Like us!
Follow us!
Connect us!
Watch us!

भारतबाट ३०० किलोमिटर यात्रा गरेर आँखा उपचार गर्न नेपालमा

कृष्ण भट्टराई

मंगलबार, २४ माघ २०७९, १२ : ०६ मा प्रकाशित

भारतबाट ३०० किलोमिटर यात्रा गरेर आँखा उपचार गर्न नेपालमा

करिब ३०० किलोमिटरको यात्रा गरेर भारतको उत्तरप्रदेशबाट आएका जितेन्द्र शर्मा धनगढी कैलालीमा नेपाल नेत्रज्योति संघले संचालन गरेको गेटा आँखा अस्पताल परिसरमा भेटिए । उनी आफ्ना ५ जना आफन्तहरुको आँखाको शल्यक्रिया गराउन ३०० किलोमिटरको यात्रा गरेर धनगढी आएका हुन् । 

जितेन्द्र पहिलो पटक गेटा अस्पताल आएका भने होइनन् ।  सामान्य नेपाली समेत बोल्न जान्ने उनले अहिलेसम्म आफ्नो गाँउबाट करिब ५०० जना मानिसहरुलाई आँखाको उपचार गराउन गेटा ल्याइसकेको बताउँछन् । नेपालको रहनसहन र अस्पतालको बारेमा पनि राम्रोसँग बुझेका उनलाई अहिले अस्पताल पनि आफ्नै घर जस्तो लाग्ने बताउँछन् । 

भारतमा आफ्नो घरबाट करिब ३० किलोमिटरको दुरीमा आँखा अस्पताल भएपनि गेटाको गुणस्तरिय स्वास्थ्य सेवा र उपचार शूल्कका कारण आफूहरु भारतमा उपचार नगराई यहाँ आउने गरेको बताउँछन् उनी । ‘अहिलेसम्म मैले ल्याएका मानिस सबैको उपचार एकदमै राम्रो छ हाम्रो जिल्लामा सबैजनाले यहाँ गरेको जस्तो उपचार कहीँ पनि हुँदैन भन्छन् ’ उनले भने । 

‘हाम्रो गाँउबाट करिब २८ किलोमिटरको दुरीमा सितापुर आँखा अस्पताल पनि छ तर हामी त्यहाँ उपचार नगराई यहाँ आउछौ’ उनले भने ‘त्यहाँ मोतिविन्दुको अपरेशन गर्दा करिब १५ हजार रुपैयाँ जति त खर्च भइहाल्छ तर यहाँ आएर उपचार गराउँदा हाम्रो आते जाते भाडा खानासहित करिव ६ हजार भारतिय रुपैयाँमा काम सकिन्छ अनि त्यहाँ भन्दा यहाँ बढी राम्रो उपचार पनि हुन्छ ।'

गाँउका सबै बिरामीहरुलाई आफैले यहाँ उपचार गर्न ल्याएको बताउने उनले शल्यक्रिया पछि बिरामीको जिवनमा आउने परिवर्तन र उनीहरुको ओठमा आउने खुसीले आफुलाई सबैभन्दा सन्तुष्टि दिने बताउँछन् । 

त्यस्तै उत्तरप्रदेश कै कर्नोल जिल्लाबाट मोतिबिन्दुको शल्लेक्रियाका लागि नेपाल आएका ७५ वर्षिय नथ्थु सिंह प्रसन्न मुद्रामा भेटिए । करिब २ वर्षदेखि मोतीविन्दुका कारण राम्रोसंग आँखा नदेखेका उनलाई शल्यक्रिया पछि नयाँ जीवन पाएको महशुस भएको बताउँछन् ।

आफ्नो घरबाट १० किलोमिटको दुरीमै आँखा अस्पताल भएपनि उनलाई त्यहाँ भन्दा नेपालमै आँखा उपचार गराउन मन लाग्यो । आफ्नो छिमेकी र पहिले पनि यहाँ आएर उपचार गराएका आफन्त हरुको कुरा सुनेपछि त्यहाँको अस्पतालमा उपचार गराउनै मन लागेन र उनी नेपाल आए । 

याे पनिः ‘बार्षिक लाखौ भारतिय नागरिकहरुले नेत्रज्योति संघका अस्पतालबाट आँखा उपचार सेवा लिइरहेका छन्’

शल्यक्रियाको भोलिपल्टै आफ्नो घर जाने तरखरमा रहेका उनले भने ‘पहिले त शल्यक्रिया गर्ने भन्दा केहि डर पनि लागेको थियो तर शल्यक्रिया पछि त आफु किन डराएको रहेछु भन्ने लाग्यो यति सजिलै हुने रैछ अहिले त सबैकुरा प्रष्टसँग देख्छु अब कसैको सहायता बिनै म मेरा सबै काम गर्न सक्छु ।’

गेटा आँखा अस्पतालमा आँखा परिक्षण गराउन आउने बिरामीको  करिब ५० प्रतिशत बिरामी भारतिय नै हुन्छन् भने अप्रेशन गराउन आउने बिरामीहरु ६० प्रतिशत भारतीय हुने गरेको छ । अस्पतालले नेपालीहरुका लागि प्रदेशका ३ स्थान महेन्द्रनगर, डडेल्धुरा र टीकापुरमा सेकेण्डरी स्तरका अस्पताल स्थापना गरी सेवा प्रवाह गर्नको साथै धनगढीमा हप्तामा एक पटक र कंचनपुरको बेलौरीमा महिनामा एक पटक शल्यक्रिया सेवा प्रदान गरी रहेको र स्थानियस्तरमा गई शिविरहरु समेत सञ्चालन गर्ने हुनाले अस्पातलमा हुने शल्यक्रियामा नेपाली भन्दा बढी भारतिय नागरिकहरु नै बढी देखिन्छन् । 

गत आर्थिक वर्षमा अस्पतालमा कुल १९ हजार ५८१ जनाको आँखाको शल्यक्रिया भएको थियो जसमध्येमा ११ हजार ५९२ जना भारतिय नागरिकहरु थिए । गत आर्थिक वर्षमा अस्पतालबाट ८ हजार २३६ जना भारतिय नागरिकहरुको मोतिविन्दुको शल्यक्रिया भएको अस्पतालले जनाएको छ । 

सन् १९८१ मा स्थापना भएको गेटा आँखा अस्पतालले हाल सुदरपश्चिम प्रदेशमा ३ वटा दोस्रो स्तरका आँखा अस्पताल र १८ वटा आँखा उपचार केन्द्रहरु सञ्चालन गरिरहेको छ । 

अस्पतालले प्रदेशका ९ वटै जिल्लामा आफ्नो आँखा उपचार सेवालाई विस्तार गरिसकेको छ । ९ वटै जिल्लामा आँखा उपचार केन्द्रहरु स्थापना भएको र करिब ८० प्रतिशत समस्याहरु त्यही केन्द्र मार्फत समाधान हुने र केहि जटिल समस्या भएमा  टेलिमेडिसिनको माध्यमबाट गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श र उपचार गरिने भएकोले थोरै मात्रै आँखाका बिरामीहरुलाई अस्पतालमा रिफर गर्ने गरेको बताउछन् अस्पतालका आउटरिच म्यानेजर रमेश चन्द्र भट्ट । 

सुदुरपश्चिम प्रदेशको सबै क्षेत्रमा आँखा उपचार सेवामा पहूँच बढाई अन्धोपन न्यूनीकरण गर्न गेटा आँखा अस्पतालले महेन्द्रनगर, टीकापुर र डडेल्धुरामा नेत्र विशेषज्ञ सेवा सहितको अस्पताल स्थापना गरी आँखा उपचार तथा अप्रेशन सेवा प्रदान गर्नको साथै आँखा उपचार केन्द्र धनगढीमा हप्तामा एक पटक प्रत्येक बिहीबार र आँखा उपचार केन्द्र बेलौरीमा प्रत्येक महिनाको अन्तिम बुधवार महिनामा एक पटक गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट अप्रेशन सेवा प्रदान गर्दै आईरहेको छ ।

यसका साथै प्रदेशका ९ वटै जिल्लामा स्थापना गरिएका आँखा उपचार केन्द्रहरुबाट आँखा उपचार सेवा प्रदान गरि रहेको तथा आँखा उपचार केन्द्रमा सेवा लिन आएका जटिल प्रकृतिका बिरामीहरुलाई टेलिमेडिसिन सेवा द्वारा गेटा आँखा अस्पतालका नेत्र विशेषज्ञबाट परामर्श तथा उपचार सेवा पनि प्रदान गरिँदै आएको छ ।

गत वर्ष गेटा आँखा अस्पताल र अन्तरगतका शाखाहरु तथा शिविरबाट २,५१,८३१ जनालाई सेवा प्रदान गरेकोमा २४,१४१ जनालाई अप्रेशन सेवा प्रदान गरेको छ । अस्पताल र शाखाहरुबाट उपलब्ध गराईने नियमित उपचार सेवाको अतिरिक्त प्रत्येक वर्ष विभिन्न सरकारी तथा गैर सरकारी सामाजिक संस्थाहरुबाट सहयोग जुटाई  यस प्रदेशका ९ वटै जिल्लाहरुमा ग्रामीण क्षेत्रसम्म आँखा उपचार सेवाको पहूँच बढाउन वर्षमा ६० भन्दा बढि स्थानमा आँखा शिविर सञ्चालन गरी निःशुल्क सेवा प्रदान गर्दै आईरहेको छ ।

हाल नेत्रज्योति संघले गेटा आँखा अस्पताल सहित २७ वटा आँखा अस्पताल, १५० वटा आँखा उपचार केन्द्र र ४४ वटा जिल्ला शाखाहरु मार्फत नागरिकहरुलाई सर्भसुलभ र गुणस्तरिय आँखा स्वास्थ्य सेवा प्रवाह गरिरहेको छ । संघले आर्थिक अभावका कारण कोहि पनि नागरिकले दृष्टिबिहीन जीवन यापन गर्न बाध्य नहुन भन्ने हेतुले जनताको घर दैलोमै सहज, सुलभ र सस्तो रुपमा गुणस्तरिय सेवा प्रदान गरिरहेको र सोका लागि विभिन्न निकायहरुसंगको साझेदारिमा उज्यालो अभियान कार्यक्रम समेत सञ्चालन गदै आएको छ जसबाट धेरै गरिबीको रेखामुनी नेपाली नागरिकहरुले निःशुल्क आँखा जाँच तथा शल्यक्रिया सेवा समेत पाइरहेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको