Like us!
Follow us!
Connect us!
Watch us!

‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’

अर्थ संसार

विहीबार, १६ कार्तिक २०८०, ०८ : ०५ मा प्रकाशित

‘गत वर्ष ६ लाख आम्दानी, यसपाली कागती बोटमै’

स्याङ्जामा किसानले उत्पादन गरेको कागतीले यस वर्ष उचित बजार पाउन सकेको छैन । वालिङ नगरपालिका–१४ अमलडाँडाका यामप्रसाद पौडेलले गत वर्ष कागती बिक्री गरेर रु ६ लाख आम्दानी गरेका थिए । यसपाली बजार अभावका कारण कागती बोटमै छ । उनले हालसम्म बिक्री गर्न सकेका छैन । कागतीले बजार नपाउँदा पौडेल चिन्तित छन्। 

“गत वर्ष कागती बिक्रीबाट राम्रै आम्दानी भएको थियो”, उनले भन्नुभयो, “यस वर्ष सिजन ९याम० मै  बजार पाउन सकेको छैन, बजार नपाएकै कारण कागती बोटमै छ ।” 

बजार पाउन सकेमा तत्कालै झण्डै एक टनसम्म कागती बिक्री गर्न सकिने पौडेल बताए । “कसैले  बजार सुनिश्चित गरे एक टनसम्म कागती बिक्री गर्न सकिन्छ”, उनले भने । स्थानीय बजारमा दैनिक १०÷१५ किलोमात्रै कागती खपत हुने गरेको उनले बताए । “दिनभर बजार डुलाउँदा मुश्किलले १०÷१५ किलो मात्र बिक्री हुन्छ । बजार नपाउँदा दिक्क लागेको छ”, पौडेल भन्छन।

पौडेलले स्याङ्जाका वालिङ, गल्याङ, बयरघारी, पुतलीबजारलगायत बजारका तरकारी पसल र होटलमा कागती बिक्री गर्दै आएका छन् । उनले २०७२ सालमा ‘पौडेल कागती फार्म’ दर्ता गरी पाँच रोपनीमा एकसय ५० कागतीका बोट लगाएका थिए । ‘सुन कागती २’ जातको कागतीका बेर्ना ल्याएर लगाएका पौडेलको अहिले दश रोपनी क्षेत्रफलमा तीन सय कागतीका बोट छन् ।

आठ वर्ष पहिला विदेशबाट नेपालमा करोडौँ रुपैयाँको कागती आयात हुने गरेको सुनेर कागती खेतीमा होमीएको पौडेलको भनाइ छ । “सुरुका दिनमा पाँच रोपनी क्षेत्रफलमा एक सय पचास कागतीका बिरुवा लगाएँ”, उनले भने, “कागतीको उत्पादन र बजार राम्रो भएपछि पुनः पाँच रोपनी जग्गा किनेर फेरि एकसय ५० बिरुवा थपेँ ।” सुरुमा लगाएका बोटले केही वर्षअघिदेखि उत्पादन दिँदै आएको र पछि लगाएको बोटले आगामी वर्ष फल दिने उनले बताए । 

विगत वर्षमा कागतीलाई ग्रेडिङ गरी प्रतिकिलो रु एक सय ३० देखि रु दुई सयसम्म बिक्री गर्ने गरिएको थियो । कागतीले बजार पाए यस वर्ष रु १२ लाखसम्म आम्दानी गर्न सकिने पौडेलको विश्वास छ । अन्य बाली लगाउँदा बाँदरको समस्या हुने गरेकाले व्यावसायिकरुपमा कागती खेती गरेको उनी बताउँछन् । कागती भण्डारण गर्न  शीतभण्डार नहुँदा पनि पौडेललाई समस्या भएको छ । “भण्डारण गर्न पाए पछि उचित मूल्य पाइन्थ्यो कि भन्ने लागेको छ”, उनले भने । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको