वरिष्ठ बाल शल्य चिकित्सक डा. दिनेश कोइराला अष्ट्रेलियाको सुप्रसिद्ध नेसनल लिडरशीप फोरमको एक सम्मेलनमा सहभागी हुने भएका छन् । १४ देखि १७ सेप्टेम्बरमा अष्ट्रेलियामा आयोजना हुन लागेको उक्त सम्मेलनमा डा. कोइराला नेपालको तर्फबाट त्यहाँको पार्लियामेन्टमा सञ्चालन हुने सो फोरममा 'की नोट स्पिकर'को रूपमा चुनिएका छन् ।
युवा नेतृत्व तथा विभिन्न क्षेत्रमा दख्खल राख्ने व्यक्तित्वहरूका लागि अष्ट्रेलियामा आयोजना हुने ठूला सम्मेलनहरूमध्ये यो सम्मेलन एक हो । विभिन्न क्षेत्रमा सक्रिय तथा नेतृत्वदायी भूमिका खेलेका व्यक्तित्वहरू लक्षित यो सम्मेलन लक्षित गरिन्छ । यस सम्मेलनमा अष्ट्रेलियाका पार्लामेन्टका सिनेटर, पार्लियामेन्ट फिडरल एमपी, ठूला व्यवसायीहरू तथा अन्य युवा नेताहरूसँग विभिन्न क्षेत्रमा छलफल गर्ने तथा अनुभव साटफेर समेत गरिनेछ ।
उक्त फोरमको कार्यकारी टिममा रहेका नेपाली व्यवसायी सागर लोहनीले यो वर्ष की नोट स्पिकिङमा डा. कोइरालाको नाम सिफारिस गरेका थिए । जसलाई सो फोरमको कार्यकारी समूहले कोइरालाले समाजलाई पुर्याएको योगदानको आधारमा उनलाई चुनेको हो ।
यस सम्मेलनमा सहभागी हुने नेपालबाट डा. कोइराला एक मात्रै व्यक्ति हुन् । चिकित्सकहरूमध्ये नेपालबाट अष्ट्रेलियाको संसदलाई सम्बोधन गर्ने उनी पहिलो व्यक्ति हुनेछन् ।
त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत डा. कोइरालाको स्थाई घर पोखरा हो । बंगलादेशमा डा. कोइरालाले पिडिएट्रिक सर्जरीको ५ वर्षे कोर्ष अध्ययन गरेका छन् । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट एमबिबिएस गरेका उनले बंगलादेशबाटै अमेरिकन युनिभर्सिटी अफ ढाकाबाट एमपिएच अध्ययन गरेका छन् । कोभिड महामारीको समयमा नेपालमा सबैभन्दा धेरै सर्जरी गर्नेमध्येका सर्जियनका रुपमा डा. कोइराला सम्मानित व्यक्ति हुन् । यस्तै २०७२ वैशाखको भूकम्पका समयमा धादिङ र सिन्धुपाल्चोकमा गई घाइतेहरूको उद्दार तथा उपचारमा सक्रिय उनलाई सरकारले राष्ट्र्रिय हिरोका रुपमा सम्मान समेत गरेको थियो । नेपालका दूर्गम गाउँहरूमा पुगी विभिन्न स्वास्थ्यसम्बन्धी शिविर गरि बिरामीहरूको उपचार गर्ने उनी अन्य प्राकृतिक प्रकोपका समयमा पनि धेरैको उद्दार तथा उपचारमा सक्रिय हुने चिकित्सक हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस