Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारलाई तत्कालै उकास्ने पक्षमा अर्थमन्त्री, लगानीकर्तालाई आफैले फोन गरेर भेट्न बोलाए

अर्थ संसार

सोमबार, २० चैत्र २०७९, १३ : २७ मा प्रकाशित

सेयर बजारलाई तत्कालै उकास्ने पक्षमा अर्थमन्त्री, लगानीकर्तालाई आफैले फोन गरेर भेट्न बोलाए

पूँजीबजारको सुधारका लागि नवनियुक्त अर्थमन्त्री डा. प्रकाश शरण महतले सकृयता बढाएका छन्। आफू अर्थमन्त्रीमा नियुक्त हुनेबित्तिकै अर्थसंसारसँगको टेलिफोन वार्ताको क्रममा अर्थतन्त्रलाई उकास्ने हो भने सबैभन्दा सेयर बजारलाई सम्बोधन गर्नुपर्ने कुरा आफूले राम्ररी बुझेको र त्यसका लागि तत्काल कदम चाल्ने बताएका थिए। आज अर्थमन्त्री आफैले लगानीकर्ताहरुलाई डाकेर पूँजीबजारका लगानीकर्ताहरुको मनोबल बढाउन तत्काल के के गर्नुपर्छ र पूँजीबजारको विकास र विस्तारका लागि दिर्घकालमा गरिनुपर्ने कामहरु के के हुन् भनेर सुझाव लिएका छन्।  

विगतमा लगानीकर्ताहरुले अनेकौं प्रयास गर्दा पनि अर्थमन्त्रीलाई भेट्न मुस्किल हुने गरेको थियो। डा. महतले भने आफैले फोन गरेर तपाईंहरुका सुझावहरु लिएर आउनुहोस्, मैले के के गर्नुपर्छ तत्काल गरिहाल्छु भनि भेट्न बोलाएको लगानीकर्ता अम्बिका प्रसाद पौडेलले बताए। 

'उहाँ पूँजीबजार प्रति निकै चिन्तित रहेको पाएँ। राष्ट्र बैंक र धितोपत्र बोर्डसँग समन्वय गरेर तत्कालै लगानीकर्ताको मनोबल बढाउने प्रतिबद्धता माननीय अर्थमन्त्रीज्यूले जनाउनुभएको छ। हामीले लिखित रुपमा सुझाव पनि पेश गरेका छौं।' पौडेलले बताए। अर्थमन्त्रीको तदारुकताबाट अब चाहिँ केहि हुन्छ कि भन्ने आशा जागेको पनि उनले बताए। नीतिको अस्थिरताका कारणले सेयरबजारमा निराशा छाएको र विज्ञ अर्थमन्त्रीका नाताले जुन नीतिहरुले बजारको अवस्था डामाडोल बनाएको हो ति नीतिहरुलाई संसोधन गर्नुपर्ने सुझाव आफूहरूले दिएको र जवाफमा अर्थमन्त्रीले लगानीको माहोल सकारात्मक नभएको र त्यसलाई पोजिटिभ सेन्टिमेन्टमा लानुपर्ने चुनौती रहेको ; अर्थतन्त्रको सुधारका लागि सेयर बजारलाई उकास्नु आवश्यक रहेको ; राष्ट्र बैंकले लिएका कतिपय नीतिहरुको प्राभाव सेयर बजारमा परेको कुरा पनि आफूले बुझेको र राष्ट्र बैंकसँग प्रारम्भिक कुरा भईसकेको र थप छलफल गरी व्यक्तिगत रुपमा कसलाई के लाभ हुन्छ, कसलाई के हानी हुन्छ भन्दा पनि आहिलेको आवश्यकता जे छ त्यहि गरिने बताएका थिए।  

छलफलको नेतृत्व अम्बिका प्रसाद पौडेलले गरेका थिए भने ब्रोकर, मर्चेन्ट बैंकर र अन्य लगानीकर्ताहरु पनि छलफलमा उपस्थित थिए। 

सो अवसरमा नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजी बजार फोरमका तर्फबाट लिखित सुझाव पनि पेश गरिएको थियो। सो सुझाव पत्रमा अर्थ मन्त्रालय, राष्ट्र बैंक र धितोपत्र बोर्डका तर्फबाट गरिनुपर्ने कार्यहरु उल्लेख गरिएका छन्। सेयर बजार सुधारका सम्बन्धमा विगतमा गठन भएका कार्यदल, उपसमितिहरुले तयार गरेका प्रतिवेदनहरुमा उल्लेखित विषयहरुलाई कार्यान्वयन गराउनुपर्ने, सबै सरोकारवालाहरुलाई समावेश गरी कार्यदल गठन गर्ने र सो कार्यदलले दिएका सुझावहरु कार्यन्वयन गर्नुपर्ने, बैंक बैक वित्तिय संस्थाले हाल चुक्ता शेयर पूँजीको ४० प्रतिशतमात्र शेयर धितोको कर्जा दिन पाउने ब्यवस्थालाई हटाएर, कुल कर्जा लगानीको को १० प्रतिशत सुचिकृत कम्पनीको धितोमा कर्जा दिन पाउने ब्यवस्था गर्ने, साविकमा भएको ब्यवस्था बमोजिमनै शेयरधितो कर्जाको पूँजी जोखिमा भारलाई १५० बाट घटाई १०० मा झार्ने, साविकमा भएको ब्यवस्था बमोजिमनै बैंक बित्तिय संस्थालाई क्रस होल्डिङ्ग नहुने गरि शेयर खरिद गर्न खुल्ला गर्ने, 
साविकमा भएको ब्यवस्था बमोजिमनै शेयर धितोको कर्जाको लागि रु १२ करोड सम्मको सिमा लागु नहुने ब्यवस्था गर्ने  लगाएतका कुराहरु सो सुझावपत्रमा उल्लेख गरिएका छन्। त्यस्तै नयाँ स्टक एक्सचेन्ज तथा ब्रोकर लाइसेन्स, ब्रोकर कमिसन घटाउनुपर्ने लगाएतका कुराहरु पनि सो सुझाव पत्रमा समेटिएका छन्।  


  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको