साना तथा मझौला सङ्गठित संस्थाको धितोपत्र निष्काशन तथा कारोबार नियमावली, २०८१ आजदेखि लागू भएको छ।
नियमावलीको आवश्यक कार्यान्वयनका लागि नेपाल धितोपत्र बोर्डले नेप्से र सीडीएससीलाई पत्राचार गरेर जानकारी गराईसकेको छ। योसँगै अब साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबार प्रणाली विकास गर्न नेप्से र सीडीएससीले प्रक्रिया अगाडि बढाउनेछन्।
हाल नेप्सेको एउटै इन्डेक्समा ठूला-साना सबै प्रकारका कम्पनीको सेयर कारोबार हुँदै आएको छ। अब भने साना कम्पनीहरुलाई अलग्याएर छुट्टै प्लेटफर्ममा कारोबार गर्ने प्रक्रिया अगाडि बढाउने बाटो खुलेको हो।
हाल कम्पनीहरुलाई जारी पुँजीको अधिकतम ३९ प्रतिशत र न्यूनतम १० प्रतिशत साधारण सेयर (आइपीओ) ल्याउन पाउने प्रावधान छ। नियमावलीमा अधिकतम २५ करोड रुपैयाँ चुक्तापुँजी भएका कम्पनी दर्ता गर्न मिल्ने र त्यस्ता कम्पनीले अधिकतम ४९ प्रतिशतदेखि न्यूनतम ३० प्रतिशतसम्म आइपीओ ल्याउनुपर्ने प्रावधान तोकिएको छ। साना कम्पनीले निष्कासन गरेको सेयरमा न्यूनतम ५०० कित्ता सेयरमा आवेदन दिनुपर्नेछ ।
सेयर निष्कासनको लागि खुला गरिएको धितोपत्र बिक्री बन्द भएको मितिले १५ दिनभित्र बाँडफाँट गर्नुपर्ने छ । संस्थाको उपस्थिती र बजारको अवस्था हेरी अर्थ मन्त्रालयको स्वीकृलि लिई बोर्डले अधिकतम सिमा घटाउन वा बढाउन सक्नेछ। कम्पनी धितोपत्रमा दर्ता हुनका लागि वार्षिक लेखापरीक्षण गरेको, साधारणसभा सम्पन्न भएको र संस्थापकले लिन कबुल गरेको धितोपत्रको रकम रकम शतप्रतिशत चुक्ता भइसकेको हुनुपर्ने शर्त राखिएका छन् ।
नियमावलीको मस्यौदाअनुसार एसएमई प्लेटफर्ममा दर्ता भएका कम्पनीहरुले आइपीओ ल्याउन रेटिङ गर्न अनिवार्य गरिएको छैन भने धितोपत्र बोर्डले त्यस्ता कम्पनीको क्रेडिट रेटिङ गर्न आवश्यक देखेमा त्यसका लागि निर्देशन दिनसक्ने व्यवस्था मस्यौदामा राखिएको छ । यस्ता कम्पनी दर्ता भएर सार्वजनिक निष्काशनमा जाँदा सर्वसाधारण लगानीकर्ताले खरिद गर्न पाउने न्यूनतम सेयर सङ्ख्या पनि नियमावलीमार्फत तोक्न लागिएको छ ।
एसएमई प्लेटफर्ममा दर्ता भएका कम्पनीहरुका संस्थापकहरुले सेयर आइपीओ बाँडफाँटको मितिले ५ वर्षसम्म लकइनमा राख्नुपर्ने प्रस्ताव नियमावलीमा राखिएको छ भने पीईभीसी, हेज फन्ड, धितोपत्र बोर्डमा दर्ता भएका त्यस्तै प्रकृतिका कोष वा विदेशमा दर्ता भएका कम्पनीका संस्थापकहरुले भने आइपीओ बाँडफाँटको मितिले १ वर्षपछि सेयर बिक्री गर्न पाउने व्यवस्था नियमावलीमा गरिएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई sansarartha@gmail.com मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस