साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले चैत १ गतेदेखि १५ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ, जसका कारण सेयरधनीहरूलाई लाभांश प्राप्त गर्ने तथा साधारण सभामा सहभागी हुने अन्तिम अवसर आजसम्म मात्र उपलब्ध हुनेछ। भोलि फागुन २९ गते होली पर्वका कारण सार्वजनिक बिदा परेकाले, नेप्सेमा आजसम्म सेयर कारोबार गरेर कायम हुने सेयरधनीहरूले मात्र कम्पनीको आगामी साधारण सभामा उपस्थित हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले आफ्नो ५८औँ वार्षिक साधारण सभा चैत १५ गते, शुक्रबार, बिहान ११ बजे काठमाडौँको त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकालीमा आयोजना गर्ने तयारी गरेको छ।
सभामा आर्थिक वर्ष २०८०/८१ को हाल कायम चुक्तापुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पेश हुनेछ। जसअनुसार, ३ करोड २० लाख ७१ हजार ६९५.५ रुपैयाँ सेयरधनीहरूलाई वितरण गरिनेछ। साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन अनुमोदन, आगामी आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्तावहरू पारित गरिनेछन्।
सभाले कम्पनी ऐन, २०६३ को दफा १०५ (१) अन्तर्गत ऋण सुविधा लिने विषयमा छलफल गरी आवश्यक निर्णय लिनेछ। साथै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बाढीपीडितका लागि प्रदान गरिएको सहयोग रकमलाई अनुमोदन गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस