुपमा नाफा घटेकै वित्तिय विवरण ल्याउने प्रयास गरेको देखियो नि भन्ने हाम्रो प्रश्नमा गत आर्थिक वर्षमा वित्तिय प्रणालीमा आएको तरलता संकटका कारण बैंकहरुले होम लोन प्रवाह नगर्दा सिमेन्टको माग घटेको र त्यसका कारण मूल्य घटाएर सिमेन्ट बेच्नुपरेको, खुद्रा विक्रेताहरुलाई सेल्स कमिसन बापत धेरै रकम भुक्तानी गर्नुपरेको जस्ता कारणहरुले पनि खर्च बढेको हुँदा नाफामा कमी आएको बताउँदै गत आर्थिक वर्षको अवस्था नै क्रिटिकल भएको हुँदा अघिल्लो वर्षको जस्तो राम्रो आम्दानी गर्न नसकिएको जवाफ उनले दिएका छन्। 

कुन शिर्षकमा कति कति रकम खर्च भएको छ त्यो विवरण हामीलाई उपलब्ध गराउनुहोस न त भन्दा सुरुमा त उनी अकमकिए। एकैछिन पछि त्यस्ता विवरणहरु अहिले आफूले उपलब्ध गराउन नसक्ने उनले बताए। उनले सेल्स कमिसनमा धेरै रकम गएको बताएका छन् तर कम्पनीले सिमेन्टको मूल्य घटाएर बिक्रि गर्दा पनि सेल्स कमिसन बापत ३० औं करोड किन भुक्तानी गरियो भन्ने कुरा आफैमा विवादास्पद छ।  

अलिक गरिहिएर हेर्ने हो भने शिवमका प्रमोटरहरुले पहिले ठूलो कित्ता सेयर बिक्रि गर्ने अनि नराम्रो वित्तिय विवरण प्रकाशित गरेर सेयरमूल्य झार्ने; त्यसपछि फेरी आफैले सस्तोमा एकुमुलेसन गरेर सेयर मूल्य माथि पुर्याएर बेच्ने योजना बनाएको स्पष्टै बुझ्न सकिन्छ। 

Exclusive : रिडी पावरको ऐतिहासिक सुरुवात - यसरी सम्भव बन्यो जलविद्युत क्षेत्रको पहिलो मर्जर

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको