Like us!
Follow us!
Connect us!
Watch us!

बैंकहरुमा बढ्यो तरलता, राष्ट्र बैंकले १८ महीनापछि बैंकहरुबाट उठायो ५ अर्बको रिभर्स रिपो

पत्रपत्रिका

शुक्रबार, १३ माघ २०७९, ०६ : २० मा प्रकाशित

बैंकहरुमा बढ्यो तरलता, राष्ट्र बैंकले १८ महीनापछि बैंकहरुबाट उठायो ५ अर्बको रिभर्स रिपो

नेपाल राष्ट्र बैंकले १८ महीनापछि रिभर्स रिपो जारी गरी बजारबाट तरलता उठाएको छ । बैंक, वित्तीय संस्थाहरूको अन्तरबैंक ब्याजदर मौद्रिक नीतिको लक्ष्यभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट तरलता खिचेको हो ।

राष्ट्र बैंकले बिहीवार बोलकबोलबाट ७ दिन अवधिको रिभर्स रिपोमार्फत बजारबाट ५ अर्ब रुपैयाँ उठाएको छ । बिहीवारको रिभर्स रिपोमा सातओटा बैंक, वित्तीय संस्थाले ३६ ओटा बोलपत्रमार्फत १५ अर्ब ६० करोड रुपैयाँ दिन चाहेका थिए । त्यसमा अधिकतम ४ दशमलव ४६ प्रतिशत, न्यूनतम ४ दशमलव २४ प्रतिशत ब्याजदर बोलकबोल भएकोमा औसत ४ दशमलव ३२ प्रतिशत ब्याजदर कायम भएको राष्ट्र बैंकले बताएको छ ।

यसअघि राष्ट्र बैंकले गत साउनमा रिभर्स रिपो र निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता खिचेको थियो । २०७८ साउन ५ गते रिभर्स रिपोमार्फत २८ अर्ब ३५ करोड तथा साउन १३ र २१ गते निक्षेप संकलनमार्फत ३१ अर्ब ६५ करोड रुपैयाँ बजारबाट उठाएको थियो । त्यसपछि भने लगातार बजारमा तरलता पठाउँदै आएको छ ।

गत आर्थिक वर्ष (आव) मा रिपोमार्फत ४ खर्ब ७६ अर्ब ३९ करोड, सोझै खरीदमार्फत ५५ अर्ब ९२ करोड र स्थायी तरलता सुविधामार्फत ९१ खर्ब ७० अर्ब ११ करोड गरी कुल ९७ खर्ब २ अर्ब ४१ करोड रुपैयाँ तरलता बजारमा प्रवाह गरेको थियो । यसैगरी चालू आवको मङ्सिरसम्ममा राष्ट्र बैंकले रिपोमार्फत २ खर्ब ४१ अर्ब २० करोड, सोझै खरीद बोलकबोलमार्फत ८३ अर्ब ८५ करोड र स्थायी तरलता सुविधामार्फत २६ खर्ब ८२ अर्ब ७० करोड गरी कुल ३० खर्ब ७ अर्ब ७५ करोड रुपैयाँ तरलता बजारमा प्रवाह गरिसकेको छ ।

पछिल्लो समय रेमिट्यान्स आप्रवाहमा देखिएको सुधारका कारण बैंकहरूमा निक्षेप बढे पनि उच्च ब्याजदरका कारण बैंकहरूले कर्जा प्रवाह विस्तार गर्न सकेका छैनन् । यसका कारण ट्रेजरी बिल्स र अन्तरबैंक ब्याजदर पनि घटिरहेको छ । अन्तरबैंक दर मौद्रिक नीतिले तोकेको सीमाभन्दा तल ओर्लिएपछि रिभर्स रिपो जारी गरिएको राष्ट्र बैंकले दाबी गरेको छ । ‘अहिले बजारमा अधिक तरलता छैन,’ राष्ट्र बैंक स्रोतले भन्यो, ‘अन्तरबैंक दर मौद्रिक नीतिको सीमाभन्दा तल झरेपछि रिभर्स रिपो जारी गरिएको हो ।’ आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको