Like us!
Follow us!
Connect us!
Watch us!

हरि ढकालको जितमा लगानीकर्ता उत्साहित : भन्छन्, 'पूँजी बजारले संसदमा प्रतिनिधी पायो'

बसन्त पाण्डे

विहीबार, ०८ मंसिर २०७९, १५ : ३६ मा प्रकाशित

हरि ढकालको जितमा लगानीकर्ता उत्साहित : भन्छन्, 'पूँजी बजारले संसदमा प्रतिनिधी पायो'

सकृय लगानीकर्ता तथा सेयर लगानीकर्ता दवाव समूहका संयोजक हरि ढकाल प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर १ मा उम्मेद्वारी दिएका ढकालका लागि निर्वाचन जित्न सहज थिएन। नेकपा एमालेका प्रभावशाली नेता पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. विश्व पौडेलजस्ता चिर परिचित व्यक्तित्वहरु सँग चुनावी मैदानमा भिड्नु निकै चुनौतीपूर्ण थियो। सो चुनौतीका बीच शानदार मतसहित निर्वाचित हुन सफल हरि ढकालको विजयलाई सेयर लगानीकर्ताहरुले कसरी लिएका छन् त ? प्रतिनिधि आवाज स्वरुप हामीले केहि अग्रज लगानीकर्ताहरुको विचार प्रस्तुत गरेका छौं।  

छोटेलाल रौनियार

सर्वप्रथम त हरिजीलाई हार्दिक बधाई ! हामी सबै सेयर लगानीकर्ताहरुलाई पनि बधाई !! एकातर्फ पूर्व अर्थमन्त्री र अर्कातर्फ राष्ट्रिय योजना आयोगका उपाध्यक्ष भईसक्नुभएका दुई हस्तीहरुको बीचबाट एउटा युवाले चुनाव जित्नु पक्कै पनि चानचुने कुरा होइन। यी दुई हस्तीहरुसंग चुनाव लड्ने जुन साहस उहाँले देखाउनुभयो, म उहाँको आत्मबलको पनि उच्च प्रशंशा गर्न चाहन्छु।  

चितवन(१) का जनताहरुले उहाँमाथि देखाउनुभएको भरोसालाई उहाँले टुट्न दिनुहुने छैन भन्नेमा म विश्वस्त छु। उहाँले छोटो यात्रा भन्दा पनि लामो दुरीको यात्रामा लाग्नुपर्छ। कुनै वादविवाद र आर्थिक प्रलोभनमा नपरी समग्र देशको अर्थतन्त्र र अर्थतन्त्रको मेरुदण्ड मानिएको पुँजीबजारका समस्याहरुको विषयमा संसदमा आवाज बुलन्द गराउनुहुनेछ भन्ने अपेक्षा मैले राखेको छु। उहाँ पुँजीबजार र अर्थतन्त्रलाई राम्ररी बुझेको व्यक्ति हुनुहुन्छ। उहाँले सेयरबजारका समस्याहरुलाई प्रभावकारी रुपमा सदनमा प्रस्तुत गर्नुहुनेछ भन्ने अपेक्षा पनि राखेको छु। 

अम्बिका प्रसाद पौडेल

हरिजीलाई हार्दिक वधाई तथा शुभकामना ! यो क्षणमा म एकदमै खुसी छु। पुँजीबजारले संसदमा प्रतिनिधि पाएको छ। हामीले पटक पटक प्रयास गर्दा पनि राज्यलाई पुँजी बजारको महत्व बुझाउन सकेका थिएनौं। पुँजीबजार पटक पटक राज्यबाट प्रताडित हुँदै आएको छ। हरिजी संसदमा पुग्दै गर्दा अब उहाँले समग्र सदन, सरकार र नियामक निकायहरुलाई पुँजीबजारको महत्व बुझाउन भूमिका खेल्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु।  

यो आधा करोड सेयर लगानीकर्ताहरु जितेको क्षण हो। आधा करोड सेयर लगानीकर्ताहरुले नै उत्सव मनाईरहेको क्षण पनि हो। हरिजीको जित समग्र सेयर लगानीकर्ताहरुको जित हो। 

तिलक कोइराला 

हरिजीलाई हार्दिक बधाई तथा शुभकामना ! पुँजीबजार बिरोधी नितीहरुका विरुद्ध हामी सँगसंगै लड्यौं। हाम्रो साथ, सहयोग र सद्भाव सँधै उहाँको साथमा छ।  

संसदमा हाम्रो तर्फबाट हरिजीले पुँजीबजारका लगानीकर्ताहरुको पक्षमा शसक्त रुपमा आवाज उठाउनुहुनेछ भन्ने अपेक्षा आम लगानीकर्ताहरुको रहेको छ। आम सेयर लगानीकर्ताहरुले उहाँलाई प्रतिनिधीका रुपमा संसदमा पठाएका छन्। संसदमा उठ्ने पुँजीबजार विरोधी अभिव्यक्तिहरुको अब उहाँले डटेर विरोध गर्नुहुनेछ भन्ने हाम्रो अपेक्षा छ। पुँजीबजारको सुधार र विस्तारका लागि आवश्यक पर्ने नीति नियम र पूर्वाधार विकासमा उहाँले महत्वपूर्ण भूमिका खेल्नुहुनेछ भन्ने कुरामा म विश्वस्त छु।  

दुर्गा तिवारी

हिजोको दिनमा हामीले पुँजीबजारका समस्याहरुको बारेमा संसदमा कुरा पुर्याउँदा दलका नेताहरुलाई समाउनुपर्थ्यो, उनीहरुलाई घोकाउनु पर्थ्यो। संसदमा उनीहरुले कुरा त उठाउँथे तर उनीहरुलाई पुँजीबजारको बारेमा खासै जानकारी नहुने हुँदा जुन रुपले सदनमा संदेश सम्प्रेषित हुनुपर्थ्यो त्यसरी हुन सक्दैनथ्यो। कुनै न कुनै माध्यमले हाम्रो आवाज संसदसम्म पुगेतापनि जुन गम्भीरताका साथ पुग्नुपर्थ्यो त्यसरी पुग्दैनथ्यो। 

हरिजी संसदमा उभिएर बोल्दै गर्दा उहाँले आफूले भोगेका, देखेका कुराहरु भन्नुहुनेछ जुन निकै प्रभावकारी हुनेछ। उहाँले प्रतिनिधीसभाको सदस्यको हैसियतले पुँजीबजार तथा अर्थतन्त्रको सम्बन्धमा राज्यका निकायहरु, संसद र सरकारमा हस्तक्षेपकारी आवाज उठाउनुहुनेछ भन्ने अपेक्षा मैले गरेको छु। 

हरिजीलाई हार्दिक बधाई अनि कार्यकाल सफल रहोस भन्ने शुभकामना ! उहाँ युवा पुस्ताका सेयर लगानीकर्ता भनेर चिनिएर आउनुभएको छ। राज्यले सेयरबजारका सम्बन्धमा लिने नीतिहरु सेयरबजार मैत्री बनाउन उहाँको भूमिका उल्लेख्य रहनेछ भन्ने अपेक्षा मैले राखेको छु।  

केशव कोइराला 

पुँजीबजार सुधार अभियानका योद्धा मित्र श्री हरि ढकाल प्रतिनिधि सभा सदस्य निर्वाचनमा चितवन क्षेत्र न १ बाट निर्वाचित हुनु भएकोमा बधाई तथा शुभकामना ब्यक्त गर्दछु। पुँजी बजारका लगानीकर्ता र अभियानकर्ता समेत भएको नाताले वहाँको कार्यकालमा पुँजी बजार सुधार सम्बन्धी  मुद्दाहरु संसदबाट समाधान हुनेछन भन्ने अपेक्षा गरेको छु। निर्वाचित भै सकेपछि स्वार्थ समुहहरु घेरा हाल्न आउछन। ब्यक्तिगत स्वार्थ र स्वार्थ समुहहरुबाट सचेत रहन सक्नुभयो भने वहाँको राजनीतिक भविष्य उज्वल हुनेछ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको