Like us!
Follow us!
Connect us!
Watch us!

नगद लाभांशमा वाणिज्य बैंकको जोड : ११ वटाले गरे लाभांश घोषणा

अर्थ संसार

सोमबार, ०५ मंसिर २०७९, १३ : ३२ मा प्रकाशित

नगद लाभांशमा वाणिज्य बैंकको जोड : ११ वटाले गरे लाभांश घोषणा

मंसिर महिना लाग्दासम्म नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा सूचिकृत कुल ११ वटा वाणिज्य बैंकले लाभांश घाेषणा गरेका छन् । याे समय भनेकाे धिताेपत्र दाेश्राे बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गर्ने बेला हाे ।

साेही अनुसार नेप्सेमा सूचिकृत ११ वटा वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट आफ्ना सेयरधनीहरूलाई वितरण गर्ने लाभांश घोषणा गरेका छन् । बैंकहरूकाे यसपालीकाे लाभांश हेर्दा वाणिज्य बैंकहरूले नगद लाभांशमा जाेड दिएका बुझ्न सकिन्छ  ।  

बैंकहरूले नगद लाभांशमा जाेड दिनु एक हिसाबले हेर्दा लगानीकर्ताहरूका लागि फाइदाजनक पनि छ । पछिल्लाे समय सेयर बजार निरन्तर घटिरहेकाे छ । घट्दो बजारमा कुनै कम्पनीले बाेनस दिएर मूल्य समायोजन भैसकेपछि कम्पनीको सेयरमूल्य अझै घट्न सक्ने सम्भावना हुन्छ। नगद लाभांश घाेषणा गर्दा भने लगानीकर्ताहरुको हातमा नगद पर्ने हुँदा अन्य आवश्यकताहरु पूरा गर्नकै लागि लगानीकर्ताहरुले सेयर बिक्री गर्नुपर्ने बाध्यता कम हुन जान्छ । मूल्य समायोजन नहुँदा सेयर मूल्य पनि माथिल्लै लेभलमा रहन्छ। यता बाेनस दिँदा भने सेयर संख्या बढ्न जान्छ र त्यसले अन्तत: सप्लाई बढ्न गई मूल्य तलातिरै राख्ने काम गर्दछ।  

यी हुन् हालसम्म लाभांश घाेषणा गरेका ११ वटा वाणिज्य बैंक :

१. कुमारी बैंक लिमिटेड

कुमारी बैंक लिमिटेडकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश बैंकको कात्तिक २१ गते, सोमबार सम्पन्न भएकाे बाईसौँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । असोज १० गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

२. सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडकाे सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई चुक्ता पूँजीको ९ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने घोषणा गरेको छ । उक्त लाभांश कार्तिक ४ गते सम्पन्न भएकाे बैंकको सोह्रौं वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । असोज २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले लाभांश प्राप्त गर्न सक्नेछन्।

३. नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) 

नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी) काे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३.३६६३ प्रतिशत बाेनस सेयर र ७.६३३७ प्रतिशत नगद गरी कुल ११.२९६७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।  उक्त लाभांश मंसिर २ गते, शुक्रबार सम्पन्न भएकाे बैंककाे पच्चीसाैँ वार्षिक साधारण सभाले पारित गरिसकेकाे छ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि कार्तिक १५ गते एकदिन बुकक्लाेज गरेकाे थियाे । तर कुमारी बैंकसँग मर्जर प्रकृयामा रहेका कारण हाल दाेश्राे बजारमा बैंककाे काराेबार राेक्का छ । त्यसैले, असाेज १० गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै लाभांश प्राप्त गर्न सक्नेछन् ।

४. बैंक अफ काठमाण्डू लिमिटेड

बैंक अफ काठमाण्डू लिमिटेडकाे सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६ प्रतिशत बाेनस सेयर र १४.९५ प्रतिशत नगद गरी कुल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको २८ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि ञिभुवन आर्मी अफिसर्स क्लबमा संचालन गर्ने निर्णय गरेको छ । मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ।

५. ग्लोबल आईएमई बैंक लिमिटेड

ग्लोबल आईएमई बैंककाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंकको १६ औँ वार्षिक साधारणसभा मङ्सिर २३ गते शुक्रबार बिहान १० बजेदेखि गैरीधारा स्थित सिल्भर ओक ब्यांक्वेटमा हुनेछ । लाभांश र सभा प्रयोजनका लागि बैंकले यही मङ्सिर ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। मर्जर प्रक्रियामा रहेका कारण बैंकको सेयर कारोबार भने दोस्रो बजारमा बन्द रहेको छ।

६. स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेड

स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १६.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंककाे ३६औँ वार्षिक साधारण सभा मंसिर २५ गते, आइतबार आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा दिउँसाे १ बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर ७ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर ६ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

७. एभरेष्ट बैंक लिमिटेड

एभरेष्ट बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरुलाई चुक्ता पूँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत गरी ७.६८ प्रतिशत नगद गरि कुल २०.६८ लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंककाे २८औँ वार्षिक साधारण सभा मंसिर २६ गते, साेमबार लैनचाैर बैक्ङ्क्वेट, लैनचाैर काठमाडौँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि मंसिर १३ गते एकदिन बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर १२ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

८. प्रभु बैंक लिमिटेड

प्रभु बैंक लिमिटेडकाे हिजाे मंसिर १ गते बिहीबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ६.५० प्रतिशत बाेनस सेयर र १.५० प्रतिशत नगद गरी कुल ८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे । बैंकले साधारण सभाकाे मिति ताेकेकाे छैन । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंककाे वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

९. नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेड

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडकाे कार्तिक २९ गते, मंगलबार बसेकाे सञ्चालक समितिकाे बैठकले गत आर्थिक वर्षकाे मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बाेनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी कुल ११ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे हाे । बैंकले साधारण सभाकाे मिति ताेकेकाे छैन । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भइ बैंककाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । 

१०. मेगा बैंक लिमिटेड

मेगा बैंक लिमिटेडको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि समेत ३.८३ प्रतिशत नगद गरि कुल ७.८३ लाभांश वितरण गर्ने घोषणा गरेको छ ।   बैंकले साधारण सभाकाे मिति ताेकेकाे छैन । उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भइ बैंककाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ । 

११. सानिमा बैंक लिमिटेड

सानिमा बैंक लिमिटेडकाे कार्तिक ४ गते शुक्रबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १० प्रतिशत बाेनस सेयर र ०.९८ प्रतिशत नगद गरी कुल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । बैंककाे १८ औं वार्षिक साधारण सभा पुस ३ गते बालुवाटारस्थित आम्रपाली ब्यांकेटमा हुनेछ । बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि मंसिर १९ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाे छ । त्यसैले, मंसिर १८ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको