Like us!
Follow us!
Connect us!
Watch us!

राजनीतिक दलको घोषणापत्रमा पूँजी बजार : कसले के कुरा समेटे ?

अर्थ संसार

बुधबार, १६ कार्तिक २०७९, १५ : २४ मा प्रकाशित

राजनीतिक दलको घोषणापत्रमा पूँजी बजार : कसले के कुरा समेटे ?

आगामी मंसिर ४ गते हुने प्रतिनिधी तथा प्रदेश सभा निर्वाचनका लागि अहिले दलहरुले धमाधम घोषणपत्रहरु सार्वजनिक गरिरहेका छन् ।

यसअघि पनि दलहरुले विभिन्न निर्वाचनाहरुमा पार्टीका घोषणाहरु सार्वजनिक गर्ने तर त्यसलाई कार्यान्वयन भन्दा पनि घोषणामा मात्र सिमित राख्ने गरेको गुनासो आम नागरिकहरुको छ ।

अहिले करिब करिब देशका प्रमुख दलहरुले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरिसकेका छन् । दलहरुले चुनावी घोषणपत्र मार्फत आफ्ना चुनावी ऐजेन्डाहरु समेत सार्वजनिक गरेका छन् । 

घोषणापत्र भनेको मतदाताले निर्वाचनमा कुन दल र कस्ता उम्मेदवार छान्ने भनेर मापन गर्ने एउटा लोकतान्त्रिक विधि पनि हो । जुन घोषणापत्रमा दल तथा उम्मेदवारले देखाउने गरेको विकासको आर्थिक तथा राजनीतिक योजनासहितको मार्गचित्र समेटिएको हुन्छ । निर्वाचनको प्रचलित सिद्धान्तअनुसार दलहरूका ती घोषणापत्र अध्ययन तथा विश्लेषण गरेर मतदाताले आफूलाई मन परेको पार्टी र उम्मेदवार छान्ने गर्छन् । त्यसैले विकसित मुलुकमा दल र उम्मेदवारका घोषणापत्रलाई आममतदाताले तिनका प्रतिवद्धतापत्रका रूपमा बुझ्ने गरेका हुन्छन् ।

यो पटकको घोषणापत्रमा कतिपय दलहरुले पूँजी बजारको विषयलाई पनि महत्वका साथ समावेश गरेको देखिन्छ भने कतिपय दहरुको घोषणापत्रले पूँजी बजारलाई समेटेको देखिँदैन । 

अहिले नेपालको पूँजी बजारमा ५४ लाख भन्दा धेरै नेपालीले डिम्याट खाता खोलेको तथ्याङ्कले देखाँउछ । केहि महिना अघिसम्म कुनै पनि कम्पनीहरुले साधारण सेयर (आईपिओ) को आवेदन खुल्दा २७ लाखसम्म आवेदन पर्ने गरेको थियो यसरी हेर्दा करिब २७ लाख व्यक्ति नेपालको पूँजी बजारमा प्रत्यक्ष संलग्न रहेको पाइन्छ । 

यही जनसंख्यालाई आफ्नो पक्षमा तान्न अहिले कतिपय राजनितीक दलहरुले पूँजी बजारको विषयलाई आफ्नो घोषणपत्रमा महत्वका साथ स्थान दिएका छन् । केही समय अघि पनि नेपालको संसदमा समेत पूँजी बजारको विषयले महत्वका साथ प्रवेश पाएको थियो । 

कुन दलको घोषणपत्रमा के ? 

नेपाली कांग्रेसः 

सरकारको नेतृत्व गरिरहेको नेपाली कांग्रेसले हालै मात्र आगामी निर्वाचननका लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । कांग्रेसले पुँजी बजारमा विदेशी लगानीकर्तालाई सशर्त लगानी गर्न खुला गर्ने घोषणापत्रमा उल्लेख छ । 

कांग्रेसले धितोपत्र सम्बन्धी ऐन तथा कानूनहरूमा सरोकावालाहरूसँग छलफल गरी पुँजी बजार सम्बन्धी ऐन कानून तथा विनियमावलीहरूमा समसामयिक सुधार गर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

साथै लामो समयदेखि उठ्दै आएको नेपाल धितोपत्र बोर्डलाई पूर्ण स्वायत्त निकायको रूपमा विकास गर्ने बिषयलाई पनि कांग्रेसले आफ्नो घोषणापत्रमा समेटेको छ । गैरआवासीय नेपाली, संस्थागत लगानीकर्ता तथा अन्तर्राष्ट्रिय लगानीकर्ताहरुलाई पूँजी बजारमा लगानी गर्न प्रोत्साहन र सहुलियत दिइने समेत उल्लेख गरिएको छ । 

नेकपा एमालेः 

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले मंगलबार मात्र आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । एमालेले आफ्नो घोषणपत्र मार्फत पूँजी बजारका केहि बिषयहरुलाई समेत समावेश गरेको छ । 

पूँजी बजार तथा वित्त बजारको व्यवस्थापनको लागि पार्टीभित्र आवश्यक संयन्त्र बनाइने एमालेको घोषणापत्रमा उल्लेख छ ।

यसका साथै, पार्टीले पैसा नहुनेलाई जलविद्युत आयोजनाको सेयर दिने योजना ल्याएको छ । देशको जलस्रोतको लाभ सबै नागरिकमा पुऱ्याउन आकर्षक जलविद्युत् परियोजनामा जनता, सहकारी संस्था र सरकारको संयुक्त लगानी प्रवर्द्धन गरिने र बचत गर्न नसक्ने व्यक्तिहरूलाई पनि यस्ता परियोजनामा सेयर उपलब्ध गराउन विशेष वित्तीय व्यवस्था गरिने घाेषणापत्रमा उल्लेख छ । 

माओवादी केन्द्र

सत्तारुढ दल नेकपा माओदावी केन्द्रले पनि आफ्नो घोषणपत्र सार्वजनिक गरेको छ । केहि समय अघिसम्मपनि पूँजी बजारलाई उनुत्पादक क्षेत्र भन्ने माओवादीले समेत आफ्नो घोषणपत्रमा पूँजीबजारको विकासका विषयलाई समेतको भन्दै लगानीकर्ताहरुले खुसि समेत व्यक्त गरेका छन् । 

बैङ्क तथा वित्तीय संस्था, बिमा तथा पूँजी बजारबाट परिचालित स्रोत र तिनको कारोबारबाट बढीभन्दा बढी जनसङ्ख्याले लाभ प्राप्त गर्नसक्ने र सर्वसाधारणको लगानी सुरक्षित गर्ने व्यवस्था गरिनेछ । घोषणापत्रमा उल्लेख छ । 

त्यस्तै पुँजीबजारको आधुनिकीकरण तथा संरचनागत सबलीकरणको कार्य शीघ्र सम्पन्न गरिने छ । गैरआवासीय नेपालीहरूलाई नेपालको पुँजीबजारमा लगानी खुला गर्ने कार्यलाई द्रुतका साथ अघि बढाइने छ । पुँजीबजारमा विदेशी संस्थागत लगानीलाई क्रमशः खुला गर्न आवश्यक  कार्ययोजना तयार गरी लागु गरिने कुरा समेत उल्ललेख छ ।

नेकपा (समाजवादी) 

नेकपा एमालेबाट फुटेर बनेको सत्तारुढ दल नेकपा समाजवादीले आफ्नो घोषणापत्रमा पूँजी बजारका कुनै पनि विषयलाई समेटेको छैन । 

राष्ट्रिय प्रजातन्त्र पार्टी

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत आगामी निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ । राप्रपाले पनि आफ्नो घाषणापत्रमा पूँजी बजारको विषयलाई समेटेको छ । 

‘पूंजी बजारमा साना, स्वदेशी तथा विदेशी संस्थागत लगानीकर्ताको आकर्षण बढाईनेछ’ घोषणापत्रमा भनिएको छ ।   

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको