Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारी देखि स्वास्थ्य : कृषि मार्फत नेपाल बन्न सक्छ विकसित राष्ट्र

निरञ्जन साउद

अर्थ संसार

सोमबार, २५ मंसिर २०८०, १८ : ५४ मा प्रकाशित

रोजगारी देखि स्वास्थ्य : कृषि मार्फत नेपाल बन्न सक्छ विकसित राष्ट्र

नेपाल कृषि प्रधान देश हो र यहाँको कुल जनसंख्याको ६६.७ प्रतिशत जनसंख्या प्रत्यक्षरुपमा कृषि पेशामा संलग्न रहेका छन् । देशको कुल ग्राहस्थ उत्पादनको करिब ३३ प्रतिशत भाग कृषि क्षेत्रले ओगटेको छ । नेपाल भौगोलिक हिसाबले हेर्दा सानो देश हो तर, हावा पानीको हिसाबले भने ठाउँ अनुसार फरक–फरक किसिमको हावापानी पाईन्छ जसले गर्दा ठाउँअनुसार कृषि उपजहरु उत्पादन हुन्छ जसले गर्दा आर्थिक आम्दानी गर्न मद्दत पुग्छ ।

सर्वप्रथम  कृषि भनेको एउटा कला र विज्ञान हो जसमा हामीले विभिन्न वस्तुहरूको उत्पादन गरेर उपभोग गर्छौ । जसको लागि विभिन्न विधिहरूको आवश्यकता पर्छ । कृषि एउटा महत्वपूर्ण विषय मात्र नभएर प्रा‍णी जगतको अभिन्न अंग पनि हो जस बिना प्राणीहरूको अस्तित्व हुन सक्दैन । मानिसलाई आफ्नो जीवन निर्वाह गर्नको लागि आवश्यक पर्ने खाद्यतत्व, पौष्टिकतत्व सम्पूर्ण कृषिबाटै लिनुपर्दछ -जस्तै खाद्यतत्व, दुध, माछा, मासु आदी ।

यति सानो देश अनि कृषि क्षेत्रमा यतिधेरै सम्भाव्यता बोकेको देश विश्वमा नै एक हो जहाँ उच्च हिमाली भेगमा पशुपालन, पहाडी भेगमा फलफूल खेती र तराईमा खाद्यान्न उत्पादन हुन्छ । यहाँ कृतिम तरिकाले बालीजन्य र पशुजन्य उत्पादन गर्नु भनेको कृषि हो । पशुपालन, बाली उत्पादन, मतस्य पालन र अन्य जीव जन्तुको पालन वा खेती कृषि अन्तर्गत नै पर्दछन् । नेपाली समाजलाई नियालेर हेर्ने हो भने सबैभन्दा भरपर्दो पेशा कृषिलाई मान्न सकिने भएकोले धेरै नेपालीको जिविकोपार्जनको बलियो आधार पनि कृषि नै हो ।

 मानव सभ्यताको विकास क्रमसँगै परम्परागत रुपमा खेतिपातीको सुरुवात भएको पाईन्छ । जीवन निर्वाह तथा जीवन सञ्चालनको निम्ति कृषिबाट उत्पादित खाद्य नभई नहुने बाली हो । कृषि पेशा विश्वका अधिकांश मुलुकहरूले अपनाएको पेशा हो । कतिपय मुलुकहरूले कृषिलाई आधुनिकीकरणमा रुपान्तरण गरिसकेका छन् भने कतिपय अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी कृषि पेशा मै सीमित रहेका छन् ।

पछिल्ला समयमा नेपाल पनि कृषि आधुनिकतातर्फ बढिरहेको पाइए पनि नेपालको अधिकांश क्षेत्रमा अझैपनि परम्परागत कृषि प्रणाली तथा जीवन निर्वाहमूखी नै रहेको छ । कृषि नेपालको लागि मुख्य पेशा भएपनि देश वार्षिक रुपमा अरबौं रुपैयाँको खाद्यान्न विदेशबाट आयात गर्नुपर्ने अवस्थामा रहेको छ । यतिबेला नेपालका युवाहरु बैदेशिक रोजगारको क्रममा खाडिमुलुक देखि सुबिधा सम्पन्न देशहरुमा रोजगार खोज्दै विदेशको गल्ली गल्लिमा धाइरहेका छन् देशका अधिकांश गाउ युवाविहिन छन् ।

अधिकांश घरमा तपाइँको छोरा अनि तपाइँको छोरी कहाँ छन् भनेर सोध्यौ भने जवाफ हुन्छ–विदेश । बलियो पाखुरी भएका युवा विदेशतिरै पसिना बगाइरहँदा सुन फलदाउन सकिने उसको खेतबारीमा बनमारा र शिरु फुलेको अवस्थामा छ । त्यस्तै कतिपय युवाहरुका श्रीमतीहरु पनि सहरमा बच्चा पढाउने नाममा सहर तथा सम्बन्धीत जिल्लाको सदरमुकाममा कोठा भाडा लिएर बस्ने अनि विदेशबाट कमाएर पठाएको पैसाले सुखसयलको जिन्दगी बिताएको पाइन्छ भने कतिपय किसान, जमिन्दार तथा भूमिपतीकोमा न्यूनतम ज्यालामै काम गर्न वाध्य छन् । यसरी थुप्रै नेपाली कृषकहरू पुरानै प्रचलनमा काम गर्न बाध्य भएकै कारण नेपाल कृषि वस्तुहरूका लागि छिमेकी मुलुकहरूमा भरपर्नु परेको छ ।  

नेपालमा कृषिको सन्दर्भमा सकारात्मक कदम नचालिएको पनि होइन तर, विगत केहि वर्ष यता केहि कृषकले यस पेशालाई आधुनिक र व्यवसायिक रुपमा लैजाने अनुकरणीय प्रयास गरेका छन् । यस्ता प्रयासहरूले हालको कृषि बजारमा केही मात्रामा भएपनि स्थान लिएको छ भने केही अपवादलाई छोडेर नेपाली कृषिले अझै पनि युवा वर्गलाई आकर्षित गर्न सकेको छैन । जसको फलस्वरुप दिनहुँ हजारौको संख्यामा युवा रोजगारीकै खोजीमा खाडी मुलुक तथा अन्य मुलुक जान बाध्य छन् । जसमध्ये केहीले त विदेशमा कृषि मजदुरकै रुपमा पनि काम गरिरहेका छन् । सरकारले युवा वर्ग लक्षित कृषि कार्यक्रमलाई प्रभावकारी बनाउन नसक्दा यो समस्या निम्तिएको हो । जुन राष्ट्रकै गहन चुनौती बन्न पुगेको छ ।

मुलुकमा औद्यौगीकिकरण विकासको मुख्य आधार कृषि हो । राज्यको औद्यौगीकिकरणको लागि पनि उपलब्ध स्रोत र साधनलाई कृषिमैत्री बनाउन जरुरी छ । कृषिमा उत्पादन बढाउन सकेमा मात्र कृषिमा आधारित उद्योगलाई आवश्यक कच्चा पदार्थको अभाव हुँदैन । यसबाट औद्यौगीकिकरणको विकासले पनि गति लिन सक्ने थियो । हामीले कृषिलाई व्यवसायका रुपमा विस्तार गरी आफ्नो उपभोगको लागि मात्र नभएर बढीभन्दा बढी उत्पादन गरेर आय आर्जन गर्न सक्ने वातावरण बनाउनु पर्दछ ।

नेपालमा कृषि क्षेत्रको उन्नतीको लागि किसानहरूलाई हौसला दिनु जरुरी छ अनि राज्यले कृषि नीति बनाउँदा दुर्गम तथा ग्रामिण क्षेत्रमा कृषि सहकारी वा लघुवित्त संस्थाको माध्यमबाट स्थानीय निकायको परिचालन गरि सामूूहिक खेति प्रणालीको अवधारणा अगाडि बढाउन सके गरिबी तथा बेरोजगारी हटाउन सहयोग पुग्न सक्छ ।

आजभोलि अन्न तथा तरकारीजन्य कृषि प्रणालीमा आधुनिक प्रविधि तथा सूचना प्रणालीको प्रयोग गर्न थालिएको छ । आधुनिक खेतिमा कृषकहरूको भूमिका महत्वपूर्ण बन्दै गएको छ । आधुनिक खेति प्रणालीले कृषियोग्य भूमिको उत्पादकत्व बढाएको छ । आधुनिक प्रणाली अन्र्तगत आधुनिक मेशिन तथा प्रविधिको प्रयोग हुने हुँदा यसबाट भू–क्षयमा कमी, खडेरी, किरा लाग्ने, विभिन्न रोग लाग्ने र अन्य हानी नोक्सानीबाट जोगाउनुका साथै जमिनको उत्पादकत्व बढाउन मदत पुगेको छ । वालीनाली तथा पशुपालन सम्वन्धि आधुनिक तथा उन्नत प्रजनन प्रक्रियाको प्रयोग गर्नाले उत्पादन, गुणस्तर र विश्वसनियतामा बृद्धि गर्न सक्छ ।

 नेपालमा कृषिको महत्व धेरै छ । कृषि नै नेपालको विकासको प्रमुख आधार हो । नेपालमा कृषिको सम्भावना पनि त्यत्तिकै प्रचुर मात्रामा छ । हामीले स्रोतसाधन पाएको खण्डमा कृषिको मदतले हामी देशको मुहार फेर्न सक्छौ । देशलाई प्रगतीको दिशातिर लम्काउन सक्छौ । तसर्थ नेपालमा कृषिको महत्व एकदमै अमूल्य रहेको छ । हामीले कृषिको महत्वलाई निम्न अनुसार उल्लेख गर्न सक्दछौ।  हामीले पर्याप्त मात्रामा खाद्यान्नको उत्पादनमार्फत् आत्मनिर्भर भई खाद्यमादेखिएका संकटमा परिवर्तन ल्याउन सफल हुन सक्छौ । जसबाट हामी भोकमरी, अनिकाल र खाद्यान्नको कमि जस्ता समस्याहरूलाई जरैबाट हटाउन सक्षम हुनेछौं । हामीले हाम्रै देशमा उत्पादन भएका खाद्यान्नको प्रयोग गर्छौ जसबाट हाम्रो स्वास्थ्यलाई पनि महत्वपूर्ण पौष्टिक तत्व उपलब्ध हुन्छ ।

कृषिको विविधिकरण, व्यवसायिकरण, यान्त्रिकीकरण र गुणस्तरमार्फत् गरिबी र बेरोजगारीजस्ता समस्याहरू न्यूनिकरण गर्न सकिन्छ । कृषिको विकाससँगै देशमा विभिन्न कृषिसँग सम्बन्धीत उद्योगहरूको स्थापना हुन्छ जसबाट आम सर्वसाधारणले रोजगारीको अवसर पाउछन् र विदेशिनु पर्दैन । आफ्नै देशमा आफ्नै पसिना र मेहनतले कमाएर छाक टार्न सकिन्छ।  त्यसकारण कृषिले गरिबी न्यूनिकरण गर्न एकदमै महत्वपूर्ण भूमिका निर्वाह गरेको पाईन्छ। त्यसका लागि संघर्ष गर्नुपर्ने आजको अपरीहार्य आबश्यकता हो ।

यदि हामीले कृषिको महत्वलाई बुझेर कृषिमा केही गर्नपर्छ भन्ने सोंचका साथ लाग्यौ भने  विभिन्न कृषिजन्य वस्तुहरूको उत्पादन गरी देशको विकासका साथसाथै आर्थिक विकासमा समेत टेवा पुर्याउन सक्दछौ । हामीले उत्पादन गरेको वस्तुहरूलाई विदेशमा निर्यात गर्न सकेमा हामीले विदेशी डलर पनि आर्जन गर्न सक्छौ । उच्च मूल्यका बाली वस्तुको उत्पादन र निर्यात्मार्फत आर्थिक बृद्धि गर्न सकिन्छ। 

हामीले अधिकतम मात्रामा कृषिजन्य खाद्यको उत्पादन गरी त्यसको विदेशमा समेत निर्यात गरि व्यापार विस्तार गर्न सकिन्छ । त्यसको साथसाथै व्यापार घाटा न्यूनिकरण पनि गर्न सकिन्छ । हाम्रो देशको भौगोलिक अवस्था, हावापानी पनि कृषि उत्पादनको लागि उपयुक्त रहेका कारण कृषिको आधुनिकीकरणबाट व्यापार घाटासमेत कम गर्न सकिन्छ ।  

कृषिको विकासको लागि यसको अनुसन्धान अपरिहार्य रहेकाले नयाँ–नयाँ कुराहरूको अनुसन्धान पनि गर्न सक्छौ । जसको सहयोगले हामीले नयाँ बिरुवाहरु उत्पादन गर्न सक्छौं । बिरुवाहरुको उत्पादकत्व क्षमता, रोगकिरासँग लड्न सक्ने क्षमता आदिको विकास गर्न सक्छौं । त्यसरी नै नयाँ प्रजातिका विरुवाको आविस्कार, विरुवा अथवा जनावरको बसाईमा सुधार, उत्पादन क्षमता धेरै भएको विरुवाको विकास त्यसको साथसाथै अनुसन्धानबाट आधुनिक खेती गर्ने प्रविधिको पनि विकास हुन्छ । 

कृषिको व्यवसायिकरणले आत्मनिर्भर हुन मद्दत गर्छ । जसमा युवाहरूलाई कृषिमा आकर्षित गरी विदेश पलायनलाई निरुत्साहित गर्न मदत पुर्‍याउनुक साथै अर्थतन्त्रको निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ।

राष्ट्रका नागरिकहरु स्वस्थ हुनु पहिलो आधारभूत कुरा हो । यसरी नागरिक स्वस्थ हुने पौष्टिक तत्व युक्त ताजा फलफुल, गेडागुडी, तरकारी दुध जस्ता आहारा कृषिबाटै प्राप्त हुने गर्दछ । यस्ता ताजा पौष्टिक आहारा उत्पादन र प्रयोगबाट स्वस्थ समाज र विकसित राष्ट्र निर्माणमा सहयोग पुग्छ । आफै उत्पादन गरेको कृषि जन्य उपजहरूको प्रयोगबाट शारिरिक मानसिक विकासमा सहयोग पुग्छ ।
     

निरञ्जन साउद 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको