Like us!
Follow us!
Connect us!
Watch us!

घनश्याम भुसालले छाडे एमाले

अर्थ संसार

शनिबार, २२ असोज २०७९, १४ : १७ मा प्रकाशित

घनश्याम भुसालले छाडे एमाले

नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले एमाले पार्टी परत्यागको घोषणा गरेका छन् । 

एमालेले आगामी प्रतिनिधि सभको निर्वाचनमा भुसाललाई टिकट नदिए पछि उनले पार्टी परित्यागको घोषणा गरेका हुन् । उनले आफ्नो सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो घोषणा गरेका हुन ।

उनले फेसबुक मार्फत व्यक्त गरेको विचार:

देशभक्ति, जनजीविका र लोकतन्त्रका लागि लाखौँ सदस्य र जनसमुदायलाई गोलबन्द गर्दै र आन्तरिक लोकतन्त्रको भव्य अभ्यास गर्दै हामीले नेकपा एमालेजस्तो गौरवपूर्ण पार्टीको निर्माण गरेका हौँ । यसै सन्दर्भमा पार्टीको पाँचौँ महाधिवेशनले नेपालको कम्युनिष्ट आन्दोलनलाई विचारको एउटा नयाँ मोडमा पुर्‍यायो । नवौँ महाधिवेशनले नेकपा एमाले र समग्र कम्युनिष्ट आन्दोलनका अनुभवलाई समेट्दै हाम्रो आन्दोलनलाई कार्यदिशा र सिद्धान्तको ऐतिहासिक उँचाइमा लग्यो । तर, दुर्भाग्यवश त्यस महाधिवेशनले आफ्नै कार्यदिशा र सिद्धान्त विपरीत चरित्रको पार्टी नेतृत्वको चयन गरेर ठूलो गल्ती गर्‍यो । त्यसपछि पार्टी संस्थागतरुपले गुटबन्दीको मैदान बन्दै गयो । आन्तरिक लोकतन्त्र, लोकतान्त्रिक व्यवस्था र वामपन्थी मूल्यहरुमाथि योजनाबद्ध आक्रमण बढ्दै गयो । र, अहिले यो पार्टी कमरेड के पी शर्मा ओलीको दम्भ र स्वेच्छाचारिताले— केवल दम्भ र स्वेच्छाचारिताको कैदी हुन पुगेको छ । नेकपा एमालेको गौरवलाई कुनै दिन पुनर्स्थापित गर्न सकिन्छ भन्ने आशा र विश्वासले चरम अपमान र विभेद सहँदै मैले पार्टीमा नीति र विधिको पक्षमा सङ्घर्ष गर्दै आएको कुरा सर्वविदित नै छ । तर म स्वयमले ४५ वर्षसम्म आफ्नो सम्पूर्ण सामर्थ्य समर्पित गरेको यो पार्टीमा नीति र विधिको पुनर्स्थापना हुने कुनै सम्भावनासमेत नदेखेपछि, अध्यक्ष ओलीसँगै रहेर आन्दोलन र आफैप्रति पनि इमान्दार रहन नसकिने भएपछि यस पार्टीमा नरहने निष्कर्षमा पुगेको छु ।

नेकपा एमाले भित्र रहँदा विधि, पद्धति र सही नीतिका लागि सङ्घर्षमा लागेका सहयोद्धा र सहकर्मीहरुप्रति सदा मेरो ऐक्यवद्धता रहनेछ । राष्ट्रको सर्वोपरी हितका लागि म उत्तिकै सक्रिय रहने छु । 

कमरेडहरु ! सत्य र सही बाटाको खोजमा इतिहासको कुनै विन्दुमा हामी पुनः भेट हुनेछौं ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको