Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजार किन घटिरहेको छ ? यस्तो भन्छन् अनुभवी लगानीकर्ता

अर्थ संसार

आइतबार, ३० मंसिर २०८१, १२ : ४४ मा प्रकाशित

सेयर बजार किन घटिरहेको छ ? यस्तो  भन्छन् अनुभवी लगानीकर्ता

नेप्से परिसूचक पछिल्लो समय साइडवेज मुभमेन्टमा छ । ३ हजार को बिन्दुबाट तल झरेर अहिले बजार २७०० को वरीपरि आएको छ ।   
गत साताको अन्तिम दिन बिहीबार नेप्से सूचक पुनः २७ सयभन्दा मुनि २६८२ को बिन्दुमा बन्द भयो । पछिल्लो समय बजार २७ सयको तहबाट माथि जान नै सकेको छैन । नयाँ सरकारका कारण डेढ महिनामै ४६ प्रतिशतले उकालो लागेको सेयर बजार त्यसपछि भने एकै विन्दुको वरिपरि घुमेकै घुम्यै भएको हो । 

असारको बीचमा सत्ता समीकरण उथलपुथलपछि एकाएक बढेर नेप्से साउन ३१ गते २९ अर्ब ९५ करोड रुपैयाँको कारोबारसहित ३००० विन्दुमा पुगेकामा त्यसपछि निरन्तर ओरालो लाग्यो । असोज १३ गते २४६४ अंकमा झरेको नेप्से त्यसपछि २७०० विन्दुमा घुमिरहेको हो  । यो अवधिमा नेप्से सूचक मात्रै नभएर कारोबार रकम पनि खुम्चिएको छ ।  गत साताको अन्तिम कारोबारका दिन जम्मा ६ अर्ब १४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

यसरी पछिल्लो समय साइडवेजमा रहेको सेयर बजारमा निश्चित ठूला लगानीकर्ताको प्रवेश नभएको कारण नबढेको निष्कर्ष एकथरी लगानीकर्ताले निकालेका छन्।  

बजारका अनुभवी लगानीकर्ता रोहन कार्कीले बजार अहिले पर्ख र हेरको अवस्था रहेको बताए । उनका अनुसार अर्थमन्त्रीमा बिष्णु पौडेल आएपनि कुनै नितिगत सुधार हुननसक्दा बजार साइडवेजमा रहेको छ । 

‘बजार अहिले साइडवेजमै छ । अर्थमन्त्रीमा बिष्णु पौडेल आएपछी केही सुधारको अपेक्षा लगानीकर्ताको थियो तर,पनि केही भएन  । पौडेलले बजारको उत्साहलाई कायम राख्न सकेनन् । बजार पर्ख र हेर कै अवस्थामा छ ।’ उनले भने । 

अनावश्यक रुपमा चलाइने गरिएका हल्लाले पनि सेयर बजारलाई अगाडि बढ्न दिएको छैन् । आनावश्क रुपमा चलाइएको सरकार परिवर्तको हल्लालाई नै अहिले बजार बढ्न नसक्नुको मुख्य कारण मानिएको छ ।  केही सामाजिक सञ्जालहरू र मिडियामा आएका हल्लाले लगानीकर्ताहरूको मानसिकतामा असर पुर्‍याएको देखिन्छ। प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार संकटमा रहेको र अर्थमन्त्री विष्णु पौडेललाई हटाउन दबाब परेको तथ्यहिन हल्ला चल्यो । अर्को प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मन्त्रालयहरू साटफेर गर्ने सहमति भएको, यस्ता तथ्यविहिन हल्लाहरूले लगानीकर्ताहरूलाई अन्योलमा पारेका छन्।   

बजारमा हुने यस्ता नकारात्मक हल्लाले लगानीकर्ताको मनोबल गिराउने काम गरेको छ । पछिल्लो समय  सामाजिक सञ्जालमा नकारात्मक हल्ला फैलाउने गतिविधिहरूले बजारलाई अनावश्यक रुपमा प्रभावित बनाएको छ। 

तर समग्रमा हेर्दा भने पछिल्ला दिनहरुमा सेयर बजारका लागि सकारात्मक खबरहरु पनि आइरहेका छन् । भर्खरैमात्र धितोपत्र बोर्डले नयाँ नेतृत्व पाएको छ । यस्तै, यसअघि कसिएका नीतिहरु पनि विस्तारै खुकुलो हुँदै गएका छन् । बैंकिङ तरला सहज छ । बैंक व्याजदर घट्दो क्रममा छन् । यति मात्रै होइन अर्थतन्त्रका सबै सूचकहरु त्यति नराम्रा छैनन् यी सबै कुराले बजारलाई माथितिरै लैजान प्रयास भने गर्ने देखिन्छ । तर यी सबै कुराहरुको प्रभाव देखिन भने अलि समय लाग्न सक्छ । वर्षौदेखि थला परेको बजार एकैपटक नयाँ उचाईमा पुग्न सक्दैन । सेयर बजारको प्रवृत्ति पनि एकोहोरो ढंगले बढ्नेमात्र हुँदैन । 

बजारका अर्का अनुभवी  लगानीकर्ता केशब कोइरालाले बजार सकारात्मक नै रहेको बताए । उनले भने,‘असारमा २  हजारको बिन्दुमा रहेको बजार अहिले पनि २७ सयमै छ । त्यस्तो डराउनुपर्ने अवस्था निराश हुनुपर्ने अवस्था देखिदैन् बजार सकारात्मक नै छ ।’ 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको