Like us!
Follow us!
Connect us!
Watch us!

तत्काल कारोबार नखुलाउने मुडमा मर्जमा गएका कम्पनी, सेबाेनले समयसिमा नतोकिदिँदा हाईसन्चो

बसन्त पाण्डे

विहीबार, ०१ मंसिर २०७९, १६ : ४० मा प्रकाशित

तत्काल कारोबार नखुलाउने मुडमा मर्जमा गएका कम्पनी, सेबाेनले समयसिमा नतोकिदिँदा हाईसन्चो

नेपाल धितोपत्र बोर्डले कात्तिक २४ गतेका दिन धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ लागू गर्यो। सो निर्देशिकाको दफा नम्बर १३ मा अहिले मर्ज/प्राप्तिको प्रकृयामा रहेका कम्पनीहरुको कारोबार खुलाउने सम्बन्धी विशेष व्यवस्था गरिएको छ। दफा १३ को उपदफा १ मा 'यो निर्देशिका प्रारम्भ हुनु अघि गाभ्ने/गाभिने वा प्राप्ति प्रकृयामा रहेका कारण सेयर कारोबार रोक्का रहेका संगठित संस्थाको आधारभूत सेयरधनी बाहेक अन्य सेयरधनीको सेयर कारोबार फुकुवा गर्नुपर्नेछ', भन्ने उल्लेख गरिएको छ। 

त्यस्तै उपदफा २ मा कारोबार रोकिएका कम्पनीहरुले आधारभूत सेयरधनी बाहेकका सेयरधनीको बजार कारोबार फुकुवा गर्न संगठित संस्थाले आधारभूत सेयरधनीको विवरण सहित धितोपत्र बजार र केन्द्रिय निक्षेप सेवा प्रदायक संस्था समक्ष निवेदन दिनुपर्नेछ भन्ने कुरा उल्लेख गरिएको छ।  

उपदफा ४ मा सम्बन्धित नियमनकारी निकायले सेयर कारोबार रोक्का राखेको भएमा सम्बन्धित निकायको स्वीकृति लिएर आधारभूत सेयरधनी बाहेकका सेयरधनीको कारोबार खुल्ला गर्न सकिने कुरा उल्लेख गरिएको छ।  

किन खुल्न सकेन कारोबार ?

धितोपत्र बोर्डले कात्तिक २४ गतेदेखि नै निर्देशिका लागू गरेको भएतापनि अहिलेसम्म कुनै पनि कम्पनीको कारोबार खुल्न सकेको छैन। धितोपत्र बोर्डले निर्देशिकामा कुनै समयसिमा नतोकेका कारण कम्पनीहरु तत्कालै कारोबार नखोल्ने मुडमा रहेको बुझिएको छ। अहिलेसम्म कुनै पनि कम्पनीहरुले कारोबार फुकुवा गर्ने प्रकृया अघि बढाएका छैनन्। अहिले कारोबार रोक्का रहेका बैंक र लघुवित्तहरुले नेपाल राष्ट्र बैंकबाट सेयर कारोबार खुल्ला गर्ने अनुमती लिनुपर्ने हुन्छ भने बिमा कम्पनीहरुले बिमा प्राधिकरणबाट स्वीकृति लिनुपर्ने हुन्छ। यो समाचार तयार पार्दासम्म कुनै पनि बैंक तथा लघुवित्तहरुले राष्ट्रबैंकमा कारोबार फुकुवा गराउन निवेदन दिएका छैनन्। बिमा प्राधिकरणमा पनि कुनै कम्पनीको निवेदन परेको छैन।

यस विषयमा कम्पनीका संचालकहरु सँग बुझ्दा अधिकांशले चुनावपछि मात्रै संचालक समितिको बैठक बसी निर्णय गरेर नियामकलाई पत्र पठाइने बताए। अहिले संचालक समितिका अधिकांश सदस्यहरु चुनावी कार्यक्रममा व्यस्त रहेका कारण संचालक समितिको बैठक बस्न नसकेको एक बिमा कम्पनीका अध्यक्षले बताए। 

धितोपत्र बोर्डले निर्देशिकामार्फत कारोबार फुकुवा गर्ने बाटो खोलिदिएपनि कारोबार फुकुवा गर्न कम्पनीका संचालकहरु अनिच्छुक देखिएका छन्। बजार तल्लो बिन्दुमा रहेको बेला कारोबार खुल्दा झन् सेलिङ्ग प्रेसर आएर सेयरमूल्य अझै घट्ने आंकलन गर्दै बजार अलिकति बलियो देखियोस अनि मात्रै कारोबार फुकुवा गर्ने मनसायमा अधिकांश कम्पनीहरु रहेको बुझिएको छ। निर्देशिकाले आधारभुत सेयर धनीहरुको कारोबार खुल्ला नगर्न निर्देशन दिएपछि उनीहरु कारोबार खुलाउन झनै अनिच्छुक देखिएका हुन्। चुक्ता पुँजी २५ करोडभन्दा कम भएका कम्पनीहरुको केसमा ५% भन्दा बढी सेयर होल्ड गरेका लगानीकर्ताहरुलाई र २५ करोड माथिको चुक्ता पुँजी भएकाको हकमा १% भन्दा बढी सेयर होल्ड गर्ने लगानीकर्ताहरुलाई आधारभूत सेयरधनी मानिन्छ। कम्पनीका संचालकहरुले कम्पनीको ठूलो कित्ता सेयर धितो राखेर बैंकबाट कर्जा लिएका छन्। कारोबार खुल्दा यदि बजारमूल्य घट्यो भने बैंकहरुले मार्जिन कल गर्नसक्ने हुँदा झन् प्रेसर हुने बरु अहिले कारोबार रोकिँदा नै ठिक भन्ने निष्कर्षमा अधिकांश संचालकहरु पुगेको देखिन्छ। 

लामो समयसम्म सेयर कारोबार रोक्का हुँदा लगानीकर्ताहरुको सम्पत्ति बन्धक बनेको भन्दै लगानीकर्ताहरुले मर्ज/प्राप्तिमा गएका कम्पनीहरुको सेयर कारोबार रोक्का हुने नियमको व्यापक विरोध गर्दै आएका थिए। धितोपत्र बोर्डले अब उप्रान्त हुने मर्ज तथा प्राप्तिमा बढीमा १५ दिनमात्रै कारोबार रोक्का राख्न मिल्ने प्रावधान ल्याए तापनि हाल कारोबार रोकिएका कम्पनीहरुको कारोबार फुकुवा गराउने सम्बन्धमा कुनै समयसिमा नतोकेका कारण कम्पनीहरुलाई हाईसन्चो भएको छ। पहिले नियामकसँग स्वीकृति लिनुपर्ने, आधारभूत सेयरधनीहरुको विवरण नेप्से र सिडीएसमा बुझाउनुपर्ने अनि मात्रै कारोबार खुल्ने प्रावधानले अझै केहि समय रोक्का रहेका कम्पनीहरुको कारोबार खुल्ने देखिँदैन।  

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको