Like us!
Follow us!
Connect us!
Watch us!

वर्ष २०८० को अर्थतन्त्रलाई फर्केर  हेर्दा

अर्थ संसार

शुक्रबार, ३० चैत्र २०८०, ११ : ४२ मा प्रकाशित

वर्ष २०८० को अर्थतन्त्रलाई फर्केर  हेर्दा

२०८० सालमा नेपाली अर्थतन्त्रमा निकै उतारचढाव देखिए । विश्व अर्थतन्त्रमा देखिएका उतारचढावबाट नेपाल पनि मुक्त हुन सकेन । नेपाली बैंकिङ क्षेत्रले वर्षको सुरुदेखि नै आर्थिक मन्दीको प्रभाव बैंकहरुको कर्जाको विस्तार र असुलीमा पर्दा यो बर्षभरी नै असहज अवस्था भोग्नुपर्यो 
आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिकदेखि अर्थतन्त्रमा देखिएको संकट २०८० वर्ष भर कायम रह्यो ।

बजार महँगी, बैंकको ब्याजदरमा बृद्धि, राजस्व संकलनमा गिरावट र चालु खर्च बृद्धिभएसँगै देशको समग्र अर्थतन्त्र प्रभावित भई आम नागरिकले शास्ती भोग्नु पर्यो ।  

मन्दीको बर्ष 
आर्थिक मन्दीको वर्ष किनभने वर्ष २०८० को सुरुवात देखि अन्त सम्म नै असामान्य मन्दी को बादलले पुँजी बजार, घरजग्गा कारोबार र हरेक प्रकारका थोक तथा खुद्रा व्यापारलाई प्रभावित पारिराख्यो ।
कोरोना महामारी, रुस–युक्रेन युद्धको प्रभाव, जाजरकोटमा आएको विनासकारी भुकम्पलगायतले अर्थतन्त्रमा जताततै मन्दीको विषय चर्चामा छ । अर्थतन्त्रका बाह्य सुचकहरु सकारात्मक देखिए पनि आन्तरिक अर्थतन्त्रमा शिथीलता छाएको छ ।   

खासगरी कोभिड–१९ पछि आएको विश्व आर्थिक मन्दी, रुस–युक्रेन युद्धको प्रभावले सिर्जित आयात निर्यात र उत्पादनको प्रभावले यो वर्ष निकै कठिन बन्न पुग्यो । उच्च बजार महँगीका  यसै बखत श्रीलङ्कामा आएको तीव्र आर्थिक संकटले विश्व नै त्राहिमाम् बनायो ।

मन्दीको आतंकले कयौंले शुरू गर्न लागेका व्यवसाय नै शुरू गरेनन् । कतिपयले शुरू गरिसकेका व्यवसाय पनि लगानीभन्दा कम मूल्यमा बेचे । यस्तो हुँदा विदेशिने नेपालीको संख्यामा पनि निकै वृद्धि भयो । बजारमा यत्रतत्र देखिएको मन्दी शब्दलाई कतिपयले साँच्चिकै संकट भनेक छन्, कतिपयले हल्ला मात्रै भनेका छन् । 

अघिल्लो वर्षदेखि नै समग्र अर्थतन्त्रमा छाएको मन्दीलाई बैंकिङ क्षेत्रको तर्फबाट व्यवस्थापन गर्न राष्ट्र बैंकले ऋणीलाई दिएको सहुलियतको चपेटामा बैंकहरु पनि परे। 

सुन काण्डले चर्चा पाएको वर्ष 

गत साउन २ गते भन्सार पास भएर बाहिरिन लाग्दा राजस्व अनुसन्धान विभागको टोलीले बुधबार राति हङ्कङबाट ल्याइएको ब्रेक शुसहित झण्डै १०० किलो सुन बरामद गर्यो । ‘ब्रेक शु’भित्र लुकाएर ल्याएको करिब एक क्विन्टल सुन बरामद भएसँगै सुन तस्करीको नयाँ शैली खुलासा भयो ।
त्यसपछि सुन तस्कर समूहले २ महिनामा २२ पटक भित्र्याएको ‘ब्रेक शु’मा लुकाएर २ हजार किलोभन्दा बढी सुन भित्र्याएको प्रारम्भिक अनुसन्धानका क्रममा देखियो ।

त्यपश्चात् प्रहरीले विभिन्न जिल्लामा गरेको खोजीका क्रममा १ देखि ७ किलोसम्मको सुन बरामद भएको थियो ।
यसै वर्ष सुन काण्डमै पूर्वसभामुख कृष्णबहादुर महराका बाबुछोराको नाम मुछियो । इलेक्ट्रिक सिगरेट  भित्र लुकाएर ल्याइएको ८ करोड ५५ लाख बराबरको नौ किलो सुन तस्करी र बेचबिखन सञ्जालमा महरा बाबुछोरा पनि संलग्न रहेको प्रहरी प्रतिवेदनमै उल्लेख गरेको थियो ।

मंसिर २१ राति करिब १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परे । उनले सुनको प्लेट बनाएर शरीरमा राखेर सुन ल्याएका थिए । उनी मीन घलेको समूहमा रहेका खुलेको थियो । प्रहरीले घले समूहले १ सय ३८ किलो सुन ल्याएको छानबिन समितिको निष्कर्ष निकालेको छ ।अदालतमा सुन काण्डको मुद्दा विचाराधीन छ । यसी यो वर्षभरि सुन काण्डले चर्चाको पायो ।

सार्वजनिक ऋणको भार बढेको वर्ष

आन्तरिक आम्दानी घट्दै गएपछि सन् २०८० मा सार्वजनिक ऋण दायित्वमा उच्च वृद्धि भएको छ । नेपालको कुल सार्वजनिक ऋण २३ खर्ब ८८ अर्ब २६ करोड नाघिसकेको छ । यो नेपालको कुल ग्राहस्थ्य उत्पादनको ४२ प्रतिशतभन्दा बढी हो ।

सरकारले वार्षिक बजेट सार्वजनिक गर्दा पुँजिगत खर्चको मुख्य स्रोत सार्वजनिक ऋणलाई नै मान्ने गरेको देखिन्छ । तर, ऋण लिने, योजनाअनुसार काम गर्न नसक्ने र समयमा सावाँ ब्याज तिर्न नसक्ने प्रवृत्तिले वर्षेनी आकार मात्रै बढिरहेको हो । बढ्दो ऋणले अहिले प्रत्येक नेपालीले ८० हजार ७ सय रूपैयाँको भारी उठाइरहनुपरेको छ ।

सेयर बजार २००० बिन्दु वरिपरि घुमेको वर्ष

२०८० साल सेयर बजारका लागि धेरै उल्लेख्य सुधारको वर्ष भने देखिएन । यो वर्ष बजार ९४.०२ अंकले मात्रै बढ्यो । २०८० सालको वैशाख ३ गते पहिलो कारोबार १९३१.६८ बाट सुरु भएको बजार चैत २८ गते २०२५.७० बिन्दुमा बन्द भयो ।
यो बजारमा ४ सय अंकको उतार उढाव हुँदा राजनीतिक उतार चढाब, मन्त्री परिवर्तनको प्रभाव पनि देखियो नै । २०७९ चैत १७ गते देशले नयाँ अर्थमन्त्री डा. प्रकाशशरण महत पाइसकेको थियो । २०८० सालमा पनि नयाँ अर्थमन्त्री बर्षमान पुन बने । फागुन २१ गते बर्षमान पुन अर्थमन्त्रालयमा फर्किए ।

फागुन २० गते बजार १९६०.३० बिन्दुमा रहेको बजारले नयाँ मन्त्री पुनलाई राम्रैसँग स्वागत गरेझैं गरेर बजारमा एकाएक हरियाली देखियो । बजार ११७.७० अंकले बढेर २०७८ बिन्दुमा पुग्यो । तर त्यो खुसी धेरै समय टिक्न पाएन । त्यसको भोलिपल्ट नै बजारमा ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा रोकियो ।  पुन आएपछि बजार बढेर त्यसको एक सातापछि २१११.२१ बिन्दुमा पुग्यो । त्यसपछि घटेको बजार २ हजार बिन्दु वरिपरि घुमिरहेको छ ।

उपभोग बजार निराशमय

२०८० मा आर्थिक मन्दीको हल्ला र अत्यधिक रूपमा बढेको महँगी कारण उपभोग बजार भने निराशप्रायः रह्यो । अर्थतन्त्रको आधारस्तम्भ मानिने उपभोग बजार माग, गुणस्तर र आपूर्ति तीनवटै क्षेत्रमा खस्केको देखिन्छ ।

विभिन्न बहानाले नेपालीहरूको क्रयशक्ति कमजोर बनिरहेको बेला उच्च दरले बढेको महँगी थेग्न अप्ठेरो भइरहेको छ । पछिल्लो दशकमा भएको उच्च आयातले थिचिएको अर्थतन्त्र गत वर्ष भएको युक्रेन र रसिया युद्धका कारण बढेको उच्च महंगीले धर्मराएको छ । 

सुधार हुँदै बैंकिङ्ग प्रणाली

करिब डेढ वर्ष समग्र आर्थिक प्रणालीको मुख्य क्षेत्रमा बैंकमा तरलताको उच्च संकट थियो । तरलता मौज्दात गत चैत २४ गतेसम्म १ खर्ब ३० अर्ब ९६ करोड रुपैयाँ पुगेको छ ।
यसबीच अर्थमन्त्रालयले स्थानीय कोषको पैसाबाट ६० प्रतिशत निक्षेपका गणना गरिएको ९६ अर्ब ७ करोड रुपैयाँ वाणिज्य बैंकहरुबाट फिर्ता लिएको थियो । एक वर्षबीचमा बैंकिङ प्रणालीमा ८४ अर्ब रुपैयाँ बढी तरलता थप भएको हो । नेपाल राष्ट्र बैंकका अनुसार हालबैंक तथा वित्त कम्पनीमा कुल ६१ खर्ब २३ अर्ब १३ करोड रुपैयाँ निक्षेप मौज्दात छ।

जसमा वाणिज्य बैंकहरुमा कुल ५४ खर्ब ८ करोड ४५ करोड, विकास बैंकहरुमा कुल ५ खर्ब ९२ अर्ब ७१ करोड र वित्त कम्पनीहरुमा कुल १ खर्ब २१ अर्ब ९७ करोड रुपैयाँ निक्षेप संकलन गरेका हुन्।

यसबीच बैंकिङ प्रणालीमा कुल ६ खर्ब ६६ अर्ब ७ करोड रुपैयाँ कुल निक्षेप थप हुँदा वाणिज्य बैंकहरमा ५ खर्ब ९९ अर्ब ५५ करोड, विकास बैंकहरुमा ५२ अर्ब ११ करोड र वित्त कम्पनीहरुमा १४ अर्ब ४१ करोड रुपैयाँ निक्षेप थप भएको हो।

चैत २४ गतेसम्म बैंक तथा वित्त कम्पनीहरुले कुल ४८ खर्ब ३६ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन्। जसमा वाणिज्य बैंकहरुले ४२ खर्ब ८७ अर्ब ६३ करोड, विकास बैंकहरुले ४ खर्ब ५९ अर्ब ४१ करोड र वित्त कम्पनीहरुले ८९ अर्ब ३३ करोड रुपैयाँ कुल कर्जा प्रवाह गरेका हुन्। यसबीच वाणिज्य बैंकले २ खर्ब १२ अर्ब ७१ करोड, विकास बैंकले ३३ अर्ब ३५ करोड र वित्त कम्पनीहरुले ६ अर्ब १४ करोड रुपैयाँ गरी कुल २ खर्ब ५२ अर्ब २० करोड रुपैयाँ थप कर्जा प्रवाह भएको हो।

 

 


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको