Like us!
Follow us!
Connect us!
Watch us!

लगानीकर्ताले भर्न छाडे आईपीओ, २५ लाख नाघेको आवेदन संख्या १३ लाखमा सिमित

अर्थ संसार

विहीबार, ०३ कार्तिक २०७९, १३ : २५ मा प्रकाशित

लगानीकर्ताले भर्न छाडे आईपीओ, २५ लाख नाघेको आवेदन संख्या १३ लाखमा सिमित

केही समय अघिसम्म कुनैपनि कम्पनीले सर्वसाधारणका लागि निष्कासन गर्ने साधारण सेयर आईपीओमा लगानी गर्ने लगानीकर्ताहरूको ओइराे लाग्ने गर्दथ्याे । तर अहिले सेयर बजार घट्दाे क्रममा छ । सेयर बजार घटेसँगै आईपीओ भर्नेको संख्या पनि घटेकाे छ । 

यसअघि आईपीओमा आवेदन दिने लगानीकर्ताहरूको संख्या २५ लाखमाथि पुगेकाेमा अहिले घटेर १२-१३ लाखमा झरेकाे छ । इष्टर्न हाइड्रोले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओमा आवेदन दिने हिजाे (कार्तिक २ गते, बुधबार) अन्तिम दिन थियाे । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले आवेदन दिएका छन् ।

पछिल्लाे याे तथ्याङ्कले पुष्टि गर्दछ आईपीओप्रति सर्वसाधारणको क्रेज कसरी घटेको छ भनेर । आईपीओप्रति सर्वसाधारणको रूची घट्नुकाे मुख्य कारण हाे अहिलेकाे घट्दाे बजार ।

गत वर्ष करिव ३२०० को विन्दुमा पुगी नयाँ ईतिहास बनाएको नेपाली सेयर बजार घटेर यतिबेला १८०० को विन्दुमा झरिसकेको छ । यता दैनिक कारोबार रकम पनि २० अर्ब नाघ्ने गरेकोमा अहिले एक अर्ब पुग्न पनि हम्मेहम्मे छ । बजार निरन्तर घट्दा नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत कम्पनीहरूको सेयरमूल्य निकै तल झरिसकेको छ ।  बजार बुलिस हुँदा लगानीकर्ताहरू आईपीओ खुल्ने दिन कुरेर बस्थे । तर अहिलेकाे बियरीस बजारमा लगानीकर्ताहरूलाई आईपीओप्रति खासै चासाे लाग्दैन ।

यसै सन्दर्भमा कुराकानी गर्दै एक लगानीकर्ताले भने, "पहिला पाे बजार बुलिस थियाे । आईपीओबाट राम्राे आम्दानी हुन्थ्याे त्यसैले आईपीओकाे लाेभ लाग्थ्याे । तर अहिले त  आईपीओबाट कमाइने नाफा भन्दा दाेश्राे बजारमा नै राम्रा-राम्रा कम्पनीकाे मूल्य त्यहाँ भन्दा सस्तिएकाे छ । आईपीओ भर्याे पर्ने नपर्ने थाहा हुँदैन । त्यसैले मैले त आजकाल आईपीओ भर्न छाडेँ बरू त्याे पैसाले दाेश्राे बजारमै राम्रा कम्पनीकाे सेयर किन्छु । पहिला बुलिस बजारमा त घरभरीका सबैजनाकाे डिम्याट खाता खाेलिदिएर आईपीओ भरेकाे थिएँ ।"

पहिला बजार बुलिस चरणमा रहँदा चिया पसलदेखि तरकारी बजारसम्म अनि स्कुल कलेजदेखि रेष्टुरेन्टसम्म जताततै आईपीओकै चर्चा हुन्थ्याे । आईपीओ भर्ने एउटा ट्रेन्ड नै बनिसकेकाे थियाे । एउटै व्यक्तिले घर परिवार नातागाेता साथीसङ्गी लगायत धेरै व्यक्तिहरूकाे नागरिकता संकलन गरी आईपीओ भर्ने गर्दथे । तर अहिले आफ्नै डिम्याटबाट समेत आईपीओ भर्न छाडिसकेका छन् । 

पछिल्लाे समय निष्कासन भएका ५ वटा कम्पनीकाे आईपीओ भर्ने लगानीकर्ताकाे संख्या नियाल्दा :

१. पिपुल्स पावर कम्पनी लिमिटेड : कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १६ लाख ६ हजार १ सय १० जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । 

२. श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेड : संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म १८ लाख ३८ हजार ७ सय ५१ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । 

३. खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड : संस्थाकाे आईपीओमा अन्तिम दिनसम्म १८ लाख ५० हजार १ सय ३२ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । 

४. सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३ सय ८३ जना लगानीकर्ताहरूले आवेदन दिएका थिए । 

५. इष्टर्न हाइड्रोपावर कम्पनी लिमिटेड : कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ९४ हजार ३ सय २६ जना लगानीकर्ताहरूले आवेदन दिएका छन् ।

माथिकाे तथ्याङ्क हेर्दा आईपीओ भर्ने लगानीकर्ताकाे संख्या घट्दाे ट्रेन्डमा छ । तुलनात्मक रूपमा लघुवित्तकाे आईपीओ भने लगानीकर्ता धेरै आकर्षित छन् । यही ५ वटा कम्पनीकाे आईपीओकाे तथ्याङ्क हेर्दा पनि १८ लाखबाट घटेर  आईपीओ भर्ने लगानीकर्ताकाे संख्या १३ लाखमा झरेकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको