 
                            राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले सदनमा बोल्दै प्रदुषित राजनीतिक मानसिकतासहितको संस्कारले नियुक्ति दिलाउँदा अर्थतन्त्र तहसनहस भएको आरोप लगाएका छन् ।
मङ्गलबार संसदमा बोल्दै ढकालले देश किन आर्थिक मन्दीमा फस्दैछ भनेर सुझावहरु बुझाउँदा अर्थ मन्त्रालय र नियामकले सुनुवाइ नगरेको गुनासो गरे । बैंक वित्तीय संस्थामा नेपालको इतिहासमा पहिलो पटक सिडि रेसियो ८१-८२ प्रतिशत पुग्दा पनि कर्जा प्रवाह हुन नसकेको ढकालको भनाई थियो । राष्ट्र बैंकको खराब नीति र बैंकहरुको अस्वस्थ प्रतिस्पर्धाका कारण कर्जा प्रवाह निराशाजनक भएको उनले बताए ।
सेयरबजारबारे सम्बोधन गर्दै एकै महिना ३ अर्ब २५ करोडसम्म राजस्व बुझाएको बजारमा लगानीकर्ताले खर्बौको रकम गुमाउँदा अर्थमन्त्री र नियामकले चासो नदेखाएको ढकालको आरोप थियो । धितोपत्रले बोर्डले पनि लगानीकर्ताको हितमा केही नगरी सप्लाई भरथेक छोडेको उनले बताए । लगानीकर्ताको हितमा हुने काममा ढिलाई गर्ने बोर्डले नेगेटिभ नेटवर्थका आइपिओ स्वीकृति दिनेकुरामा छिटोपत्र बोर्ड बनेको ढकालको भनाई थियो ।
अर्थ मन्त्रीले गभर्नरले नटेरेको भनेर दिएको अभिव्यक्ति प्रति टिप्पणी गर्दै ढकालले प्रश्न गरे, "कसले चलाउने हो गभर्नर? अर्थ मन्त्रालय कि राष्ट्र बैंक, कुन ठूलो हो ।" प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १२ करोडको क्याप हटाउने बारे बल्ल मुद्दा उठान गरेकोमा आपत्ती जनाउँदै उनले प्रतिपक्षीले "तँ पिटे जस्तो गर् म रोए जस्तो गर्छु" जस्तो व्यहोरा देखाएको आरोप लगाए ।
राष्ट्र बैंक तथा धितोपत्र बोर्डमा प्रदुषित राजनीतिक संस्कारले नियुक्ति दिलाउँदा राष्ट्रव्यवस्थामा कस्तो असर पर्छ भन्ने बारे राष्ट्र बैंक र धितोपत्र बोर्डको नेतृत्व हेरेर जनता स्पष्ट भएको पनि उनले बताए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस