Like us!
Follow us!
Connect us!
Watch us!

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ सम्बन्धी जिज्ञासाकाे सम्पूर्ण विवरण

अर्थ संसार

आइतबार, २५ मंसिर २०७९, १५ : ३५ मा प्रकाशित

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ सम्बन्धी जिज्ञासाकाे सम्पूर्ण विवरण

धितोपत्र बोर्डले वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर (आईपीओ) निष्कासनमा १०% आरक्षण दिने निर्देशिका लागू गरेपछि पछिल्लाे समय कुनैपनि कम्पनीहरूले साधारण सेयर (आईपीओ) निष्कासन गर्दा वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि पनि आईपीओको हिस्सा छुट्याउन थालेका छन् । 

वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासन सम्बन्धी जिज्ञासाका बारेमा तल उत्तर दिइएकाे छ । 

क. वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सार्वजनिक निष्कासन भएका धितोपत्र खरिद गर्न कस्तो व्यवस्था गरिएको छ ?

उत्तरः- नेपाल धितोपत्र बोर्ड द्वारा जारी “ धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३” को नियम ९ को उपनियम (६क) अनुसार “संगठित संस्थाले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित शेयरको दश प्रतिशत शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्नुपर्ने” भन्ने व्यवस्था गरिएको छ ।

ख. यो व्यवस्था कहिलेदेखि लागू भएको हो?

उत्तरः- नेपाल धितोपत्र बोर्ड द्वारा मिति २०७९।०७।१७ गते देखि लागू हुने गरी “ धितोपत्र निष्काशन तथा बाँडफाँड (छैठौ संशोधन) निर्देशिका, २०७९ " जारी गरेकोले उक्त मिति पश्चात् धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति प्राप्त गर्ने सम्पूर्ण संगठित संस्थाको प्रारम्भिक सार्वजनिक निष्काशनमा यो व्यवस्था लागू हुन्छ ।

ग. वैदेशिक रोजगारीमा रहेका नेपालीले यस किसिमको निष्काशनमा खरिद आवेदन दिन के के मापदण्ड पुरा गर्नुपर्छ ?

उत्तरः- वैदेशिक रोजगारीमा रहेका नेपालीको लागि छुट्याईएको धितोपत्रको शेयर खरिद आवेदन दिनका लागि निम्न बमोजिमको मापदण्ड पुरा गरेको
हुनु पर्छः
१. नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक मार्फत आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नु पर्छ ।
२. सिडिएससिबाट अनुमति प्राप्त निक्षेप सदस्य (डिपि) मार्फत आफ्नो नाममा हितग्राही खाता खोल्नु
पर्छ ।
३. नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरेको विवरण पेश गरि विप्रेषण (रेमिट्यान्स) बचत खाताको लागि बैंक मार्फत सिआरएन ( सि आश्वा रजिष्ट्रेशन नम्बर ) लिनु पर्छ ।
४. आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा पचास हजार रुपैयाँ आफू रोजगार रहेको मुलुक बाट जम्मा गरेको हुनुपर्छ । आवेदकले सार्वजनिक निष्काशन हुने अन्तिम मितिभित्र आफू रोजगार रहेको मुलुकबाट रकम जम्मा गरी आवेदन दिन सक्नेछन्।

घ. के श्रम स्विकृती नभई विदेशमा रहेका नेपालीले यो सुविधा प्राप्त गर्न सक्छन् ?

उत्तरः- सक्दैनन् । श्रम स्विकृती नभई विदेशमा रहेका नेपालीले यो सुविधा प्राप्त गर्न सक्दैनन् ।

ङ. के यो व्यवस्था लागू हुनु पूर्व सार्वजनिक निष्काशनमा सहभागी भएका बैदेशिक रोजगारीमा रहेका नेपालीका हकमा फेरि नयाँ हितग्राही खाता तथा बैंक खाता खोल्नु पर्छ ?

उत्तरः- यो व्यवस्था लागू हुनु पूर्व सार्वजनिक निष्काशनमा सहभागी भएका बैदेशिक रोजगारीमा रहेका नेपालीले यो व्यवस्था अनुरूप छुट्याईएको धितोपत्र खरिद आवेदन दिनका लागि फेरि नयाँ हितग्राही खाता खोल्नु पर्दैन। तर बैंक खाता भने विप्रेषण (रेमिट्यान्स) बचत खाता नै खोल्नु पर्छ। त्यसैले आफ्नो बैंकमा सम्पर्क गरी आफ्नो नाममा विप्रेषण (रेमिट्यान्स) बचत खाता खोली उक्त खाताको लागी नयाँ सिआरएन नम्बर लिनु पदर्छ ।

च. सिआरएन नम्बर भनेको के हो ?

उत्तर:- धितोपत्रको सार्वजनिक निष्कासनका क्रममा खरिद आवेदन दिने आवेदकको हितग्राही खाता तथा बैंक खाता रुजु गरी योग्य आवेदकलाई सिडिएससिको सि-आश्वा प्रणालीमा दर्ता गरी प्रदान गरिने दर्ता नम्बर लाई सि आश्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) नम्बर भनिन्छ। धितोपत्र खरिद आवेदन दिनका लागि प्रत्येक आवेदकका लागि यो नम्बर अनिवार्य गरिएको छ ।

छ. पहिलेदेखि नै विप्रेषण खाता सञ्चालनमा रहेको अवस्थामा पुनः नयाँ विप्रेषण (रेमिट्यान्स) बचत खाता खोल्नुपर्छ ?

उत्तरः- पर्दैन । पहिले देखिनै विप्रेषण खाता सञ्चालनमा रहेको अवस्थामा आफ्नो बैंकमा सम्पर्क गरी श्रम स्वीकृतिको कागजात पेश गरपश्चात बैकबाट खाताको स्किम परिवर्तन भएको जानकारी प्राप्त गरेपछि सार्वजनिक निष्काशनमा आवेदन दिन सकिन्छ ।

ज. हालसम्म हितग्राही खाता तथा विप्रेषण (रेमिट्यान्स) बचत खाता नखोलेका र हाल विदेशमा नै बसिरहेका नेपाली नागरिकले यो सुविधा प्राप्त गर्न के गर्नुपर्ला ?

उत्तरः- हाल विदेशमै रहेका नागरिकले हितग्राही ( डिपि) खाता खोल्नका लागि सिडिएससि बाट निक्षेप सदस्यता प्राप्त गरेका संस्था तथा विप्रेषण (रेमिट्यान्स) बचत खाता बोर्डबाट आस्बा सदस्यता प्राप्त गरेका बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन खाता खोल्न सकिन्छ । यसका लागि आफूलाई पायक पर्ने बैंक तथा वित्तीय संस्थाको वेभ साइटमा उपलब्ध गराइएको विद्धतिय ( अनलाईन) माध्यमको प्रयोग गरी खाता खोल्न सकिन्छ ।

झ. के विप्रेषण (रेमिट्यान्स) बचत खातामा स्वदेशबाट नै रकम जम्मा गरेर खरिद आवेदन दिन पाईन्छ ?

उत्तरः- पाईदैन । बैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको धितोपत्र खरिद आवेदन दिनका लागि विदेशबाट आफ्नो विप्रेषण (रेमिट्यान्स) बचत खातामा जम्मा गरेको रकम सिमाभित्र रही धितोपत्रको निष्काशनमा खरिद आवेदन दिन पाईन्छ ।

ञ. वैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्र निष्काशनमा खरिद आवेदन दिने तरिका के-के हुन् ?

उत्तरः- आस्वा सदस्या बैंक मार्फत विप्रेषण (रेमिट्यान्स) बचत खाताका लागि सिआरएन नम्बर प्राप्त गरेका वैदेशिक रोजगारीमा रहेका नेपालीले मेरो शेयर मार्फत वा आस्बा सदस्य बैंकको शाखा कार्यालयमा सम्पर्क गरी खरिद आवेदन दिन सक्छन् ।

ट. के वैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिनेले सर्वसाधारणका लागि छुट्टयाईएको धितोपत्रको निष्काशनमा समेत खरिद आवेदन दिन पाईन्छ ?

उत्तरः- पाईँदैन । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिई शेयर प्राप्त गरेका व्यक्तिले सर्वसाधारणका लागि छुट्टयाईएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिन पाईदैन ।

ठ. वैदेशिक रोजगारीमा रहेका नेपालीका लागी छुट्टाइएको धितोपत्रको निष्काशनमा खरिद आवेदन दिने पक्रियामा समस्या भएमा के गर्ने ?

उत्तरः- धितोपत्रको निष्काशनमा खरिद आवेदन दिने पक्रियामा समस्या भएमा सि-आस्वा रजिष्ट्रेशन नम्बर (सिआरएन) लिएको आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामा सम्पर्क गरी समस्याको समाधान गर्न सकिन्छ। आस्वा सदस्य बैंकबाट उक्त समस्या समाधान नभएमा सिडिएससि एण्ड क्लियरिङ्ग लि. मा सम्पर्क गरी सो समस्याको समाधान गर्न सकिन्छ।

(श्राेत : नेपाल धिताेपत्र बाेर्ड)

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको