Like us!
Follow us!
Connect us!
Watch us!

...यस कारण सेयर बजार सुन्दर छ

हरिहर बजगाईं

अर्थ संसार

विहीबार, १६ भदौ २०७९, ०७ : ११ मा प्रकाशित

...यस कारण सेयर बजार सुन्दर छ

धेरै मानिसहरुले सेयर बजार शुन्दर छ भनेको त सुनिन्छ तर किन सुन्दर छ भन्ने बुझाई भने निकै साँघुरो रहेको देखन्छ । केहि सेलिब्रेटी लगानीकर्ताले बजारको घटबढलाई नै सेयर बजारको सुन्दरता भनेर आम मानिस माझ धारणा राखिदिनाले सेयर बजारको वास्तविक सुन्दरताको पक्षलाई भने ओझेलमा पारेको छ । घट्नु र बढ्नुलाई मात्र सेयर बजारको सुन्दरता भनिदिनाले बजारमा लगानीकर्ता भन्दा पनि सट्टेबाजीले स्थान पाएको देख्न सकिन्छ । आफूले किनेपछि बढ्नै पर्ने र बेचेपछि घट्नै पर्ने अतिवादी मानसिकताले धेरैलाई अधिरमात्र नभई मानसिक रोगी पनि बनाएको छ । यस्तो परिस्थिति धेरै समयसम्म रह्यो भने सेयर बजारका लागि घातक हुनसक्छ । तसर्थ सेयर बजार शुन्दर हुनुका अन्य धेरै पक्षहरुलाई पनि आम मानिसमाझमा प्रस्तुत गर्नु जरुरी छ । यसै सन्दर्भमा सेयर बजार सुन्दर हुनुका विविध महत्वपूर्ण पक्षहरुलाई यहाँ चर्चा गरिएको छ ।

पूँजी निर्माणको आधार
छरिएर रहेको सानो सानो पूँजीलाई एकक्रित गरी ठूलो पूँजीको रुपमा निर्माण गर्नु सेयर बजारको सुन्दरता हो । आर्थिक रुपमा कठिन ठानिएका आयोजनाहरुलाई सम्भव गर्ने ठोस आधार शेयर बजार हो । नेपालकै सन्दर्भमा पनि आज अरबौं खरबौं रुपयाँको आवश्यकता पर्ने हाइड्रोपावरका आयोजनाहरु सेयर बजारका कारण सम्भव भएका छन् । सेयरबजारबाटै पूँजी निर्माण गरी NIFRA, HIDCL जस्ता लगानी कम्पनीहरु अस्तित्वमा आएका छन् । पूँजी बजारको सुन्दरताले नै सेवा, बस्तु उत्पादन, उर्जा, कृषि, पर्यटनजस्ता क्षेत्रमा लगानीकर्तालाई आकर्षित गरेको छ । सेयर बजारले राष्ट्रिय स्तरबाट मात्र नभई अन्तराष्ट्रिय स्तरबाट पनि पूँजीलाई आकर्षित गर्दछ ।

असिमित क्षेत्र तथा कारोबार
शेयर बजारको अर्को सुन्दर पक्ष भनेको यसको असिमित क्षेत्र तथा कारोबार हो । सेयर बजारमा जति पनि र जुनै किसिमका पनि कम्पनी वा व्यवसायहरु अटाउँछन् । केहि हजार रुपैयाँ देखि अरबौंको कारोबार गर्ने सुविधा सेयर बजारमा हुन्छ । व्यवसायको प्रकृति अनुसार पनि सबै किसिमका व्यवसायिक क्षेत्रको साझा थलो सेयर बजार हो ।

पारदर्शी क्षेत्र
सेयर बजार व्यवसाय सञ्चालन र कारोबारको हिसाबले अत्यन्तै पारदर्शी क्षेत्र हो । सेयर बजारमा रहेका व्यवसायले आवधिक रुपमा वित्तिय विवरणहरु प्रकाशित गर्नुपर्ने हुन्छ । हरेक वर्ष सेयरधनीहरुलाई संलग्न गरी साधारण सभा गर्नुपर्ने हुन्छ । जसले गर्दा व्यवसायमा छलकपट वा गोलमाल गर्ने अवस्था कम हुन्छ । त्यस्तै दोस्रो बजारको कारोबार पनि पूर्ण रुपमा नियामकको निगरानीमा हुने भएकाले पारदर्शी कारोबार हुने गर्दछ । घरजग्गा कारोबार वा अन्य व्यापार व्यवसाय जस्तो आर्थिक अपारदर्शी कार्य सेयर बजारमा हुन सक्दैन ।

तरलता
सेयर व्यक्तिको आवश्यकताअनुसार तुरुन्तै किन्न र तुरुन्तै बेच्न सकिने प्रकृतिको तरल सम्पति हो । अन्य सम्पतिमा जस्तो किनबेचका लागि अरुको भर पर्नुपर्ने वा कुनै पनि जटिल प्रकृयाहरु पुरा गर्नुपर्ने जस्ता झन्झट सेयरको किनबेचमा व्यहोर्नु पर्दैन ।

व्यापक सहभागिता
सेयर बजारमा जो कोही पनि सहभागी हुन सक्दछ । सामान्य ज्याला मजदुरी गर्ने देखि लिएर सभ्रान्त घरानाहरुले समान रुपले बिना रोकतोक सहभागी भएर आफ्नो क्षमता अनुसारको कारोबार गर्ने अवसर शेयर बजारले प्रदान गर्दछ । शिक्षा, पेसा व्यवसाय, उमेर, लिङ्ग, जात, भूगोल, धर्म लगायत अन्य कुनै पनि कुराको बन्देज सेयर बजारमा हुने गर्दैन ।

खुल्ला विश्वविद्यालय
सेयर बजारलाई केवल नाफा नोक्सानको कारोबार वा खेल मात्र नसम्झी गम्भिर रुपमा लिने हो भने बजारले मानिसलाई अथाह ज्ञान लिने मौका दिने गर्दछ । बजेट बक्तव्य, वित्तिय नीति, मौद्रिक नीति, बैंक ब्याजदर, मुद्रस्फिति, वैदेशिक व्यापार जस्ता अनेकौं आम मानिससँग प्रत्यक्ष सम्बन्ध राख्ने तर आम चासोमा नपर्ने विषयहरुलाई घरघरमा चासोका साथ चर्चा गर्ने र यिनका बारेमा बुझ्न प्रेरित गर्ने विद्यालय शेयर बजार हो ।

स्वतन्त्रताको आधार
मानिसका लागि स्वतन्त्रता अत्यन्तै आवश्यकिय वस्तु हो र स्वतन्त्रताका विविध पक्षहरु छन् । ती मध्य वित्तिय स्वतन्त्रता एक महत्वपूर्ण पक्ष हो । मानिसका लागि वित्तिय स्वतन्त्रता भनेको त्यो अवस्था हो जसमा उसका न्युनतम आवश्यकता र इच्छाहरु पूर्ती गर्ने आर्थिक हैसियत बनेको हुन्छ । जापानी मुलका अमेरिकी लेखक Robert Kiyosaki का अनुसार वित्तिय स्वतन्त्रता प्रस्ट गर्ने एक महत्त्वपूर्ण  उपाय भनेको पैसाका लागि काम गर्ने नभई पैसालाई काममा लगाउने हो । अब पैसालाई कामका लगाएर उच्चतम प्रतिफल प्राप्त गर्ने महत्वपूर्ण क्षेत्र भनेको सेयर बजार हो । व्यक्तिगत स्वतन्त्रताको कुरा मात्र नभएर राष्ट्रिय स्वतन्त्रताको सन्दर्भमा पनि सेयर बजारले आधार प्रदान गर्दछ । सेयर बजारको विकासबाट आन्तरिक तथा बाह्य लगानी जुटाएर आर्थिक समृद्धि हासिल गर्न सकिन्छ र जुन देश आर्थिक रुपमा समृद्ध र सबल छ त्यो देशको अन्तराष्ट्रिय परिवेशमा स्वतन्त्र उपस्थितीलाई सहजै स्वीकार गरिएको पाइन्छ । तसर्थ सेयर बजारलाई समग्र स्वतन्त्रताको आधारको रुपमा लिन सकिन्छ ।

जोखिम अनुसार प्रतिफल पाइने क्षेत्र
धेरैले सेयर बजारलाई जोखिमको क्षेत्र हो भनेको पाइन्छ तर यो भनाई पूर्ण छैन । सेयर बजार जोखिमको क्षेत्र मात्र नभई जोखिमको अनुपातमा प्रतिफल प्राप्त हुने क्षेत्र पनि हो । कसैले आफ्नो क्षमता अनुसारको जोखिम लिन चाहेमा शेयर बजारले सो वातावरण उपलब्ध गराउँदछ । अन्य क्षेत्र जस्तो जोखिम र प्रतिफलको सिमितता यस क्षेत्रमा हुँदैन ।

सेयर पनि सम्पति हो
आज विश्वमा जति पनि धनी व्यक्तिहरु छन् तिनको सम्पतिको ठूलो हिस्सा सेयर लगानी नै हो । एलन मस्क, वारेन वफेट, विल गेट्स, ज्याक मा, गौतम अडानी, विनोद चौधरी लगायत व्यक्तिहरुलाई आज विश्वमा धनाढ्यको पहिचान शेयर बजारले दिलाएको हो । तसर्थ  शेयर पनि महत्वपूर्ण सम्पति हो ।

निष्कर्षमा, माथि चर्चा गरिएका पक्षहरु सुन्दर सेयर बजारका केहि पक्ष मात्र हुन् । छोरी जन्मेदेखि उसको नाममा प्राथमिक सेयर हालेर त्यही सेयरको पैसाले छोरीलाई उच्च शिक्षा पढाइरहेका आमा बुबा कति गर्वित होलान् ? मासिक तलवबाट घरखर्च धानेर भएको बचतले दोस्रो बजारमा लगानी गरी ४५ बर्षमा वित्तिय स्वतन्त्रता प्राप्त गरेको जागिरे आफ्नो नाफाको १५ बर्षलाई कति उल्लासपूर्ण तरिकाले जिउँछ होला ? यी र यस्तै अन्य प्रश्नहरुको उत्तर खोज्दै जाने हो भने बल्ल अनुभूत हुन्छ सेयर बजार सुन्दर छ ।

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको