नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)को विधानमा परिवर्तन गरिएको छ। मंगलबार सम्पन्न विशेष साधारणसभाले महासंघका अध्यक्षलाई प्रत्यक्ष निर्वाचनबाट चयन गर्ने प्रावधान अनुमोदन गरेको छ।
यस नयाँ व्यवस्थाले वरिष्ठ उपाध्यक्षका लागि पनि निर्वाचन प्रक्रिया अनिवार्य गरेको छ। तर, वर्तमान वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ स्वतः अध्यक्ष बन्नेछन्। उनले अध्यक्ष पद सम्हालेपछि मात्रै प्रत्यक्ष निर्वाचनको प्रक्रिया लागू हुनेछ। वरिष्ठ उपाध्यक्ष भने महासंघको कार्यसमितिबाट चयन हुनेछन्।
अध्यक्षको कार्यकाल दुई वर्षको हुनेगरी संशोधन गरिएको छ। यसका साथै महासंघमा महिला उपाध्यक्ष रहने सुनिश्चितता गरिएको छ, जसलाई कार्यकारिणी समितिले चयन गर्ने व्यवस्था छ। यद्यपि, कार्यकारिणी समितिमा १२ जना महिला सदस्य पुगेको अवस्थामा मात्रै महिला उपाध्यक्ष चयन गर्न सकिनेछ।
२०७३ सालमा पशुपति मुर्राको नेतृत्वमा महासंघले वरिष्ठ उपाध्यक्षलाई स्वतः अध्यक्ष बनाउने प्रावधान लागू गरेको थियो। यो व्यवस्था अनुसार भवानी राणा, शेखर गोल्छा, र हालका अध्यक्ष चन्द्रप्रसाद ढकाल अध्यक्ष बनेका थिए। महासंघको निर्वाचनमा अत्यधिक खर्च हुने आलोचना पछि यो व्यवस्था गरिएको भए पनि अहिले पुनः प्रत्यक्ष निर्वाचन प्रणालीमा फिर्ता भएको हो।
संशोधित विधानका मुख्य प्रावधानहरू:
१. अध्यक्षको कार्यकाल दुई वर्षको हुनेछ।
२. महिला उपाध्यक्ष रहने व्यवस्था, १२ महिला सदस्य भए मात्र लागू।
३. अञ्जन श्रेष्ठको अध्यक्षता पछि प्रत्यक्ष निर्वाचन प्रणाली।
४. वरिष्ठ उपाध्यक्ष कार्यकारिणी समितिबाट चयन हुने।
५. जिल्ला/नगर तर्फ दुई उपाध्यक्षको व्यवस्था।
६. मन्त्रिपरिषद्को स्वीकृति पश्चात् नयाँ विधान लागू।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस