नेपाल इन्भेष्टमेण्ट बैंक र मेगा बैंक नेपाल लिमिटेड दुई बैंक मर्ज भई नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको नामबाट आजदेखि विधिवत रुपमा एकीकृत कारोबार सुरु गरेका छन् । 'समृद्धिको पथमा सँगै अघि बढ्दै' भन्ने नाराका साथ एकीकृत कारोबार सुरु गरेको यस बैंकले एकता र उत्कृष्टतालाई जोड दिएको छ ।
काठमाडौंमा आज आयोजित एक कार्यक्रममा नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेडका अध्यक्ष पृथ्वीबहादुर पाँडे र मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले संयुक्त रूपमा एकीकृत कारोबार शुभारम्भ भएको घोषणा गरे । दुई बैंकबीच शेयर स्वाप अनुपात १००:१० रहेको छ । मर्जरपछि बनेको नयाँ बैंकको अध्यक्षमा साविक नेपाल इन्भेष्टमेण्ट बैंककै अध्यक्ष पृथ्वीबहादुर पाँडे र प्रमुख कार्यकारी अधिकृतमा ज्योतिप्रकाश पाण्डे रहेका छन् ।
नयाँ सञ्चालक समितिमा दुवै बैंकका सञ्चालकहरुको प्रतिनिधित्व रहने गरी नेपाल इन्भेष्टमेण्ट बैंकको तर्फबाट प्रजन्य राजभण्डारी, कवि कुमार टिब्रेवाला र मेगा बैंकको तर्फबाट गोपाल खनाल, मदन कुमार आचार्य र मुक्ति राम पाण्डे रहेका छन् । त्यसैगरी साविक नेपाल इन्भेष्टमेण्ट बैंकमा स्वतन्त्र सञ्चालकको रुपमा रहेका मञ्जु बस्नेत नै अब बन्ने सञ्चालक समितिमा पनि स्वतन्त्र सञ्चालक रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस