Like us!
Follow us!
Connect us!
Watch us!

रास्वपाले समर्थन फिर्तापछि गठबन्धनको निष्कर्ष : प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन

अर्थ संसार

आइतबार, २४ बैशाख २०८०, ०८ : ३३ मा प्रकाशित

रास्वपाले समर्थन फिर्तापछि गठबन्धनको निष्कर्ष : प्रधानमन्त्रीले विश्वासको मत लिनु पर्दैन

सत्तागठबन्धनको बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसको नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस, र जनता समाजवादी पार्टीलगायत सत्तारुढ गठबन्धनले विश्वासको मत लिनु नपर्ने निष्कर्ष निकालेको हो ।

बैठकपछि माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले भने, “प्रधानमन्त्रीले अब फेरि विश्वासको मत लिनुपर्ने कानुन छैन, आजको बैठकमा भोलिदेखि चल्ने संसद् बैठकलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।” 

अहिलेको बजेट र नीति तथा कार्यक्रममा के कुरालाई प्राथमिकता दिने भनेर प्रधानमन्त्रीले बैठकमा सुझाव माग्नुभएको सचेतक पाण्डेको भनाइ छ । बैठकमा संसदीय समिति, प्रधानन्यायाधीश नियुक्ति, नागरिकता लगायतको विधेयकलाई अगाडि बढाउने विषयमा पनि छलफल भएको थियो । बैठकमा अधिवक्तासँग पनि प्रधानमन्त्रीले सुझाव लिएका थिए । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्रीले फेरि विश्वासको मत लिनुपर्ने चर्चा चलिरहेका सन्दर्भमा गठबन्धनको बैठकले विश्वास मत लिनु नपर्नेमा निष्कर्ष निकालेको हो । बैठकमा समसामयिक राजनीतिक विषय, आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम र बजेटका विषयमा समेत छलफल भएको थियो ।

बैठकमा प्रधानमन्त्री दाहाल र माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङ र नेता शक्तिबहादुर बस्नेत सहभागी थिए । यस्तैगरी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र उपसभापति धनराज गुरुङ, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाल सहभागी थिए । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र नेता राजेन्द्र श्रेष्ठ, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायतको सहभागिता हुनुभएको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको